काठमाडौं । काठमाडौं महानगरले चालु शैक्षिक सत्रको ११ र १२ कक्षाका लागि संस्थागत विद्यालयको छात्रवृत्ति कोटाको प्रवेश परीक्षा लिएको छ। महानगरले शनिबार आवेदक विद्यार्थीहरूको प्रवेश परीक्षा लिएको हो।
महानगरको शिक्षा विभागका अनुसार देशभरबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोटमा परेका थिए। तीमध्ये १४ हजार १७३ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन्।
कक्षा १० को पाठ्यक्रमका आधारमा गणित, विज्ञान र अंग्रेजी विषयको ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० वटा बहुवैकल्पिक प्रश्न राखेर परीक्षा लिइएको विभागले जनाएको छ। उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक पाउनुपर्ने मापदण्ड तोकिएको छ।
यस्तै उत्तर पुस्तिकाको जाँच अप्टिकल मार्क रेकोग्निसन (ओएमआर) प्रणालीमार्फत हुने विभागले जनाएको छ। यो प्रणालीमा मेसिनले उत्तर पुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ। जाँच प्रक्रिया शनिबार नै सुरु भइसकेको छ।
प्रवेश परीक्षाको नतिजा आइतबार बिहान महानगरको आधिकारिक वेबसाइटमार्फत प्रकाशित हुने विभागले जनाएको छ।
महानगरले १६० संस्थागत विद्यालयहरूमा करिब चार हजार भन्दा बढी छात्रवृत्ति सिटमा विद्यार्थी भर्ना गराउने छ। यी सिटहरूमा ४० प्रतिशत सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, पाँच प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरका स्थायी बासिन्दा र एक प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ।
यसका अतिरिक्त, महिला, दलित, आदिवासीरजनजाति, मधेसी, थारु, मुस्लिम, अपांगता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र सहिद/बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्टाइएको छ।