काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याएर विवादमा पार्नु नहुने स्पष्ट पारेको छ ।
भण्डारी सक्रिय राजनीतिमा फर्कंदा उहाँले विगतमा गरेका काम पनि विवादमा पर्न सक्ने भएकोले उहाँले सम्मानित रुपमा नै बस्नु उचित हुने एमालेले जनाएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले १२ औं अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई थप ब्याख्या गर्दै भण्डारीका विषयमा थप विवाद र बहस नगर्न एमालेपंक्तीलाई निर्देशन पनि गर्नु भएको छ ।
प्रथम राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्दै एमालेले उक्त दृष्टान्तको अनुशरण गर्न पनि आग्रह गरेको छ । ‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नोदलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन्’ एमालेको अपानिमा भनिएको छ ‘ भविष्यको कुनैआश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ । ’
मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको एमाले लोकतन्त्रका मूल्य र मान्यता जोगाउन सदा प्रतिवद्ध रहेको एमालेको भनाइ छ । भण्डारीलाई समावेशिताको ‘आइकन’को संज्ञा दिंदै पार्टीको उपाध्यक्षमा हुँदा होस वा राष्ट्रपति हुँदा उहाँको भूमिका नेतृत्वदायी,विवादरहित र उत्कृष्ट भएकोमा एमालेले भण्डारीको उच्च प्रशंशा गरेको छ । भण्डारी राजनीतिमा फर्कंदा उहाँले पदमा रहँदा गरेको निर्णयहरुको संवैधानिकता र निष्पक्षतामा प्रश्न उठ्न सक्नेतर्फ एमाले सचेत रहेको अपानिमा जनाइएको छ । ‘
केन्द्रीय कमिटी संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा रेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयम्को सम्मानित व्यक्तित्वलाई विवादित बनाउने काम गर्नुहुँदैन भन्ने मान्यतामा उभिनुपर्ने हुन्छ ’ एमालेको अपानिमा भनिएको छ ।
उल्लेखित भूमिकाको आधारमा भण्डारीलाई राष्ट्रको गहना र एमालेको पनि गहनाको संज्ञा दिंदै सक्रिय राजनीतिबाट टाढै बस्न एमालेले आग्रह गरेको छ ।‘ सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनुहुन्न । सिंगैराष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनुहुँदैन ।
अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनुहुँदैन । पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् ’ अपानि मार्फत अध्यक्ष ओलीले भन्नुभएको छ ‘उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।
उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।