बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र (मुकाम) खण्डेश्वरीमा बुधबार पहिलोपटक गाडी पुग्दा स्थानीयले बाजागाजासहित खुसियाली मनाए । उनीहरूको यो खुसी सडक पुगेको उत्सव मात्रै थिएन, वर्षौँदेखि भोग्दै आएको भौगोलिक विकटता र दैनिक जीवनका अनेकौँ सास्तीबाट बाहिर निस्किने आशा पनि थियो ।
मकरीगाडबाट खण्डेश्वरी पुग्न ५ देखि ६ घण्टा उकालो हिँड्नुपर्ने बाध्यता अब हट्ने भएको छ । खाद्यान्नदेखि निर्माण सामग्रीसम्म घोडा, खच्चड र मानिसले बोकेर पुर्याउनुपर्ने अवस्था फेरिँदै छ । बिरामी पर्दा उपचारका लागि जिल्ला सदरमुकाम खलंगा वा तराई झर्नुपरेको अवस्थामा पनि लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता घट्ने स्थानीयको अपेक्षा छ ।
पालिकाको सिमाना मकरीगाडसम्म सडक पुगेको करिब एक दशकपछि मात्रै गाउँपालिकाको प्रशासनिक केन्द्र खण्डेश्वरी सडक सञ्जालसँग जोडिएको हो । सडकले सीमासम्म छोए पनि गाउँपालिकाको केन्द्र नपुग्दा यहाँका बासिन्दाले लामो समयसम्म यातायात सुविधाबाट वञ्चित हुनुपरेको थियो ।
विसं २०७४ को स्थानीय निर्वाचनपछि नै तत्कालीन नेतृत्वले पालिकाको केन्द्रलाई सडक सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको थियो । तर, भौगोलिक कठिनाइ र पर्याप्त बजेटको अभावले कामले अपेक्षित गति लिन सकेन । झन्डै १० वर्षपछि मात्रै केन्द्रमा गाडी पुगेको हो ।
मकरीगाडदेखि खण्डेश्वरीसम्म करिब १० किलोमिटर सडक निर्माण भएको छ । त्यसमध्ये आठ किलोमिटर सडक खण्ड सडक डिभिजन कार्यालय पाटनले निर्माण गरेको हो । उक्त खण्ड निर्माणमा चार करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।
बाँकी करिब दुई किलोमिटर सडक अपिहिमाल गाउँपालिकाले ३० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको हो । पालिकाले ट्र्याक खोलेपछि बुधबार पहिलोपटक गाउँपालिकाको भवनसम्म गाडी पुगेको हो ।
गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार कठिन भूगोल र बजेट अभावका कारण पालिकाको केन्द्रसम्म सडक पुर्याउन लामो समय लागेको हो । ‘पालिकाको सिमानामा १० वर्षअघि नै सडकले छोएको थियो,’ उनी भन्छन्, ‘त्यसपछिको कठिन भूगोल र बजेट अभावका कारण ढिलाइ भइरहेको थियो ।’
सडक डिभिजन कार्यालयले मकरीगाडबाट भट्टाडसम्म निर्माण गरेको खण्डमा तीन किलोमिटर क्षेत्र भिरालो र कडा चट्टानयुक्त थियो । त्यसपछि रजिउडासम्मको साढे चार किलोमिटर सडकको ट्र्याक गत असारमा खोलिएको सडक डिभिजन कार्यालय पाटनका इन्जिनियर वसन्त लेखकले बताए ।
गाउँपालिकाका इन्जिनियर मोहन साहुका अनुसार खण्डेश्वरीबाट थप तीन किलोमिटर सडक निर्माणका लागि ४९ लाख रुपैयाँको नयाँ टेन्डर खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै, गाउँपालिकाको दक्षिण–पूर्वतर्फ रहेको अन्तिम बस्ती छेत्तीसम्म सडक विस्तार गर्न संघीय सरकारको समपूरक कोषबाट थप सात करोड रुपैयाँ प्राप्त भएको छ । उक्त रकमबाट सडक निर्माणको काम अघि बढाइने साहुले बताए ।
साबिकका खण्डेश्वरी, घुसा, सिती र गुल्जर गाविसका २३ वटा वडा समायोजन गरेर अपिहिमाल गाउँपालिकाका ६ वडा बनाइएका हुन् । पालिकामा ७७ वटा बस्ती छन् । कुल ६१३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकामा करिब आठ हजार जनसंख्या छ ।
भौगोलिक रूपमा विकट भएकाले यो क्षेत्रलाई विगतमा ‘मल्देश’ अर्थात् छुट्टै हिमालीमुनिको देशसमेत भन्ने गरिन्थ्यो । मकरीगाड र चमेलिया नदीको बहाब बढ्दा वर्षायाममा सम्पर्कविच्छेद भएर बस्नुपर्ने अवस्था थियो ।
मकरीगाडमा झोलुंगे पुल बनेपछि भने यो क्षेत्र मार्मा हुँदै गोकुलेश्वरसँग जोडिएको थियो । तर, पैदल यात्रा र सामान ढुवानीको कठिनाइ कायमै थियो ।
ढुवानी खर्च घट्ने, स्थानीय बजार विस्तार हुने
अपिहिमालको दुर्गमता केवल यातायातको अभावमा सीमित थिएन । सडक नहुँदा यहाँका बासिन्दाले खाद्यान्न, औषधि, निर्माण सामग्री र दैनिक उपभोगका वस्तु महँगो मूल्यमा खरिद गर्नुपर्थ्यो । सामान ढुवानीका लागि खच्चडको व्यवस्था गर्नुपर्ने भएकाले समय र खर्च दुवै बढी लाग्थ्यो ।
स्थानीय हेम बोहराका अनुसार यहाँ सामान ढुवानीका लागि दैनिक ६० वटाभन्दा बढी घोडा तथा खच्चड परिचालन हुने गर्थे । सडक नहुँदा विद्युत्का पोलसमेत बोकेर गाउँसम्म पुर्याउन नसकिएको उनको भनाइ छ । ‘धनगढीबाट मकरीगाडसम्म ३ सय किलोमिटरको भन्दा त्यहाँबाट १० किलोमिटर घोडा, खच्चड र मान्छेले बोक्नुपर्दा भाडा महँगो पर्थ्यो । अब सजिलो हुने भयो,’ स्थानीय हेम बोहराले बताए ।
उनका अनुसार बिजुलीका खम्बा ढुवानी गर्न नसकिएकै कारण लामो समयसम्म विद्युतीकरणको काम अघि बढाउन कठिन भएको थियो । गत वर्ष हेलिकोप्टरबाट विद्युत्का सामग्री ढुवानी गरेपछि मात्रै विद्युतीकरणको काम अघि बढेको थियो ।
स्थानीय होमस्टे सञ्चालक रायमती ठेकरेका अनुसार मकरीगाडबाट सामान ल्याउँदा प्रतिकिलो १० देखि १२ रुपैयाँसम्म ढुवानी भाडा तिर्नुपर्थ्यो । ‘मकरीगाडबाट प्रतिकिलो १०–१२ रुपैयाँ भाडा तिर्नुपथ्यो, कतिपय समानको मूल्यभन्दा भाडा महँगो हुन्थ्यो,’ उनी भन्छिन्, ‘अब सडक पुग्यो, सबै कुरा सस्तो र सहज हुने आशा छ ।’
उनका अनुसार सडक पुगेपछि स्थानीयले उपभोग गर्ने दैनिक आवश्यकताका वस्तु सस्तो हुने मात्रै होइन, गाउँमा उत्पादन हुने कृषि तथा स्थानीय वस्तु बजारसम्म पुर्याउन पनि सहज हुनेछ । होमस्टे सञ्चालन गर्ने स्थानीयलाई पर्यटकको आवागमन र आवश्यक सामग्रीको व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।
बिरामी र ज्येष्ठ नागरिकलाई ठुलो राहत
सडक नहुँदाको सबैभन्दा ठुलो समस्या आपत्कालीन अवस्थामा देखिन्थ्यो । बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई उपचारका लागि जिल्ला सदरमुकाम वा तराईका अस्पतालसम्म पुर्याउन निकै कठिन थियो ।
सामान्य अवस्थामा पनि घन्टौँ हिँड्नुपर्ने र त्यसपछि मात्रै सवारीसाधन भेटिने भएकाले उपचारका लागि यात्रा गर्न समय र खर्च दुवै बढी लाग्थ्यो । कतिपय अवस्थामा बिरामीलाई बोकेरै सडक भएको ठाउँसम्म पुर्याउनुपर्ने अवस्था थियो ।
खण्डेश्वरीका युवा हेम बोहरा सडक पुगेपछि यस्तो बाध्यता हट्ने विश्वास गर्छन् । ‘सडक अभावमा ज्येष्ठ नागरिक, महिला तथा अशक्तहरूलाई जिल्ला सदरमुकाम र तराई क्षेत्रमा जान निकै कठिन थियो, अब सहज हुन्छ,’ खण्डेश्वरीका युवा बोहरा भन्छन् ।
अब गाउँपालिकाको केन्द्रसम्म सवारीसाधन पुग्न थालेपछि बिरामीलाई अस्पतालसम्म लैजान, औषधि तथा स्वास्थ्य सामग्री गाउँमा पुर्याउन र स्वास्थ्यकर्मीको आवागमन सहज हुने अपेक्षा छ ।
स्थानीय विष्णु जोशीका अनुसार घुसा, सिती र खायाकोटसम्म सडक विस्तार गर्न सकिए अपिहिमालको आधार शिविरसम्म पुग्न लाग्ने समय घटाउन सकिन्छ । उनका अनुसार अहिले अपी र नाम्पा आधार शिविर जाने पर्यटकले दुईदेखि तीन दिन पैदल हिँड्नुपर्ने दूरी सडक विस्तारसँगै तत्कालका लागि एक दिन कम भएको छ । घुसा, सिती र खायाकोटसम्म सडक जोडिएमा एकै दिनमा अपी आधार शिविर पुग्न सकिने सम्भावना रहेको उनी बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३ ०६:५३