काठमाडौं। आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व मनाइने दिन। सत्य युगमा आजैको दिन पार्वतीले निराहार व्रत बसी महादेव स्वामी पाएको कथा छ। तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्।
हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टले मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको बताए ।
भाद्र शुक्ल तृतीयाको दिन शिव–पार्वतीको विशेष पूजा आराधना गर्दा मनोकामना पूरा हुने र परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ। कतिपय व्रतालुहरू आज निराहर व्रत बस्ने गर्छन तर, निहारा व्रत बस्नुपर्ने नरहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।
अटल सौभाग्यको कामनाका लागि, सन्तानप्राप्तिका लागि व्रत बस्ने परम्परा छ।
तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालुहरू जम्मा भएर शिव–पार्वतीको पूजा गरी नाचगान गरेर रमाइलो गरिरहेका छन्।





