एजेन्सी । भारतका विदेश सचिव विक्रम मिसरीले एक विशेष प्रेस ब्रिफिङ आयोजना गर्दै पाकिस्तानले शनिवार अपराह्न दुई देशबीच भएको संघर्ष विराम गर्ने सहमति राती उलङ्घन गरेको बताएका छन्।
स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा विदेश सचिवले भने, 'केही दिनदेखि भैरहेको सैन्य कार्बाही रोक्ने सम्झौता आज अपराह्न भएको थियो। तर त्यसको केही घण्टापछ नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।'
उनले भने,'भारतीय सेनाले जबाफी कार्बाही गरेको छ र सीमामा अतिक्रमणसँग जुधीरहेको छ। यो एकदमै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।'
अढाई मिनेट चलेको प्रेस ब्रिफिङमा भारतका विदेश सचिव विक्रम मिसरीले पाकिस्तानलाई उलङ्घनका घटनालाई सम्बोधन गर्न पनि आह्वान गरे।
'पाकिस्तानले अवस्थालाई राम्ररी बुझोस् र यो अतिक्रमणलाई रोक्न तुरुन्त उचित कार्बाही गरोस्।' उनले भने, 'सेनाले स्थितिमा कडा नजर राखिरहेको छ र उस्लाई कुनै पनि प्रकारको अतिक्रमण प्रति प्रतिक्रिया जनाउन आवश्यक ठोस र कडा कदम चाल्न आदेश दिइएको छ।'
यसअघि भारतीय समय अनुसार अपराह्नको ५ः३० बजे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण संघर्ष विराम गर्ने सहमति बनेको जानकारी दिएका थिए।
भारतका विदेश सचिव मिसरीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कार्बाही रोक्ने सहमति भएको बताएका थिए।
यस विषयमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन।
यसरी भयो दुई देशबीच सहमती
दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन्। कम्तीमा अहिलेका लागि।
यी दुईबीच युद्धविराम गराउन फेरि एक पटक संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको देखिएको छ।
अब भारत र पाकिस्तानले आआफ्ना शिविरमा आफूले हात पारेको उपलब्धि र बेहोरेको हानिको लेखाजोखा गर्लान् नै।
ट्रम्पले भारत-पाकिस्तानबीचको द्वन्द्व आफ्नो चासोको विषय नभएको टिप्पणी गरेका थिए। तर अहिले उनकै अग्रसरतामा दुई देशबीच युद्धविरामका लागि मध्यस्थता भएको छ
तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वमा आफूलाई शान्तिस्थापकका रूपमा प्रस्तुत गर्ने छन्। अनि उनका विदेशमन्त्री मार्को रुबिओले भारत-पाकिस्तानबीचको युद्धविराम आफ्नो सबैभन्दा ठूलो कूटनीतिक सफलता भएको दाबी गर्न पाउने छन्।
पाकिस्तानी सेनाले पाकिस्तानी जनतालाई आफूले कसरी 'भारतको आक्रामकता'लाई निस्तेज पार्न सम्भव भयो भनेर बताउन सक्छ। पूरै पाकिस्तानले सेनालाई समर्थन गरेका थियो। त्यसैले यो एक किसिमले पाकिस्तानको सेनाका लागि पनि विजय हो।
दुई वर्षअघि पाकिस्तानमा सत्ताच्युत प्रधानमन्त्री इमरान खानका समर्थकहरूले सेनाविरुद्ध शृङ्खलाबद्ध प्रदर्शन गरेका थिए।
पाकिस्तानसँग परमाणुअस्त्र भए पनि भारतले आफूले 'आतङ्ककारीहरूका संरचना' भन्दै आएका पाकिस्तानस्थित संरचनाहरूमा धावा बोल्न नहिचकिचाएको दाबी फेरि पनि गर्न सक्छ।
दिल्लीले भारत विभाजित बनेर बनेको पुरानो प्रतिद्वन्द्वी पाकिस्तानको हवाई शक्ति उस्ले पहिले आकलन गरेभन्दा बढी नै रहेको भन्ने अनुभव गरेको हुन सक्छ अनि नयाँ अस्त्रका लागि अर्बौँ रुपैयाँ खर्च गरेको भए पनि आफूले खोजे जसरी निर्णायक प्रहार गर्न नसकेको महसुस गरेको हुनुपर्छ।