काठमाडौं । शुक्रबार दिउँसोदेखि सुरु वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मुख्य राजमार्गदेखि सहायक मार्ग र स्थानीय सडक सञ्जाल प्रभावित छन् ।
सबैभन्दा बढी वर्षा पर्सामा
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगन्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगन्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०।४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।
विभागले बारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध, सिन्धुलीको अक्करे भीरमा पहिरो
मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भीरमा पहिरो खस्न थालेपछि यातायात आवागमन अवरुद्ध भएको छ ।
डुबानको उच्च जोखिममा हनुमन्ते खोला
अविरल वर्षापछि भक्तपुरको जगाती, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बग्ने हनुमन्ते खोला अहिले सतही तहमा आइपुगेको छ । खोलामा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।
निरन्तर वर्षा जारी रहेमा खोला बस्ती क्षेत्रमा आज बेलुकासम्म प्रवेश गरी राति डुबान हुने सम्भावना उच्च रहेको भन्दै खोला छेउछाउका बासिन्दालाई उच्च सतर्कता र पूर्वसावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
तुइनखोलामा एकतर्फी सवारी सञ्चालन
तुइनखोलामा हालका लागि पोखरा तर्फ मात्रै सवारी आवागमन गर्न मिल्ने गरी एकतर्फी यातायात सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सडक क्षेत्रमा अझै जोखिम कायम रहेकाले अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
इलाम–ताप्लेजुङ खण्ड सडक बन्द
ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएको छ ।
शनिबार दिउँसो सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको डिभिजन प्रमुखद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
अत्यावश्यक कारण बाहेक यात्रा गर्न नहुने
सवारी साधनमध्ये १० टनभन्दा बढी क्षमताका ठूला सवारीका लागि मेची कोरिडोर–कञ्चनजंघा–केचना सडक प्रयोग गर्न र १० टनभन्दा कमका साना सवारीसाधनका लागि सिमल–गोलाइ–जोगमाइ–तिल्केनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
पुर्वाधार मन्त्री घिसिङद्धारा चोभार–गल्छी क्षेत्रको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् ।
उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको हो ।
मन्त्री घिसिङले धोबीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोरलगायत क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन् ।
फिस्लिङमा पहिरो
इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढु्ंगा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ ।
पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बीपी राजमार्गमा असोज २० गतेसम्म यातायात सञ्चालन गर्न नपाइने
असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
शनिबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले गरेको निर्णय अनुसार, असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गतेसम्म बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
चितवनका १४ ठाउँमा रोकिएका छन् गाडी
चितवन-नारायणगढ मुग्लिन सडकको पहिरोग्रस्त क्षेत्र तुइनखोलामा ढुंगा झर्न सुरु भएपछि शनिबार दिउँसो एक बजेपछि त्यो बाटो हुँदै गाडी चलाउन पूर्णरूपमा रोक लागेको छ ।
यसअघि सो सडक हुँदै काठमाडौँ जाने गाडीलाई रोके पनि पोखरा आउजाउ गर्ने गाडीहरू चलेका थिए । पानी पर्न नरोकिएको र ढुंगा पनि खस्न सुरु भएका कारण जोखिम बढेका हुँदा सबै खाले गाडी चलाउन बन्द गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।
त्यसैगरी मुग्लिनदेखि पूर्व पृथ्वी राजमार्गको कुरिनटार र फिस्लिङको बीचमा पनि पहिरो गएका कारण बाटो अवरुद्ध भएको उनले बताए । पृथ्वी राजमार्गको धादिङ जवाङ खोलानजिक शनिबार बिहानै गएको पहिरोले बाटो अवरुद्ध थियो ।
बनेपा–धुलिखेल जाने सवारीसाधन पनि फर्काइयो
अहिले भक्तपुरबाट बनेपा–धुलिखेल जाने सवारीसाधन पनि रोकेर फर्काइएको छ । भक्तपुर–काभ्रे सीमाना साँगा नाकाबाट नै सवारीसाधन फर्काइएको प्रहरीले जनाएको छ ।
बीपी राजमार्गको नेपालथोक-धुलिखेल खण्डमा पहिरो
बीपी राजमार्गको नेपालथोक(धुलिखेल खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरो खसेकाले सिन्धुलीमाडी, खुर्कोट र नेपालथोकमा सवारीसाधन रोकिएका छन् ।
फर्किन थाले सवारीसाधन
मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । ुअहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्,ु उनले भने, ुसुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।ु
सडक विभागले बीपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पूर्व जाने सवारीसाधन जगातीमा रोकियो
लगातारको वर्षापछि उपत्यकाबाट अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्लाहरू जाने सवारीसाधन रोकिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा रोक लगाएसँगै भक्तपुरको जगातीबाट नै पूर्व जाने सवारीसाधन रोकेर फर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण राईले जानकारी दिएका छन्। तर बनेपा र धुलिखेलसम्म जाने सवारीसाधन भने रोकिएको छैन।
यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चोक गुण्डु नजिकैको सडक खण्डमा वर्षाका कारण पहिरो गएको छ। उक्त पहिरोका कारण गुण्डु–किवा चोक हुँदै नयाँ ठिमी चल्ने यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द
कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार बागमती प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्युनिकरण गर्न अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जनाएको छ।