काठमाडौं । शनिबार आयोजना हुने मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सम्बोधन एमाले पंक्तिमात्र नभएर सिंगो देशको चासोको विषय बनेको छ ।
७४ औं मदन जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री ओलीलाई बनाइएको छ । ओली शनिबारै स्पेन भ्रमणमा जाने कार्यक्रमसमेत रहेको छ । दिउँसो मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गरेर साँझ ६ बजे प्रधानमन्त्री स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा पूर्व राष्ट्रपति भण्डारी सक्रिय हुन लागेको चर्चालाई सन्दर्भ बनाएर कडा भाषण गरेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शनिवार गर्ने सम्बोधनले प्रष्ट संकेत गर्ने नेताहरुको भनाइ छ । यो कार्यक्रमको आयोजनाकै सन्दर्भमा पनि लामो छलफल र रस्साकस्सी भएको बताइन्छ ।
यसअघि पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीले भेटमा धेरै कुरा भएको र वार्ता पछि पनि चलिरहने निकस्थहरुलाई बताएका छन् ।
भण्डारीले भने आफ्नो राजनीतिक क्रियाशीलताप्रति ओली सहमत नरहेको भन्दै अब असार १५ देखि फाउण्डेशनमार्फत देशब्यापी अभियानमा जाने सन्देश निकटस्थहरुमार्फत प्रवाह गरेकी छन् ।
भण्डारीनिकटमा रहेका नेता कार्यकर्ताहरुले शनिवारकै कार्यक्रमबाट औपचारिक घोषणा गर्ने बताए पनि मदन जयन्तीको सम्बोधन सांकेतिकमात्र हुने निकट स्रोतले जनाएको छ । तर यो कार्यक्रमसँगै पूर्व राष्ट्रपति भण्डारीले पार्टीका पदाधिकारी,स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यहरुसँग गहन छलफल गर्ने तयारी छ ।
एमालेमा पछिल्लो समय विभिन्न कमिटी र जनसंगठनहरुको नेतृत्वको दावी गरेर नपाएका,चुनाव लडेर संस्थापनका उम्मेदवारसँग पराजित भएका तथा पार्टी संस्थापनसँग विमति राख्ने नेता कार्यकर्ताहरुले संगठितरुपमै विद्या भण्डारीलाई पार्टी नेतृत्व लिन दबाब दिइरहेका छन् । भण्डारी पनि परिस्थिति बन्दै गएपछि तयार भएको नेताहरु बताउँछन् ।
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा मदन भण्डारी हीरक जयन्ती मूल समिति बनाएर देशब्यापी वार्षिक कार्यक्रम गर्ने तयारी भए पनि पार्टीमा यसबारे छलफल र निर्णय नभएको केन्द्रीय कार्यालयले जनाएको छ ।
पछिल्लो समय बरिष्ठ उपाध्यक्ष पोखरेल ७० वर्षे उमेर हदका कारण अध्यक्ष ओली र आफूसहितका नेता विदा हुने र विद्या भण्डारीले नेतृत्व गर्दा फरक नपर्ने लाइनमा खुलेका छन् ।
विद्या भण्डारीनिकट भनेर खुल्न थालेका नेता कार्यकर्ताले ‘लुज फोरम’ बनाएर अभियान नै चलाएका छन् । उनीहरुले ‘मदनको नीति, विद्याको नेतृृत्व’ भन्ने पोष्टर नै बनाएर सामाजिक संजालमा प्रचार गर्न थालेका छन् । जबजको रक्षा र एमालेको लोकप्रियता जोगाउन विद्या भण्डारीको नेतृत्व अपरिहार्य भएको उनीहरुको भनाइ छ ।
शनिवारको कार्यक्रममा ओली र भण्डारीबाहेक अरु वक्ताहरु को को रहने भन्ने खुलाइएको छैन । फाउण्डेशनको कार्यक्रम भएकाले यसमा पार्टीले फलानो फलानोले बोल्ने भन्न नमिल्ने फाउण्डेशनका पदाधिकारीहरुको तर्क छ ।
मदन जयन्तीका अवसरमा प्रधानमन्त्री र पूर्व राष्ट्रपतिको भाषण विशेष हुने चाहिँ निश्चित छ । सम्भवतः नेकपा विभाजनबाट पुनस्र्थापित एमालेमा केपी ओलीको चुनौतिरहित नेतृत्वमाथि भोलिबाट विद्या विकल्पको रुपमा कार्यकर्तामाझ उपस्थित हुनेछन् ।