जाजरकोट । विषालु च्याउ खाँदा जाजरकोट र डोल्पामा १७ जना बिरामी परेका छन् । जङ्गलबाट ल्याएका विषालु च्याउ खाँदा जाजरकोटमा एकै गाउँका ५ परिवारका ११ जना र डोल्पामा ६ जना बिरामी परेका हुन् ।
जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका ५ परिवारका ११ जनाको हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । बिरामी हुनेहरुमा भेरी नगरपालिका ४ बस्ने वर्ष ५० का पदम बुढा उहाँकी श्रीमती ४२ वर्षीया राधिका बुढा, ४२ वर्षीय लिलबहादुर विक, २४ वर्षीया विमला विक छन् । यसैगरी, वर्ष ३६ का गणेश चँदारा, २९ वर्षीया ज्योति शाह, पानसरा टमटा, १९ वर्षीय प्रकाश पुन, १९ वर्षीय चन्द्रबहादुर विक, लक्ष्मी शाही र प्रेम मल्ल रहेका छन् ।
उनीहरु सबैले बिहीबार जङ्गलबाट च्याउ ल्याएर बेलुका खाएको र खाएलगत्तै सबै जनालाई वान्ता आउने तथा बेहोस हुने समस्या देखिएपछि अस्पताल पुर्याइएको जनाएका छन् । जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा. सुनिल पुनले नेपालवोटलाई बिरामीहरुको उपचार भइरहेको र सबै जना हाल खतरामुक्त रहेको जानकारी दिए । बिहीबार राति १२ बजे अस्पताल पुर्याइएका उनीहरुको आकस्मिक कक्षमा उपचारपछि सुधार भइरहेको डा। पुनको भनाइ छ ।
यता डोल्पामा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार ठुलिभेरी नगरपालिका–३ सदरमुकाम दुनैमा बस्दै आएका रोल्पा घर भएका व्यक्तिहरू जंगली च्याउ खाएपछि बिरामी भएका थिए ।
बिरामीमध्ये ३० वर्षीय लाल कुमार रोका, ३७ वर्षीया सिमा रोकाया, ५० वर्षीय गौरे रोका, ६० वर्षीया रुपी रोका, ७० वर्षीया बिमला घर्ति मगर र ३५ वर्षीय प्रेम घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । रोल्पा घर भएका उनीहरू रोजगारीको शिलशिलामा डोल्पा बस्दै आइरहेका थिए । विषालु जंगली च्याउ सेवन गरी बिरामी परेकन सबैको जिल्ला अस्पताल डोल्पामा उपचारपछि घर फर्किएका छन् । हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।