काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ ।
हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण वर्षा भइरहेको छ ।  
विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 
कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ । 
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।
विभागका अनुसार पछिल्लो ६ घण्टामा मोरङमा ८७, सप्तरीमा ७४, उदयपुरमा ७२ र झापामा ६० मिलिमिटर पानी परेको छ । आज कोशी, मधेश र बागमती प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा भारी हिमपातको सम्भावना छ । आज हिजोको तुलनामा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।
पश्चिमी वायुका साथमा अरब सागरमा विकसित प्रणालीको असरमा बङ्गालको खाडीका विकसित चक्रवात मोन्थाको प्रभाव समेत मिसिएकाले लगातार वर्षा भइरहेको मौसमविदले बताएका छन् । पश्चिमी क्षेत्रमा मङ्गलवारदेखि वर्षा गराएको अरब सागरको प्रणाली हिजोदेखि कमजोर भएको छ । तर यही समयमा बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाको प्रभाव देखिएको मौसमविदको भनाइ छ ।