काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक र जलस्रोत तथा सिन्चाइ विभागका महानिर्देशकलाई पक्रेको २४ घण्टा कटाएर एउटा ग्लोबल टेण्डर रद्द गरिएको छ ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय ठेक्का हिजो रद्द गरिएको हो ।
आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई सिन्धुलीस्थित कार्यालयबाट र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई सिरहाबाट प्रहरीले अस्ति नियन्त्रणमा लिएर राति नै काठमाडौं ल्याएको थियो । हिजो बिहान दुबै जना इञ्जिनियरलाई जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको थियो ।
दिउँसो प्रधानमन्त्री कार्यालय, सिंहदरबार लगेपछि उनीहरूलाई बेलुकी रिहा गरिएको थियो । हिजै आयोजनाले ठेक्का रद्दसम्बन्धी सूचना सार्वजनिक गरेको छ । सूचनामा सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय ठेक्का रद्द गरिएको उल्लेख छ ।
आयोजनाले गत जुन ८ मा उक्त निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। तर, बोलपत्र प्रक्रिया अघि बढिसकेको अवस्थामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३९२० बमोजिम ठेक्का रद्द गरिएको भनिएको छ । ठेक्का रद्द गर्नुको स्पष्ट कारण खुलाइएको छैन।
यता प्रहरी स्रोतले प्रधानमन्त्री कार्यालयले आयोजनाको कामकारबाहीबारे चासो राख्दै प्रहरीमार्फत् ती दुई अधिकारीलाई उपस्थित गराउन निर्देशन दिएको बताएको छ । उनीहरु पक्राउ परेलगत्तै ठेक्का रद्दको सूचना सार्वजनिक हुनुले आयोजनाको ठेक्का प्रक्रिया र सरकारी हस्तक्षेपबारे गम्भीर प्रश्न उठेको छ।
सरकारी स्रोतले भने रिजाल र रजौरियाले मोबाइल अफ गरेर बसेकाले परियोजनाबारे केही कुरा बुझ्न प्रहरी मार्फत् काठमाडौंमा झिकाइएको दाबी गरेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३ १५:०५