काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले कर्णालीका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रीत भएर लाग्न निर्देशन दिनु भएको छ ।
बिहिबार कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटिका पदाधिकारी र प्रदेश मातहतका दश जिल्ला कमिटिका पदाधिकारीसँगको अनलाइन ९जुम० बैठकलाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिनु भएको हो ।
एमालेको नीति र विधिका नाममा पछिल्लो समय विभिन्न माध्यममा आएका विषयहरुप्रति संकेत गर्दै महासचिव पोखरेलले पार्टीको सांगठनिक जीवनले नचिन्ने स्थानमा भएका हल्लाका पछि नलागी आसन्न पार्टीको विधान महाधिवेशनका लागि जुट्न निर्देशन दिनुभयो ।
एमालेकै कतिपय नेताहरूले विधान महाधिवेशनबाट पारित दुई कार्यकाल र ७० वर्षे उमेर हदको विषयमा ‘छलछाम गरिएको’ बताइरहेका बेला विधान महाधिवेशनमा छलफल हुने विषयका बारेमा महासचिव पोखरेल प्रदेश र जिल्लाका नेताहरुलाई औपचारिक निर्देशन दिनु भएको छ ।
‘विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर सामाजिक सञ्जाललाई प्रयोग गरेर पछिल्लो विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको छ’ बैठकमा पोखरेलले भन्नुभयो ‘जबकी राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनबाट पारित विधानमा संशोधन गर्ने प्रस्ताव राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । उक्त निर्णय प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो ।’
पार्टीको केन्द्रीय कमिटीको आकार बढाउने र दुई कार्यकालको व्यवस्था हटाउने कुरा प्रमुख प्रस्तावका रुपमा रहेको उल्लेख गर्दै सोही संशोधित विधानको व्यवस्था अनुरुप डा. पुष्प कंडेल तेश्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएको उदाहरण प्रस्तुत गर्नु भएका महासचिव पोखरेलले ७० वर्षे उमेरहदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीबाट हटाइएको स्पष्ट पार्नु भयो ।
‘पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटिमा व्यापक छलफलको आयोजना गरी सोहि अनुसारको सांगठानिक पद्धतिमा रहेर कमिटिको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला’, अनलाइन बैठकमा पोखरेलले थप्नुभयो, ‘सबै तहका पार्टी कमिटि, शुभेक्षुकहरुबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुने भएकाले सामाजिक सञ्जालमा विश्वाश नगर्नु होला र सबै पार्टी पंत्तिलाई एकताबद्ध राख्ने काम गर्नु होला ।’
पछिल्लो समय कर्णालीको एमालेले सागठनिक जीवनमा निकै राम्रो कार्य सम्पादन गरिरहेको उल्लेख गर्दै उहाँले समृद्ध कर्णाली निर्माणमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अहिलेसम्मका सरकारको तुलनामा सबैभन्दा बढि बजेट विनियोजन गरेकाले उक्त कुरालाई कर्णालीका नागरिक समक्ष पुर्याउन आग्रह गर्नुभयो ।
दैलेखको जलजलेमा भएको पेट्रोलियम पदर्थाको उत्खनन गर्ने देखि उत्पादनसम्मको कामको नेतृत्व, उत्तरतर्फको सिमाना जोडिएको हिल्सा सिमकोट सडकलाई कालोपत्रे गर्ने काम होस् वा राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लालाई तत्कालका लागि बेलिब्रीज मार्फत सञ्जालमा जोड्ने देखि थुप्रै काममा सरकारले यथेष्ट बजेट विनियोजन गरेको दृष्टान्त प्रस्तुत गर्दै महासचिव पोखरेलले सबै कामको सूचि बनाएर कर्णालीवासीको साथमा एमाले नेतृत्वको सरकार रहेको सन्देश फैलाउन निर्देशन दिनुभयो ।
बैठकमा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कठिन भूगोलकमा वाबजुत पार्टीका सदस्यता नविकरण देखि आन्तरिक सांगठनिक जीवनमा कर्णालीले उत्साहप्रद काम गरेको उल्लेख गर्दै मिशन ८४ को लक्ष्य पुरागर्न अँझै भूगोलको जिम्मेवारीमा रहेका नेताहरुले भूगोलमै केन्द्रीत रहनु पर्नेमा जोड दिनुभयो ।
अनुसार २०८१ सालमा ५२ हजार सदस्यता नविकरण गरेको कर्णालीमा अहिलेसम्म ४५ हजारबढि सदस्यता नविकरण भएको उल्लेख गर्दै कर्णाली प्रदेश कमिटिका अध्यक्ष गुलावजंग शाहले एमाले माथि भैरहेको चौतर्फी आक्रमणलाई चिर्दै एमाले नेतृत्वको संघ र प्रदेश सरकारले गरेको राम्रा कामहरुको प्रचार मार्फत नागरिकमा आशा जगाउनु अहिलेको प्रमुख दायित्व भएको प्रतिक्रिया दिनुभयो ।
बैठकमा एमाले संगठन विभाग प्रमुख काँसीनाथ अधिकारी, पोलिटव्यूरो सदस्य भैरवसुन्दर श्रेष्ठ, मोहन बानिया, केन्द्रीय सदस्य तथा केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्य, केन्द्रीय सदस्य नवराज रावत, दल रावल, नगेन्द्र शाही लगायत प्रदेश प्रदेश कमिटि तथा जिल्ला कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
आगामी भदौं २०, २१ र २२ गते गोदावरीमा हुने विधान महाधिवेशनलाई लक्षित गर्दै जिल्ला र प्रदेशले पठाउने प्रतिवेदनको ढाँचा, पार्टी सदस्यता वितरण तथा नविकरण, जिल्लाको सांगठानिक गतिविधिको देशै भर जानकारी लिइरहनु भएका पोखरेलले बिहिबार कर्णाली प्रदेशका नेताहरुसँग्को बैठकको आयोजना गर्नु भएको हो ।