नुवाकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञावलीले गम्भीर समिक्षा सहित पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताउनु भएको छ ।
नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको पाँचौ बैठकलाई संवोधन गर्दै उपमहासचिव ज्ञावलीले यस्तो बताउनु भएको हो ।
अहिले हाम्रो पार्टी एमालेका विरुद्धमा जबरजस्त नकरात्मक भाष्य निर्माण गरिएको उल्लेख गर्नु भएका नेता ज्ञावलीले पार्टीले सरकार सञ्चालन गर्ने क्रममा जनताले हामीप्रति गरेको अपेक्षाहरुलाई कतिपय सवालमा पुरा गर्न सकेनौं होला, काम गर्ने सवालमा केहि कमीकमजोरी पनि भए होला तर अब हामी पार्टीको केन्द्रीय कमिटी बैठक जस्तो पार्टीका फोरकहरुको आयोजना गरेर गम्भीर समिक्षा गरेर नयाँ ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘हाम्रो नेतृत्व र कार्यकर्ता ,कार्यकर्ता र जनता बीचको सम्बन्ध कस्तो हुनुपथ्र्यो ? अहिलेसम्म हाम्रा व्यवहारले कस्तो भएको छ ? त्यसको हामीले आन्तरिक रुपमा गम्भीर समिक्षा गर्नुपर्ने समय आएको छ,’ एमाले पार्टी स्कुल विभागका प्रमुख समेत रहनु भएका उपमहासचिव ज्ञावलीले भन्नुभयो, ‘भर्खर मात्र पार्टी अध्यक्ष कमरेड सैनिक सुरक्षा घेराबाट बाहिर आउनु भएको छ । अब हामीले हाम्रा आन्तरिक फोरमहरुको आयोजना गरेर हाम्रा काम र हामील्े गरेका व्यवहारको गम्भीर समिक्षा गरेर अघि बड्छौ । तर अहिले विभिन्न कोणबाट नेतृत्वमाथी प्रहार गर्ने काम भएको छ, त्यसका विरुद्धमा सिंगो पार्टी एक ढिक्का भएर लाग्नुपर्छ ।
एमाले पार्टी र पार्टी नेतृत्वका बिरुद्ध अहिले गलत भाष्य निर्माण गर्ने नियोजित प्रयत्न भैरहेको उल्लेख गर्नु भएका नेता ज्ञावलीले थप्नुभयो, ‘गलत भाष्य निर्माण गर्ने त्यस्तो कार्यलाई रोक्नतर्फ सिंगो पार्टी पंति लाग्नु पर्दछ । म सबै तह र तप्काका पार्टी कमिटीका कमरेडहरुलाई पार्टी र नेतृत्व विरुद्ध भइरहेको नियोजित कुप्रचार र बहकाउमा नलाग्न आग्रह गर्दछु ।’
जेन जी पुस्ताले गरेको आन्दोलन प्रति संकेत गर्दै ज्ञावलीले नवयुवाहरुले आफ्ना मागहरु शान्ति पूर्ण रुपमा राख्न पाउने संवैधानिक आधिकार भएको उल्लेख गर्नुभयो ।
‘युवाहरुले राखेका कतिपय विषय जायज छन् तिनको संबोधन गर्न जरुरी छ । २३ गते जुन प्रकारको घटना भयो त्यो दुःखद छ नै । जुन प्रकारले युवाहरुमाथि ताकेर गोली प्रहार भयो त्यो निकै बिदारक समेत छ । तर उनीहरुको शान्तिपूर्ण आन्दोलनलाई बीचमै हाइज्याक गरेर जुन नियोजित रुपमा २४ गतेको भयावह घटना गराइयो । यो निकै गम्भीर र आपराधिक कार्य थियो,’ नेता ज्ञावलीले थप्नुभयो ।
वर्तमान संविधान नेपाली जनताको सात दशकको सघर्षको दस्तावेज हो र देशको मार्गचित्र भएकोमा जोड दिनुभएका उहाँले अहिलेको संविधान राष्ट्रिय एकताको सुत्राधार भएको भनाई राख्नुभयो ।
यो संविधान निर्माण गर्दा हामीमाथि ठूलो दवाव थियो । औपचारिक रुपमा हाम्रो देश स्वतन्त्र भएपनि संविधान जारी नगर्न निकै दवाव आयो तर हामीले सार्वभौम जनताका प्रतिनिधिले बनाउन सफल भयौं । दुःखत कुरा संविधान जारी भएपछि भुकम्पले थिलोथिलो भएको देशमा छिमेकीबाट नाकाबन्दी ब्योहर्नुपर्यो । नेपाली जनताले बनाएको यो संविधान धेरै प्रगतिशील छ । जारी हुँदा तत्कालीन शक्ति सन्तुलनको दस्ताबेज पनि हो । यस्लाई समय सापेक्ष संशोधन गरिनु पर्ने तर्क उहाँको थियो ।