सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका २ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ । साढे ६ बजे लागेको आगोबाट जलेर खार्पनाथ गाउँपालिका-२ का २ वर्षिय रेबेन्द जेठाराको मृत्यु भएको हो ।
छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा बर्रा जेठारा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । रावलका अनुसार गाउँलेसँग गुहार मागेर आगो नियन्त्रण गराउन हिडेकी बालककी आमा घर फर्किदा आगो दन्केर बालक भित्रै रहेका थिए । तिनतले घरको माथिल्लो तल (आटी)बाट आगो सल्केकाले एकै छिन आगोका लाप्काले नियन्त्रणमै कठिन भएको अर्का प्रत्यक्षदर्सी दया रावलले जानकारी दिए ।
आगलागीमा परेको छोरा लिन घर भित्र जान लागेकी बालककी आमा बर्रा जेठारा पनि घाइते भएकी छन् । आगोको लप्का लागेर उनि घाइते भएको स्थानीय बताएका छन् । घर भित्र सँग बसेको दुई भाइ मध्ये जेठा दाई बाहिर निस्केपछि २ वर्षका रेबेन्द जेठाराको मृत्यु भएको स्थानीय रावलले जानकारी दिए ।
'छिनमै आगोको लप्काले घर जल्न थालेपछि हामीले घर भित्रै रहेको बालकलाई जिवित उद्धार गर्न सकेनौं', रावलले नेपालवोटसँग भने, 'गनउँका सबै घरधुरी जम्मा भएर खानेपानीका सबै लाइन काटेर पानी, माटोले घर भत्काएपछि साढे एक घटामा आगो नियन्त्रण त आयो दुर्भाग्य भित्र रहेको बालकलाई जिवित उद्धार गर्न सकिएन ।'
आगो नियन्त्रण गर्नका लागि माथिबाट फालेका पानीको फोहरा, माटो र ढुंगा लागेर बालकको शरिर क्षतविक्षत अवस्थामा भेटिएको बताएका स्थानीय दया रावतले रामराज जेठाराको घरमा भएको सबै जलेर नष्ट भएको जानकारी दिए ।
‘घर भित्र रहेको पैशा, अन्नपात, लत्ता कपडा, केहि रहेन । माथिल्लो तलमा बस्ने राजराजको सबै जलेर नष्ट भयो भने तल्लो तलामा बसेका छेपी जेठाराको पनि आधा भन्दा बढि सामान जलेको छ । यद्यपी क्षतिको विवरण भने एकिन गर्न सकिएको छैन्’ उनले थपे ।
स्थानीय शंकर माध्यमिक विद्यालयका लेखापाल समेत रहेका रामराज शाही विद्यालयका शिक्षकको पारिश्रमिक हाल्न गाउँपालिका केन्द्र यांचुकुना गएको बेला उनको घरमा आगलागि भएको हो ।
घइते बर्रा जेठारालाई थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउने तयारी भैरहेको छ ।
खार्पुनाथको प्रहरी चौकी पालिका केन्द्र यांचुकुनामा भएको र आगलागी स्थल भन्दा तीन घण्टाको दुरीमा भएकाले यो समाचार तयार पारुञ्जेलसम्म प्रहरी घटनास्थलमा पुगेको छैन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रबत्ता विष्णु श्रेष्ठका अनुसार घटनाको जानकारी पाउने बित्तिकै याङ्चु प्रहरीचौकीबाट ५ जनाको टोली घटना स्थलमा हिडेको छ ।
टोली पुगेपछि मात्रै घटनाको विस्तृत जानकारी हुने श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ २०:३९