काठमाडौं । राजनीतिक दलहरू रूपान्तरण र पुनर्गठनको माग चर्किंदै गएको छ ।
नयाँ पुस्ताको राजनीतिक चेतना र नागरिक आक्रोशबीच दलको पुरानो नेतृत्व परिवर्तनको माग बलियो बन्दै गएको हो । यही दबाबले अहिले दलहरूभित्र उथलपुथल मच्चाएको छ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेर पछिल्लो समय केही ‘स्पेस’ दिए पनि वामपन्थी दलहरूमा भने नेतृत्व हस्तान्तरणको कुनै संकेत देखिएको छैन । बरु, उनीहरूले एकताको कार्ड फालेर आफूलाई राजनीतिक केन्द्रमा पुनःस्थापित गर्ने रणनीति अपनाएका छन् । यहीको प्रमुख उदाहरण हो( नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीचको एकता प्रयास ।
पार्टी एकताको घोषणा नहुँदै एकीकृत समाजवादी विभाजनको सिकार बनेको छ । अध्यक्ष माधवकुमार नेपाल समूहले माओवादीसँग एकता गरेर जाने निर्णय गरेसँगै अर्को पक्ष अलग भएको हो । नेता झलनाथ खनाल र घनश्याम भुसालसहितका नेताहरू पार्टी पुनर्गठनको प्रयास गरिरहेका छन् । यसैक्रममा उनीहरूले शनिबार समूहको भेलासमेत बोलाएका थिए ।
एकताकै मुद्दामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि फुटेको छ । विप्लवले आगामी चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएसँगै चिरण पुन समूह अलग्गिएको हो । पुन समूहले माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेको छ । उता, एमालेले भने वाम एकताका नाममा भइरहेको यो हल्लालाई अवसरको रूपमा लिएको छ । समाजवादीका असन्तुष्टहरूलाई भित्र्याउन एमालेले सक्रिय पहल थालेको छ । माओवादीभित्रै पनि एकीकृत समाजवादीसँग एकता गर्न नहुने मत एकथरिको छ ।
यसरी, एकता प्रयासले वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउनुको साटो अलग-अलग बनाइरहेको छ । राजनीतिक विश्लेषकहरूको भनाइमा, वामपन्थी एकताको प्रयासले वाम राजनीतिको पुनर्संरचना होइन, बरु अस्थिरता र अविश्वासको शृंखला बढाएको छ ।
माओवादी-समाजवादीसहित सातवटा कम्युनिष्टबीच एकता हुने
माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियामा विभिन्न सातवटा पार्टी सामेल हुने भएका छन् । एकता गर्नेगरी टुंगो लागेका पार्टीको संख्या सातवटा रहेको माओवादी नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत छन् । यसका अलावा नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुने टुंगो लागेको हो । ‘वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब(करिब फाइनल भइसकेको छ’, माओवादी सचिवालय बैठकपछि उहाँले भन्नुभयो । एकताको निर्णय अनुमोदनका लागि माओवादीले यही कात्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । सचिवालय बैठकपछि संयोजक प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूको एकता सभा एक साताभित्रै भइसक्ने बताउनुभयो ।
जनार्दन पनि एक हुनुपर्छ ः संयोजक प्रचण्ड
माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया ठीक ढंगले अगाडि बढेको बताउनुभएको छ । नेता जनार्दन शर्मासमेत केन्द्रीय समितिक बैठकसम्म सहमत भएर अगाडि बढ्ने उहाँको विश्वास छ । शनिबार बसेको माओवादी सचिवालय बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिनुभएको थियो । तर, प्रचण्डले सबै एकजुट भएर एकता हुने बताउनुभयो । ‘सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ’, उहाँले भन्नुभयो, ‘आजको बैठकमा उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त ।’
यसअघि शनिबार नै आयोजिक अर्को कार्यक्रममा प्रचण्डले राष्ट्र गम्भीर संकटमा परेको बताउनुभएको थियो । पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभा सम्बोधन गर्दै संयोजक प्रचण्डले अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताउनुभयो । जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्नसके समाजवादी क्रान्ति छोटो समयमै सम्भव हुने उहाँको भनाइ थियो ।
विचार र भावनालाई छोड्ने गरी एकता हुँदा माओवादीको पहिचान मेटिँदै छः जनार्दन शर्मा
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको भावना र विचारलाई छोड्ने र भत्काउने गरी कसैसँग एकता हुन नहुने बताउनुभएको छ ।
पार्टीको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै नेता शर्माले यसले माओवादीको पहिचान नै मेटिने बताउनुभयो । समग्र कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न नेतृत्व हस्तान्तरण हुनुपर्ने भनाइ उहाँको छ । ‘आन्दोलनका शहीद, घाइते र बेपत्ता हाम्रो जग हो । उनीहरूको सपना हाम्रो मुख्य आधार हो । त्यो विचार र भावनालाई छोड्ने र भत्काउने गरी एकता प्रयास हुँदा माओवादीको पहिचान मेटिँदै छ’, बैठकमा उहाँले भन्नुभयो, ‘यसले विसर्जनतिर लैजान्छ । वैचारिक विचलन र विघटनतिर जाने एकता हामीले गर्नु हुँदैन ।’ शर्माले एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गर्नुभयो ।
पार्टी पुनर्गठन गर्छौं ; झलनाथ खनाल खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताउनुभएको छ । शनिबार काठमाडौंमा आफूनिकट नेताहरूको भेलामा सहभागी हुन पुग्नुभएका नेता खनालले पार्टीलाई पुनर्गठनरगठन गरेर एकीकृत बनाइने बताउनुभएको हो । पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको उहाँको भनाइ थियो । उचित वातावरण बनाए नेकपा ९एमाले०मा फर्कन कुनै आपत्ति नहुने खनालले बताउनुभयो । तर, त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्क मात्रै भनेर नहुने उहाँले बताउनुभयो । घर फर्कन ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने खनालको सर्त छ ।
एकताको आवश्यकता याद गर्नु वाहियात हो ः बास्कोटा
एमाले नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गर्नुभएको छ । हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै उहाँले नेपालका वामपन्थीहरू ‘मिसिने तर नमिल्ने’ पनि प्रवृत्तिका रहेको उल्लेख गर्नुभएको छ ।
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको उहाँको भनाइ छ । ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्’, बास्कोटाको टिप्पणी छ, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता । फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’
यसैगरी, एमाले सचिव योगेश भट्टराईले पार्टीमा योगदान गरेका तर, हाल पार्टीबाहिर रहेका नेताहरूलाई एमालेमा फर्किन अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान स्वागतयोग्य रहेको बताउनुभएको छ । जनताको बहुदलीय जनवादको मार्गनिर्देशन र एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको उहाँले बताउनुभयो ।
एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका थोत्रो भइसक्यो; विप्लव
नेकपा महासचिव विप्लवले नयाँ कम्युनिष्ट केन्द्र्र निर्माणको अपरिहार्यता रहेको बताउनुभएको छ । कम्युनिस्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उहाँले कम्युनिष्टहरूबीच मोर्चाबन्दी, वैचारिक, सैद्धान्तिक र व्यावहारिक बहसहरू आवश्यक रहेको बताउनुभयो । तर, एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको उहाँको भनाइ छ ।
‘एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो । समयले धेरै पछि छोडिसक्यो,’ उहाँले लेख्नुभएको छ, ‘यसैमा रमाउने र थेचारिने आफ्नै भुटभुटी मात्र हो । इमानदार दर्शकका लागि यो केवल व्यंग्य मात्र लाग्छ ।’