एकीकृत समाजवादीमा गम्भीर विवादः माओवादीसँग एकता गर्ने प्रस्ताव छलफलमा  
   
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने तयारीले एकीकृत समाजवादीमा गम्भीर विवाद निम्त्याएको छ । 
अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको अन्तिम तयारी गरिरहेका बेला पार्टीभित्र चर्को मतभेद देखिएको हो । एक पक्ष माओवादीसँग एकता गरेर नयाँ पार्टीमा जाने तयारीमा छ भने अर्को पक्षले एसलाई निरन्तरता दिँदै नयाँ नेतृत्वको विकल्प खोज्ने तयारी गरेको छ । यसले एकीकृत समाजवादीको आन्तरिक राजनीतिमा किचलो बढ्न थालेको हो ।
अध्यक्ष नेपाल र नेता वेदुराम भुसालसहित माओवादीसँग एकता गर्ने पक्षमा उभिए पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्री लगायतको समूह भने त्यसको विरोधमा उत्रिएको छ । 
माओवादीसँगको एकताभन्दा पार्टी पुनर्गठन गर्नुपर्ने उनीहरूको जोड छ । जारी केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालले नेतृत्व छाडे मात्रै एकताको वातावरण बन्ने बताउनुभयो । ‘अब आदेशले समाज चल्दैन, संवाद मात्र मान्छ जनता’, बैठकमा भुसालले भन्नुभयो, ‘नाम र झण्डा मिलाएर प्राविधिक एकता गर्नु अपमानजनक हुन्छ ।’
त्यस्तै, नेता खनालले माओवादीसँगको एकता असमय र अव्यावहारिक भएको टिप्पणी गर्नुभयो । उहाँले एमाले विभाजनकै औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्न खोजेको भन्दै अध्यक्ष नेपालको राजीनामासमेत माग्नुभयो । ‘एमाले फुटाएर बनाएको पार्टी अब माओवादीमा जान सुहाउँछ ? यो एकताको समय होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने समय हो’, खनालले भन्नुभयो । 
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष जगन्नाथ खतिवडा भने एकताको पक्षमा देखिनुभएको छ । पाण्डेले पार्टी चलाउन कठिन भइरहेको उल्लेख गर्दै अब नचल्ने पार्टीलाई अर्कोलाई बुझाउनैपर्ने अवस्था आएको उहाँको भनाइ छ । नेतृ झाँक्रीले यसअघि नै अध्यक्ष नेपाललाई जिम्मेवारीबाट हट्न चेतावनी दिँदै सिनोलाई बोकेर हिँड्न नसक्ने टिप्पणी गर्नुभएको थियो ।
नेता प्रमेश हमालका अनुसार माओवादीसँग एकताको सहमति अन्तिम चरणमा पुगेको छ । सिद्धान्त, संगठन र नेतृत्वबारे सहमति बनिसकेको र एकता भएपछि ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ वा ‘नेकपा समाजवादी’ रहने प्रस्ताव गरिएको छ । एमालेसँग विद्रोह गरेर २०७८ सालमा एकीकृत समाजवादी गठन भएको थियो ।
अहिले एकीकरणको होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो ः खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालको राजीनामा माग्नुभएको छ । जारी केन्द्रीय समिति बैठकमा माओवादसँगको एकताबारे धारणा राख्दै उहाँले नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिनुभएको हो ।
 ‘त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । तसर्थ उहाँले अध्यक्षबाट राजीनामा दिनुपर्छ,’ खनालले भन्नुभयो । उहाँले अध्यक्ष नेपाललाई एकीकृत समाजवादी फुटाएर माओवादीमा जान सुहाउँछ रु भनेर प्रश्न गर्नुभयो । अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको उहाँको भनाइ थियो । ‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस् । होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो,’ उहाँले भन्नुभयो, ‘उनीहरूभित्रै राजनीतिक, सैद्धान्तिक मतभेद छ । त्यो नमिलाई पार्टी चलाउन पनि सकिएन, पैसा पनि छैन, कार्यालय पनि तोडफोड भयो भनेर जान खोजेको हो भने भन्नु केही छैन । एमालेसँग विद्रोह गर्दा हामीले चार वर्षसम्म माधव कमरेडलाई साथ दिएको हो, अब अहिले माधव कमरेडले छाडेर जान सुहाउँछ रु यो पार्टी फुटाएर तपाईं माओवादीमा जान सुहाउँछ ?’
प्रमुख नेताले नेतृत्व छाड्ने भए मात्रै एकताको वातावरण बनाउन सकिन्छ ः भुसाल
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रचण्ड र माधव नेपाललाई जनताले अस्वीकार गरेकाले फरक भूमिकामा जान सुझाव दिनुभएको छ । जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन अध्यक्ष नेपालको प्रतिवेदनमाथि टिप्पणी गर्दै भुसालले फरक भूमिकामा रहन सुझाव दिनुभएको हो । 
पार्टी एकता गर्दा नेता बलियो हुनेगरी नभई जनता बलियो बनाउने गरी हुनुपर्नेमा भुसालले जोड दिनुभयो । ‘माधवजी, प्रचण्डजी फरक भूमिकामा जानुस् । ‘तपाईंहरूले (प्रचण्ड र माधव नेपाल)ले अब नेतृत्व छाड्ने भए एकताको वातावरण बनाउन सकिन्छ । कार्यकर्ताले त मानेका हौँ । तपाईंहरूको लामो कार्यकारी भूमिका जनताले मानेनन्’, भुसालले भन्नुभयो, ‘हामी कोही तपाईंहरूभन्दा अब जुनियर होइनौँ । हामीले प्रस्ताव गरेको जनवादी क्रान्ति सकियो, अब समाजवादी क्रान्तिको युग सुरु भयो भन्ने विचार हामीले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको कुरा बृहत्तर स्वीकारोक्ति छ ।’ पार्टी पुनर्गठन गरेर बृहत् वाम एकताको ढोका खोल्न सकिने उहाँको भनाइ छ ।