काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उनको नाममा सहमति गरेको हो।
संघीय निजामति सेवा विधेयकमा चएको चलखेल छानबिन गर्नका लागि बनेको समितिले यसअघिका सभापति रामहरि खतिवडालाई नैतिकतामा प्रश्न उठाउँदै जिम्मेवार ठहर गरेको थियो।
त्यसपछि उनले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त पदपुर्तिका लागि चुनाव हुँदैछ। आज उम्मेदवार मनोनयनको तालिका छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले हालै राजीनामा दिएका रामहरि खतिवडालाई नै दोहोर्याउने प्रस्ताव गरे पनि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्का उपसभापति धनराज गुरुङले दीलेन्द्र बडूको नाम अघि सारेका थिए।
तर, देउवाले बडूको नाममा सहमति नजनाइ संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरी न्यौपानेको नाम अघि सारे। त्यसैमा अन्य नेताहरूले पनि सहमति जनाए।
संसदीय सुनुवाइ समितिको सभापतिबाट उनलाई राजीनामा गर्न लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउन लागिएको हो।
सुशासन समितिको सभापतिको उम्मेदवार बन्ने पक्का भएपछि अहिले आफू संसदीय दलको कार्यालय गइरहेको न्यौपानेले नेपालखबरलाई जानकारी दिइन्।
ुम अहिले दलको कार्यालय जाँदै छु। अब सुनुवाइ समितिबाट राजीनामा दिएर उम्मेदवार दिने होलाु उनले भनिन्। आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ।