काठमाडौं । २१औँ दिन देखि काठमाडौँमा जारी शिक्षक आन्दोलन आजबाट थप चर्किने भएको छ ।
नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन आज ११ बजे देखि २ बजे सम्म गर्ने समय सिमा तोकेको छ । जस अनुसार सम्पूर्ण शिक्षकहरुलाई माइतीघर मण्डला आउन अपिल महासंघले गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप कडा र दरिलो बनाउनको लागि गाउँ गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
अध्यक्ष सुवेदीले फेसबुक मार्फत भनेका छन्, ‘गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरुलाई पनि प्राप्त होस् ।’
महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि सुरु गरेर दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा सरकारले वैशाख २१ गतेदेखि गर्नेगरी सारेको छ ।
अध्यक्ष सुवेदीले राष्ट्रिय समितिको मंगलबारको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको जानकारीसमेत गराएका छन् । उनले आजसम्मको प्रदर्शन देखिएको अनुशासन र संयमको सबैले प्रशंसा गरेको भन्दै सदा झैं जुलुशमा सहभागी हुन अनुरोध गरेका छन् ।
उनले महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न शिक्षकसँग आग्रह गरेका छन् । बुधबारको आन्दोलनमा राष्ट्रिय समितिको मुख्य ब्यानरपछि क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, बागमती, मधेश र कोशी प्रदेश बस्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ ११:४१