दाङ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पू्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप प्रस्तावहरू पारित गरेको छ ।
बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ । पार्टीका अनुसार सरकारले राजनीतिक स्थायित्व कायम गर्दै राजतन्त्रको पुनःस्र्थापनाको प्रयासलाई विफल बनाएको, अघिल्ला कार्यकालका उच्च प्राथमिकताका आयोजनाको निरन्तरता दिएको, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधन गरेको, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको, शिक्षा र भूमिसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने प्रयास गरेको र भ्रष्टाचारविरुद्ध दृढ अडान लिएको छ ।
बैठकमा लुम्बिनी प्रदेश सरकारले सुरु गरेका राजधानीका लागि प्रशासकीय भवन, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–कपुरकोट पहाडी लोकमार्ग र लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई पूर्णता दिनेगरी काम अघि बढाएको उल्लेख गरिएको छ । साथै रुपन्देही–बुटवल क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउन जोड दिएको छ ।
बैठकले लुम्बिनीलाई अर्गानिक प्रदेशको रूपमा रूपान्तरण गर्ने, कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने, औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास गर्ने, मोतिपुर, नौवस्ता र नेपालगञ्जका औद्योगिक क्षेत्र निर्माण गर्ने तथा साना र घरेलु उद्योग प्रवद्र्धन गर्ने आवश्यकता औंल्याएको छ ।
बैठकले किसानका लागि समयमै मल, बिउ र आधुनिक उपकरण आपूर्ति सुनिश्चित गर्न, दुग्ध तथा उखु किसानका बक्यौता भुक्तानी गर्न र खाद्य सुरक्षा प्रत्याभूत गर्न सबै तहका सरकारलाई आह्वान गरेको छ ।
अविरल वर्षाबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले पीडितलाई राहत, भत्केका संरचना पुनर्निर्माण, बाढी–पहिरोबाट सुरक्षित बसोबास र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ । बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात सहज बनाउन पनि आग्रह गरिएको छ ।
बैठकले बाँझो जमिनलाई उत्पादनमा ल्याउने कार्यक्रम बनाउन, बन्यजन्तुबाट हुने कृषी क्षति रोकथाम गर्न र बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जनावरको आक्रमणबाट हुने धनजनको क्षतिपूर्ति दिलाउन माग गरेको छ ।
रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत विश्वव्यापी द्वन्द्वले निम्त्याएको असरबारे चिन्ता व्यक्त गर्दै बैठकले शान्ति र न्यायका लागि पहल गर्न तथा भाद्रमा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको सार्वभौमिकता, अखण्डता र आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा व्यक्त गरेको छ । पार्टी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा लुम्बिनी ईञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले ०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो । उहाँले आक्रामक रूपमा काम गर्न र सामाजिक अराजकताविरुद्ध डटेर उभिन आह्वान गर्नुभयो । ‘मेहनतपूर्वक लागेर जसरी पनि नेकपा एमालेलाई जिताउनु पर्छ । हार्ने छुट छैन । सकारात्मक सन्देश प्रवाहका लागि यो चुनाव जित्नै पर्छ,’अर्यालले भन्नुभयो । उहाँले बैठकलाई सम्बोधन गर्दै रक्षात्मक नभई आक्रामक रूपमा जुट्न तथा सामाजिक अराजकता विरुद्ध डटेर सामना गर्न आह्वान गर्नुभयो ।‘सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन । यसबाट पार्टी अझ सुदृढ हुन्छ,’उहाँको भनाइ थियो ।
सुशासन प्रवद्र्धन सरकारको मुख्य लक्ष्यः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताउनुभयो । दाङको लमहीमा बुधबार सुरु भएको नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
एक वर्षे उपलब्धिहरू प्रस्तुत गर्दै उहाँले पूर्व विशिष्ट पदाधिकारीको सेवा–सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पुर्याएको, सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल, कालोपत्रे सडक र नयाँ सडक निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार सरकारका काम–कारबाहीबाट गाउँ र शहर जोडिएका छन् । किसानले सिंचाइ सुविधा पाएका छन् । स्थानीय उत्पादनको बजार विस्तार भएको छ । शैक्षिक गुणस्तरमा सुधार आएको छ र पर्यटन प्रवद्र्धनमा सफलता मिलेको छ । बैठकलाई केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेलले समेत सम्वोधन गर्नु भएको थियो ।
यस अवसरमा नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा रुपन्देहीकी महिला नेतृ उमा काफ्ले नेकपा (एमाले) प्रवेश गर्नुएको थियो । बैठकमा १२ जिल्ला अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत भएको थियो । बैठकमा प्रदेश कमिटि सदस्यहरुको सपथग्रहण समेत गराइएको थियो । उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बैठकमा प्रस्तावित निर्णयहरु प्रस्तुत गर्नु भएको बैठकको सहजीकरण पार्टी सचिव लक्ष्मण आचार्यले गर्नुभएको थियो ।