सुर्खेत । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई संसदीय दलको नेता चुन्न सकस परेको छ ।
आकांक्षीहरूको लर्को लागेपछि समस्या सिर्जना भएको हो । मंसिर १७ गते बसेको संयुक्त बैठकले साबिकको एकीकृत समाजवादी र माओवादी केन्द्र नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरण भएका थिए । सोही बैठकले मंसिरभित्रै दल नेता लगायत पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो ।
पदाधिकारी चयन नहुँदासम्मका लागि आवश्यक समन्वय र दलको काम कारबाही सञ्चालन गर्ने जिम्मेवारी साबिक माओवादीका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई दिइएको थियो ।
एकीकृत दलको विषय प्रदेश सभा सचिवालयमा समेत दर्ता भइसक्यो । प्रदेश सभाले एकीकृत दलको विवरण अभिलेखमा राखिसकेको अवस्थामा पदाधिकारी चयनमा भने विलम्ब भएको छ ।
मंसिरभित्रै पदाधिकारी चयन गरिसक्ने भने पनि अहिलेसम्म न औपचारिक छलफल भएका छन् न बैठक नै बस्न सकेको छ ।
मंसिर २७ गते एकता सभालाई सम्बोधन गर्न आएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह—संयोजक माधव नेपालसहितको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक पनि बसेको थियो ।
उक्त बैठकमा प्रचण्डले दल नेता चयन संसदीय दलकै छलफलबाट टुंगो लगाउनुपर्ने सुझाव दिएका थिए ।
‘दलले तल्लो तहबाट जे निष्कर्ष निकाल्छ, त्यसैका आधारमा केन्द्रले धारणा बनाउने हो, माथिबाट छुट्टै लाद्ने वा अलग धारणा बनाउने भन्ने हुँदैन,’ प्रचण्डको भनाइ थियो ।
दल नेताका लागि विशेषगरी पूर्वमाओवादीतर्फका सांसदहरू विन्दमान विष्ट, मंगलबहादुर शाही, कृष्णबहादुर जिसी, दुर्ग रावत, महेन्द्र केसी र भीमप्रकाश शर्मालाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।
प्रचण्डले भनेजस्तै प्रदेशका सांसदले पनि दल नेताका लागि केन्द्रले नाम थोपर्न र हस्तक्षेप गर्न नहुने आवाज उठाइरहेका छन् । दल नेताका एक आकांक्षीले बरु प्रदेशमै गहन छलफल गर्ने, सहमति नभए लोकतान्त्रिक विधि अर्थात् चुनावकै माध्यमबाट जानुपर्ने बताए ।
‘हामीबिचमै व्यापक छलफल र उच्च सहमति गरेर दलको नेता चयन हुनुपर्छ भन्ने हाम्रो जोड छ,’ उनले भने ।
यद्यपि अहिलेसम्म पदाधिकारी चयनको प्रक्रिया अघि नै अघि नबढेको एक सांसदले रातोपाटीलाई बताए । समन्वयको जिम्मेवारी पाएका जिसीले पुनः बैठक नै बोलाएका छैनन् ।
‘औपचारिक रूपमा दल नेताबारे कुनै छलफल भएको जस्तो लाग्दैन, अनौपचारिक रूपमा सामान्यतय कुरा भइरहेकै छन्,’ ती सांसदले भने, ‘आकांक्षा धेरैको छ, मिलाउन सकस नै छ ।’
उनका अनुसार प्रदेश सभामा सबैजसो सांसदको हैसियत बराबर नै रहेकाले अधिकांशको चाहना दल नेता बन्ने छ । यसअघि माओवादी संसदीय दलका नेता रहेका राजकुमार शर्माले पदबाट राजीनामा दिँदै जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’मा आबद्धता जनाइसके ।
यद्यपि उनको सांसद पदबारे भने नेकपाले कुनै निर्णय गरिसकेको छैन । शर्मा अन्य सांसदहरू भन्दा पार्टीभित्र सिनियर थिए । शर्माबाहेक साविक माओवादीका धेरैजसो सांसदको हैसियत बराबरकै छ, जसका कारण दल नेताको विषयमा छलफल नै चलाउन हम्मेहम्मे परेको ती सांसदको भनाइ छ ।
रुकुम पश्चिमका केसी र सल्यानका शर्मा यसअघि जनार्दन शर्माकै आशीर्वादमा मन्त्री बनेका थिए । राजकुमार शर्मा दल नेताबाट राजीनामा दिइसकेपछि यी सांसदहरू भने नेकपामै छन् । रुकुम, सल्यानमा नेकपाको राजनीतिलाई स्थापित गराउन पनि उनीहरूलाई दल नेताका रूपमा अघि सार्न सक्ने चर्चा छ ।
दल नेताका लागि विशेषगरी पूर्वमाओवादीतर्फका सांसदहरू विन्दमान विष्ट, मंगलबहादुर शाही, कृष्णबहादुर जिसी, दुर्ग रावत, महेन्द्र केसी र भीमप्रकाश शर्मालाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । दल नेता हत्याउन विभिन्न माध्यमबाट पार्टीका उच्च तहका नेताहरूसम्म ‘लबिङ’ पनि सुरु गरिसकेका छन् यिनीहरूले । यहाँ साविक समाजवादीको एउटा मात्रै सांसद भएकाले सचेतकसम्मको जिम्मेवारी दिनसक्ने सम्भावना छ ।
विन्दमान विष्ट यसअघि अर्थमन्त्री भइसकेका र अन्य सांसदभन्दा संसदीय अनुभव भएका सांसद हुन् । बाहिरी रूपमा सबैजसोले उनी नै दल नेता हुनुपर्ने आवाज पनि छ, तर उनी अहिले सार्वजनिक लेखा समितिको सभापति पनि भएकाले सबैजसो लाभको पद उनैलाई पार्न हुन्न भन्ने आवाज पनि माओवादीभित्र रहेको नाम नखुलाउने सर्तका अर्का एक सांसदले बताए ।
‘उहाँ अहिले पनि गाडी चढ्ने पदमा हुनुहुन्छ, यसअघि अर्थमन्त्री पनि भइसक्नुभयो,’ ती सांसदले भने, ‘उहाँबाहेक अरू पनि हुनुहुन्छ । बाँकी छलफलबाट निष्कर्ष आउला ।’
०७९ सालको निर्वाचनताका त उनलाई कर्णालीको मुख्यमन्त्रीकै रूपमा चर्चा गरिएको थियो । यद्यपि उनले नेता मान्दै आएका शक्ति बस्नेतले त्यो बेला पार्टी केन्द्रमा ‘लबिङ’ नगरिदिएपछि बस्नेतसँग रुष्ट छन् उनी । पछि जनार्दन शर्मानिकट राजकुमार मुख्यमन्त्री बने ।
बस्नेतसँग रुष्ट रहेका विष्टले त्यसपछि वर्षमान पुनलाई नेता मान्न थालेको चर्चा थियो, तर कर्णालीमा वर्षमानकोे खासै प्रभाव छैन । जनार्दन शर्माले फरक पार्टी बनाइसकेपछि कर्णालीमा साविक माओवादीका तर्फबाट नेकपाभित्र पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र शक्ति बस्नेतबिच आन्तरिक प्रतिस्पर्धाको चर्चा छ ।
अर्कोतर्फ दल नेताका लागि चर्चामा रहेका अन्य सांसदहरू पनि एक–एक पटक मन्त्री भइसकेका व्यक्तिहरू हुन् । कृष्णबहादुर जिसी यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री भइसकेका छन् ।
त्यसैगरी, दुर्ग रावतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मंगलबहादुर शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भीमप्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । साथै, महेन्द्र केसी पनि आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका नेता हुन् ।
समन्वयको जिम्मेवारी पाएका कृष्णबहादुर जिसीले अन्य प्रदेशमा तथा प्रदेश कमिटीहरू पनि एकीकृत गर्ने काम बाँकी रहेको अवस्था र नेताहरू अहिले कार्यक्रमहरूमा व्यस्त भएकाले संसदीय दलको नेता चयनबारे छलफल अघि नबढेको बताए ।
रुकुम पश्चिमका केसी र सल्यानका शर्मा यसअघि जनार्दन शर्माकै आशीर्वादमा मन्त्री बनेका थिए । राजकुमार शर्मा दल नेताबाट राजीनामा दिइसकेपछि यी सांसदहरू भने नेकपामै छन् । रुकुम, सल्यानमा नेकपाको राजनीतिलाई स्थापित गराउन पनि उनीहरूलाई दल नेताका रूपमा अघि सार्न सक्ने चर्चा छ । केसी ०७९ को निर्वाचन भन्दा अघि विप्लवसँग थिए । तर, यसअघि मन्त्री हुँदा खासै ‘पफर्मेन्स’ देखाउन नसकेको, आफ्नो स्वकीयमा आफ्नै श्रीमतीदेखि परिवारका नातेदारलाई राखेको भन्दै पार्टीभित्र प्रश्न उठिरहेको छ । बरु मंगल शाहीलाई बलियो दाबेदारका रूपमा हेरिएको चर्चा छ ।
सांसदहरूबिच रस्साकस्सी भए पनि शक्ति र महेन्द्रको आशीर्वाद कसलाई हुन्छ, उनै दल नेता बन्न सक्ने आकलन अर्का एक सांसदले गरे ।
सांसद मंगल शाहीले मंसिरभित्रै पदाधिकारीको विषय टुङ्ग्याउने भनिए पनि यावत कारणले विलम्ब भएको बताए ।
‘नेताहरू पनि कोही कता कोही कता जानुभयो, प्रदेश तहका नेताहरू अहिले जिल्लातिर हुनुहुन्छ,’ उनले भने, ‘सम्भवतः १२ गतेसम्म वीरेन्द्रनगरमा जम्मा हुने कुरा छ । त्यसपछि केही छलफल अघि बढ्ला कि ?’
समन्वयको जिम्मेवारी पाएका कृष्णबहादुर जिसीले अन्य प्रदेशमा तथा प्रदेश कमिटीहरू पनि एकीकृत गर्ने काम बाँकी रहेको अवस्था र नेताहरू अहिले कार्यक्रमहरूमा व्यस्त भएकाले संसदीय दलको नेता चयनबारे छलफल अघि नबढेको बताए ।
‘अहिले दल नेत नहुँदैमा समस्या नै आउने अवस्था छैन,’ उनले थपे ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ ०७:४९