काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन् ।
अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए । राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको उनको भनाइ छ ।
उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा स्थिति सामान्यतर्फ उन्मुख रहेको पनि बताए । उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्याङ्कन गरिने बताए ।
उनले भने– ‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ । अत्यावश्यक आवश्यक सेवाहरू खानेपानी, विद्युत् तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरूको लागि पनि हामीले तद्तद् निकायहरूलाई निर्देशन दिइसकेका छौँ । हिजो र अस्ति मन्त्रालयका सचिवहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ । सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ । र सुरक्षा स्थिति सामान्यउन्मुख छ ।’
उनले थप भने– अब जेनजी पुस्ताको मागहरूअनुसार सरकार बनोस् । नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल पनि गर्यौँ । कति क्षति भएको छ त्यसको आकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरू भइरहेको छ । त्यहीअनुसार हामी काम अगाडि बढाउँछौँ । सरकार सञ्चालनको विषयमा आएको सबै हल्ला हो । सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ त्यो अनुसारको व्यवस्थापन हामी गर्छौँ । अभिलेखको क्षति कल्पना समेत गर्न सकिँदैन । पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रूपमा आकलन गर्छौँ ।’
उनले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको पनि बताए ।