काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका दलहरूप्रति प्रशनैप्रश्न तेस्र्याएकी छन् ।
मदन भण्डारीको ७५औँ स्मृति दिवस मनाउने आयोजक समितिको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा उनले संविधानबारे दलहरूले नै उठाएको प्रश्नमा बहस भने नगरेको बताइन् ।
भण्डारीले मुलुकमा राजनीतिक परिवर्तन गरिए पनि जनतामाझ गरेका दलीय प्रतिबद्धता पूरा नभएको तर्क गरिन् । उनले आफूले मुलुकको अवस्था नजिकबाट नियालिरहेको भन्दै नागरिकमा असन्तुष्टि चुलिँदै गएको गुनासो गरिन् ।
‘जिम्मेवारी, जवाफदेहिता भनेको राजनीतिक दलहरूको हो । अहिले सबै कुरा नजिकबाट हेरिरहेको छु,’ उनले भनिन् । उनले बेरोजगारी मौलाइरहेको बताउँदै भनिन्, ‘राष्ट्रिय पुँजी, राष्ट्रिय अर्थतन्त्र मात्र बलियो बनाउनुपर्नेमा राष्ट्रिय उद्योगहरू विस्तारै विस्थापित हुने स्थितिमा गए । बेरोजगारीका कारणले धेरै युवाहरू रोजगारीको खोजीमा छटपटाउनु पर्ने परिस्थिति देशमा सिर्जना हुँदै गयो ।’
उनले देशमा बहुदलीय व्यवस्था अगाडि बढे पनि जनताका मागअनुरूप कार्यसम्पादन नभएको टिप्पणी गरिन् ।
प्रश्न एकः एमाले अघि कम्युनिस्ट सदस्य थिइन र ?
भण्डारीले नकेपा एमाले पार्टी बन्नुअघि नै आफू कम्युनिस्ट सदस्य बनेको बताइन् । ‘म भोजपुरमा जन्मेको मान्छे । राजनीतिक दलसँग आबद्ध भएर मैले राजनीति सुरु गर्दा यो नेकपा एमाले भन्ने जन्मिसकेकै थिएन,’ उनले भनिन्, ‘धनकुटामा रातो झण्डा भन्ने थियो । हामी त्यसको अलिअलि सम्पर्कमा थियौँ । त्यसपछि बिस्तारै त्यो विस्तार हुँदै गएपछि को–अर्डिनेसन केन्द्र भनेर जन्मियो । को–अर्डिनेसन केन्द्रको सम्पर्कमा हामी पुग्यौँ र को–अर्डिनेसन केन्द्रहुँदै माले भयो । पछि मालेबाट नेकपा एमाले भयो ।’
उनले एमालेअघि मालेमा रहँदै भोजपुरमा पर्चा छरेको प्रसंग सुनाइन् । तत्कालीन राज्यव्यवस्थाविरुद्ध बोल्नु र यसरी पर्चा छरिनु कम साहसको विषय नभएको उनको भनाइ थियो ।
उनले अहिले एमाले ‘ब्रान्ड’ भएको तर्क गरिन् । ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भइराखेको छ । खासमा चाहिँ नेकपा हो,’ उनले भनिन्, ‘नेपालमा कम्युनिस्ट पार्टीहरू छन् । त्यसैले आफू चिनिनका लागि थर, गोत्रजस्तो नामको पछाडि लेखिएको हो नि होइन ?’
दोस्रो प्रश्नः विकृति दलभित्रै किन ?
अरुलाई सुधार्छु भन्ने राजनीति दलहरु भित्रै विकृति फस्टाएको भण्डारीले बताएकी छन् । निश्चित सिद्धान्त र दर्शनमा बनेका दलहरूले सोअनुरूप राष्ट्रहितमा समर्पित नभएको उनको बुझाइ छ ।
‘हामी पूर्ण लोकतान्त्रिक युगमा प्रवेश गरेका छौँ । तर पनि जनताका कतिपय इच्छा, आकांक्षाहरू पूरा हुन सकिरहेका छैनन्,’ उनले भनिन्, ‘केही समस्याहरू छन्, केही चुनौतीहरू छन् । एउटा त राजनीतिक दलहरूभित्र फस्टाएको जुन विकृति, विसंगतिहरू छन्, ती पनि फस्टाइरहेका छन् र तिनलाई समाधान गर्न पार्टीहरूले सकिराखेका छैनन् ।’
भण्डारीले राजनीतिक दलहरू संस्थागत र प्रणालीगत ढंगले नचलेको टिप्पणी गरिन् । ‘राजनीतिक दल एउटा संस्थागत हिसाबले प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकिरहेको छैन र राज्यका संयन्त्रहरू पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकिरहेको स्थिति छैन ।’
तेस्रो प्रश्नः व्यवस्थापिका संसद निरीहको थलो किन ?
बहुदलीय व्यवस्थाप्रति दलहरुकै कारण जनताको वितृष्णा बढ्दै गएको उल्लेख गरेकी पूर्वराष्ट्रपति भण्डारीले प्रभावकारी काम गर्न नसकेको भन्दै संसद निरीह थलो बनेको टिप्पणी गिरेकी छन् । उनले समयमा आवश्यक कानुन बन्नुपर्नेमा त्यसो हुन नसकेको तर्क गरिन् । ‘कानुनहरू समयअनुकूल कस्तो बनाउनुपर्ने भन्ने कुरामा ध्यानपूर्वक अध्ययन भइरहेको छैन । के आवश्यकता छ ? के गर्यो भने देशको समस्या समाधान हुन्छ भनेर छलफल हुन सकिरहेको छैन,’ उनले भनिन् ।
उनले शिक्षासम्बन्धी कानुन बनाउन नसकेको दृष्टान्त पेस गर्दै नेपालमा शिक्षा सम्बन्धी ठूलो समस्या रहेको बताइन् । साथै, मुलुकको शिक्षा प्रणाली कपी पेस्टको भरमा चलिरहेको आरोपसमेत भण्डारीले लगाइन् ।
‘नयाँ पुस्ताले के अपेक्षा गरिरहेको हुन्छ ? त्योअनुसारका पाठ्यक्रमहरू हुनुपर्ने हो । शिक्षा नीति प्रणाली हुनुपर्ने हो । कपी पेस्ट गरेका आधारमा देशमा शिक्षा प्रणाली चल्छ भने त्यसले पलायनतिर लैजान्छ । मुलुकलाई पलायनतातर्फ, परनिर्भरतातर्फ धकेल्छ । शिक्षाले त रोजगारी पो सिर्जना गर्नुपर्ने हो,’ उनले भनिन् ।
चौथो प्रश्नः संविधानबारे दलहरूले प्रश्न उठाएर किन छोडे ?
भण्डारीले संविधानबारे ठूला दलहरूले नै प्रश्न उठाएको बताइन् । तर, प्रश्न उठाएका दलहरूले भौतिक छलफल नै अघि नबढाएको भन्दै असन्तुष्टि पोखिन् ।
‘ठूला दलहरूले नै संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर, पनि संविधानमा के अभाव रह्यो । त्यसबारे छलफल भएको छैन,’ उनले दलहरू संविधानमाथि प्रश्न उठाएर छलफल नगर्नुलाई जिम्मेवार बन्न नसकेको रूपमा लिएको बताइन् ।
पाँचौं प्रश्नः माधव र रविलाई निक यसरी पेलेको ?
राजनीतिक भाषणमा धेरै समय खर्चेकी भण्डारीले माधव नेपाल र रवि लामिछानेलगायत सांसदको बचाउ गरिन् । उनले कुनै पनि सांसदलाई आरोप लाग्दैमा निलम्बन गर्ने पक्षमा आफू नभएको बताइन् ।
‘कुनै व्यक्तिलाई केही आरोप लागेको छ, पुष्टि भएको छैन । तर, उसले बोल्न पाउँदैन, निलम्बित भइहाल्छ । के संसारमा यही हो न्याय ?,’ उनले प्रश् नगरिन्– ‘ निर्वाचित भएर आएका छन् प्रतिनिधिहरू, कसैले आरोप लगायो भन्दैमा एकैचोटि निलम्बनमा परिहाल्ने व्यवस्था कत्तिको लोकतान्त्रिक हो यो ?’
जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप पुष्टि भएपछि मात्रै सांसद पद जाने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।
छैटौं प्रश्नः देशमा रोजगारी खोर्इ ?
मुलुकभित्र बढ्दो बेरोजगारीप्रति संकेत गर्दै भण्डारीले युवापिँढी सामान्य कामको खोजीमा विदेश जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्न नसकिएको बताइन् । उनले मुलुकभित्र प्रशस्त प्राकृतिक स्रोत–साधन, सांस्कृतिक सम्पदाहरू रहेको र तिनको भरमा राष्ट्रिय पुँजीलाई आत्मनिर्भर गर्नुपर्ने तर्क गरिन् ।
रोजगारीका लागि ऋण लिएर विदेश जानुपर्ने बाध्यता अन्त्य हुन नसकेको भन्दै गणतन्त्रले चाहेको यही हो भन्दै प्रश्न गरिन् । त्यस्तै, बसाइँ सराइले पहाडहरू रित्ता भएका र तराईमा पिउने पानीको चरम अभाव झेल्नुपरेको यथार्थ बताउँदै राज्यका निकायले चाहेअनुसारको काम गर्न नसकेको बताइन् ।
सातौं प्रश्नः फाउन्डेसन दल होइन थिंक ट्यांक मञ्च हो
मुलुकाभित्र रहेका थिंक ट्यांकहरूले प्रमुख समस्या उत्पन्न हुँदा समाधान निकाल्न पहल गर्नुपर्ने धारणा भण्डारीले राखिन् ।
‘प्रमुख पार्टीका विचारकहरू, थिंक ट्यांकहरू के हेरेर बसिराखेका छन् भन्ने प्रश्नचाहिँ उठिरहेको छ,’ उनले मदन भण्डारी फाउन्डेसनलाई थिंक ट्यांककै रूपमा अगाडि बढाएको बताउँदै भनिन्, ‘फाउन्डेसनलाई एउटा वैचारिक बौद्धिक मञ्चको रूपमा अगाडि बढाएको हो र यसका केही मूल्य–मान्यताहरू छन् । त्यो मूल्य र मान्यताअनुसार अगाडि जानुपर्छ भनेर हामीले जननेता मदन भण्डारीको पुण्य स्मृतिमा यसलाई स्थापना गरेका हौँ ।’
वैचारिक मञ्चहरूले देशको संविधानका बारेमा प्रश्न उठ्दा छलफल गर्न आवश्यक रहेको भन्दै नेपालको संविधान र जबजका बारेमा छलफल गर्न आग्रह गरिन् ।
आठौं प्रश्नः किन दलहरू विकेन्द्रीकरणको विपक्षमा ?
भण्डारीले दलहरू विकेन्द्रीकरणको विपक्षमा रहेको बताएकी छिन् । संविधानमा संघीयताको मर्मअनुसार माथिदेखि तलसम्म अधिकार प्रत्यायोजन हुनुपर्नेमा त्यसो हुन नसकेको बताइन् । उनले दलहरूकै कारण स–साना निर्णयहरू पनि माथिकै निर्देशनमा हुने गरेको तितो पोखिन्, ‘कोही वडा सदस्य उठाउनुपर्यो भने पनि माथिबाट नेताहरूले उर्दी जारी गर्नुहुन्छ । अरु ठूला कुराहरू त छोडिदिऊँ । भनेपछि शक्ति विकेन्द्रीकरणको सिद्धान्तको हामी जे कुरा गर्छौं, त्योअनुसार ठूला दलहरूले राजनीतिक प्रणालीलाई बढाएका छैनन् ।’
उनले एमाले मात्रै नभएर कांग्रेस, माओवादी र अन्य दलहरूले पनि अझैसम्म केन्द्रीकृत मानसिकता बोकेको टिप्पणी गरिन् ।
नवौं प्रश्नः किन देशको अर्थतन्त्र उल्टो बाटोमा छ ?
भण्डारीले हाल नेपालको अर्थतन्त्र उल्टो बाटोमा रहेको बताएकी छिन् । मुलुकभित्र चाहेअनुसार रोजगारी दिन नसकिरहेको बताउँदै यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने परिस्थिति बनिरहेको धारणा राखिन् । ‘यथार्थमा कामहरू हुनुपपर्यो । यति धेरै उद्योगधन्दा हुन सक्ने देशमा किन उद्योगहरू खुलिरहेका छैनन् ?,’ उनले भनिन्, ‘हामी आयातमा निर्भर हुनुपरिरहेको छ । हाम्रो देशको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकोले टेकिरहेको छ ।’
आयातमा आधारित भन्सारबाट देश चलिरहनु दुःखद अवस्था रहेको उनले बताइन् । उनले व्यापार सन्तुलन मिल्न नसकिरहेको अवस्थालाई राज्य सञ्चालनमा रहेका व्यक्तिहरूले गम्भीर भएर सोच्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । ‘व्यापारघाटा भइरहेको छ । वैदेशिक ऋण बढिरहेको छ । त्यस कारण दलाल पुँजी फस्टाइरहेको छ,’ उनले भनिन्, ‘राष्ट्रिय पुँजी फस्टाउन सकिरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी अवस्था हो ।’
प्राकृतिक रूपले धनी देशमा प्रशस्तै स्रोत र सम्भावना हुँदाहुँदै पनि किन पछि परियो भनेर जिम्मेवार ठाउँबाट बहस हुनु जरुरी रहेको उनको तर्क थियो ।
दशौं प्रश्नः पार्टीभित्र प्रजातन्त्र किन हरायो ?
नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले नेपालका दलहरूभित्र रहेका सीमित व्यक्तिहरूले मात्रै लाभ लिनु उचित नभएको तर्क गरिन् । ‘राजनीति भनेको सीमित व्यक्तिहरू पार्टीमा लागेर पद, ओहदा प्राप्त गर्नु हो भनेर मैलेचाहिँ बुझेको होइन । म त्यसरी राजनीतिमा लागेको पनि होइन,’ उनले भनिन्, ‘तर, अहिलेसम्मको परिस्थितिमा पार्टीहरूभित्र पनि प्रजातान्त्रिक प्रणाली हिंसात्मक भइरहेको छ ।’
उनले राज्यका सबै अंगहरू व्यवस्थित ढंगले चल्न नसकेको बताइन् । उनले भनिन्, ‘हाम्रो देशका समस्याहरू कसरी समाधान गर्ने ? समाधान के हो ? त्यसमा हामीहरू जानुपर्यो र समाधान निकाल्नुपर्यो ।’
एघारौं प्रश्नः जबजको औचित्यबारे बहस आवश्यक छ कि छैन् ?
जबजले सबै प्रकारको समस्या समाधान गर्छ भनेर नै राजनीतिक सिद्धान्त प्रतिपादन भई आत्मसात् गरिएको भण्डारीले बताइन् । आजको बदलिँदो समयमा जबजको औचित्य अझै प्रखर रूपमा देखिएको उनको तर्क थियो ।
‘जनताको बहुदलीय जनवाद, त्यसले हाम्रो देशका सबै समस्याको समाधान गर्छ भन्ने लागेर नै यो सिद्धान्तलाई मार्गदर्शक सिद्धान्त बनाइयो,’ उनले भनिन्, ‘तर, त्यो सिद्धान्तअनुसार काम भयो कि भएन, अहिले समीक्षा गर्ने बेला भइसकेको छ । सिद्धान्तको कर्म, भावना, मूल्य, मान्यता एकातिर छन्, तर त्योअनुसार हामीले काम गर्न सकिरहेका छैनौँ ।’
उनले सिद्धान्तअनुरूप नेताहरूले काम गरेका छन् कि छैनन् भन्दै प्रश्न गरिन्, ‘जबजले राष्ट्रिय अर्थनीतिका बारेमा के भन्छ रु त्योअनुसार काम भएको छ कि छैन रु त्यस्तै गरेर शिक्षा, स्वास्थ्यको बारेमा के भन्छ रु त्योअनुसार काम भएको छ कि छैन ?’
हरेक क्षेत्रमा आत्मनिर्भर बन्न नसकिरहेको अवस्थामा गम्भीर छलफल हुनुपर्ने आवश्यकता उनले औँल्याइन् । ‘हामी यथार्थमा नजाने हो भने हरेक सिद्धान्तहरू काम नलाग्ने भन्ने अर्थ जनताले निकाल्नुपर्ने स्थिति आउँछ,’ भडारीले भनिन् ।
बाह्रौ प्रश्नः जबजको सान्दर्भिकता सकिएको छैन्
भण्डारीले जबजको सान्दर्भिकता नसकिएको जिकिर गरिन् । उनले मार्क्सवादको सिर्जनशील प्रयोग जबजमा गरिएको हुँदा आजको समय अनुकूल उपयोग गर्नेमा नेतृत्वमा भरपर्ने बताइन् ।
‘मलाई के लाग्छ भने, जबजबको सान्दर्भिकता अहिले पनि छ । यसको नीतिअनुसार हामीले काम गर्नुपर्ने आवश्यकता छ । त्यो भयो भने हाम्रो देश र हामी जुन ठाउँमा छौँ, हाम्रो भौगोलिक अवस्था जे छ, त्यसमा हामी एकदम सु–सम्पन्न भएर अगाडि बढ्न सक्छौँ,’ उनले भनिन् । उनले नयाँ पुस्तालाई वैचारिक रूपले सुसंगठित गर्न आवश्यक रहेको समेत तर्क गरिन् ।
तेह्रौ प्रश्नः एमालेकै कार्यकर्ता हुँ
भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता रहेको बताइन् । उनले आफ्नो पार्टी सदस्यताबारे प्रश्न उठाइए पछि २०३७ सालमा लिएको सदस्यताबारे प्रश्न उठाउने कार्य ठीक नभएको बताइन् । आफूलाई साथीहरूले नेता भने पनि च्यासलले सदस्यता रोकेको बताइन् ।
उनले भनिन्, ‘मैले पहिले पनि भनिसकेको छु, फेरि पनि यहाँहरूलाई जिज्ञासा होला भन्नेजस्तो लागेर भनेको, मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भइसक्यो । राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको चाहिँ ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर तपाईं जानैपर्छ भन्यो, त्यसपछि म राष्ट्रपतिमा निर्वाचित भएर गएँ ।’
उनले आफू राष्ट्रपति हुँदा मर्यादित ढंगले काम गरेको हुँदा इतिहासका पानाहरू खुल्ला नै रहेको बताइन् ।
‘मैले सार्वजनिक रूपमा पनि भनेको छु, म आलोचनाभन्दा बाहिर छैन । सबैले मलाई आलोचना गर्न सक्नुहुन्छ । तर, तथ्यका आधारमा हुनुपर्छ हरेक कुराहरू ।’
उनले थप स्पष्ट पारिन्, ‘तपाईंहरूलाई के भन्न चाहन्छु भने, म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र म गरिरहन्छु । नेकपा एमालेले जुन मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ, त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो र त्यसको मर्म र भावनाअनुसार काम भयो कि भएन, समीक्षा गर्ने हो ।’