सिमकोट । सर्केगाड गाउँपालिका को रिपमा भएको आगलागीमा जलेका दुवैजना घाइतेलाई भर्खरै जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।
बिहान २ बजे एम्बुलेन्सबाट ल्याइएको लैबा फडेरा र उनकी श्रीमती बम्बु फडेरालाई सिमकोट ल्याइए लगत्तै उपचार शुरु भएको जिल्ला अस्पताल सिमकोटले जनाएको छ ।
अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनुभएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए ।
‘लैबुको ५४ प्रतिशत शरिर आगोले खाएका कारण जिल्लामा उपचार अलि जटिल छ’, डा. तिवारीले नेपालवोटसँग भने ‘श्रीमती बम्बुको १८ प्रतिशत शरिरलाई आगोले खाएका कारण जिल्लामै उपचार संभव छ । ’
डा. तिवारीका अनुसार लैबुलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ । अहिले बिहान जहाज आउने बित्तिकै प्रदेश अस्पताल वा अन्यत्र पठाउने तयारी जिल्ला अस्पतालले गरेको छ । लैबु फडेराको घरबाट हिजो राती शुरु भएको आगोल लैबा फडेरा, जयराम फडेरा, क्रान्ती फडेराको घर जलेर नष्ट भएको रिपका स्थानीय बिजय फडेराले जानकारी दिए । उनका अनुसार आगलागीमा परेर रमेश महतारा र मोहन महताराको घर लगाउन जम्मा गरिएको सामाग्रीहरु पुरै जलेका छन् ।
अगालागीबाट भएको क्षतीको विवरण अँझै एकिन भएको छैन् ।
पालिकाको टोली आगलागि स्थलमा
रिपको आगलागी स्थलमा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, उपाध्यक्ष देवकी तिमिल्सीनाको टोली पुगेको छ ।
आगलागीको खबर पाउने बित्तिकै पालिका केन्द्र सर्केगाडबाट बिहान आएको पालिका अध्यक्ष र उपाध्यक्षको टोलीले आगलागीबाट क्षती भएका घरहरुको स्थलगत अवलोकन गरेको पालिका उपाध्यक्ष देवकी तिमिल्सीनाले जानकारी दिनुभयो ।
‘हामी आउञ्जेलसम्म आगलागि नियन्त्रणमा आएसकेको थियो । अहिले आगलागिले क्षती भएका घरहरुको अवलोकन गर्ने, घाइतेको थप उपचार र राहतका लागि के गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौं,’ रिपमा भएकी पालिका उपाध्यक्ष तिमिल्सीनाले भन्नभयो, ‘शुरुमा हामी आगलागिमा घाइते भएका लैबुको परिवारलाई उपचारको व्यवस्था गर्छौ । त्यस लगत्तै क्षतीग्रस्त घर र परिवारलाई राहतका लागि आवश्यक पहल कदमी गर्छौ ।’
आगलागी भएका घरमा मान्छे नभएका कारण मानविय क्षती नभएको उल्लेख गरेकी तिमिल्सीनाले क्षतीग्रस्त घरका मुलिहरुसँगको परामर्शमा आवश्यक राहत र क्षतीग्रस्त घर पुनः निर्माणमा लाग्ने प्रतिक्रिया दिइन ।
हिजो राती ११ बजे लागेको आगो गाउँलेहरुको पहलमा आज बिहान साढे २ बजे नियन्त्रत्रणमा ल्याइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ ०७:०१