काठमाडौं । पछिल्लो प्रदर्शन क्रममा भएका अराजक र हिंसात्मक गतिविधिमा देशका विभिन्न राजनीतिक संस्थाहरूमाथि आक्रमण भए।
देशको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको कार्यपालिका भवन सिंहदरबार र व्यवस्थापिका (संसद) भवनमा लागेको आगो अहिले पनि शान्त भइसकेको छैन। यही क्रममा देशको सर्वोच्च न्यायालय पनि प्रदर्शनकारीहरूको निशानामा पर्यो।
प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा रहेका ६० हजारभन्दा बढी मुद्दाका फाइल नष्ट गरिदिएका छन्। यसले सर्वोच्चको मुद्दा सुनुवाइ नै प्रभावित भएको छ। सर्वोच्च अदालतले अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरेको छ।
मुख्य रजिस्ट्रार विमल पौडेलले सूचना जारी गर्दै बुधबार र बिहीबारदेखि पेसीमा रहेका मुद्दाको सुनुवाइ स्थगित गरेको जानकारी दिएका छन्। अर्को सूचना जारी नभएसम्मका लागि सुनुवाइ स्थगित भएको उनले बताए।
पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन्।
अहिले सर्वोच्चका कर्मचारी आगोमा जलेका सामान व्यवस्थापनमा जुटेका छन्। कतिपय नजलेका फाइल जोगाउन र अन्य सामान जोगाउन सर्वोच्च अदालतले त्रिपाल माग गरेको छ।
’अत्यन्त महत्त्वपूर्ण सामानहरू जोगाउन भए पनि कर्मचारीहरू खटिनुभएको छ। सामान राख्न त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो। कसैले सहयोग गर्नुपर्यो,’ सूचना अधिकारी निराजन पाण्डेले भने।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार मुद्दाका फाइल जलेर नष्ट भएको जानकारी दिए। उनका अनुसार अहिले पनि मिसिलहरू जलिरहेका छन्। उनले एनेक्स भवन भए पनि जोगाउन अपिल गरेका छन्।
सर्वोच्च परिसरभित्रै पर्ने एनेक्स भवनमा महत्त्वपूर्ण कागजात रहेकाले त्यसलाई भए पनि जोगाउन उनले अपिल गरेका हुन्। त्यहाँ फैसला भइसकेका अभिलेख शाखा समेत छ।
’त्यहाँ फैसला भइसकेका अभिलेखहरू रहेको शाखा छ। पुराना मिसिलहरू पनि छन्। त्यसलाई जोगाउन पाए इतिहास रहन्थ्यो,’ उनले भने, ’अहिलेसम्म सुरक्षित नै छ। सम्पादन शाखामा भएका किताबहरूमा आगो लागिरहेको छ।’
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १३:४९