काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा राख्ने नामहरू सचिवालय बैठकमा प्रस्तुत गरेका छन्।
ओलीले प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराललाई राखिएको छ, भने हुम्लाबाट कर्णाली प्रदेशका निवर्तमान इन्चार्ज गोरखबहादुर बोगटीको नाम समावेश गरिएको छ । अध्यक्ष ओलीले प्रस्ताव गरेका नामहरूमा हुम्लाबाट बोगटीको नाम सिफारिस भएको हो । आज बसेको सचिवालयको बैठकमा अध्यक्ष ओलीले पेश गरेको लिष्टलाई केही परिमार्जनसहित सोमबार आयोगमा बुझाउने एमालेको तयारी छ।
केन्द्रीय सचिवालयको बैठकमा पूर्व उपाध्यक्ष बराल, सचिव पद्मा अर्याल,अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व ।अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश भएको हो। सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ।
यसैबीच सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्ने बताएका थिए।
विस्ट र भट्टराईले पार्टीमा एकता कायम गर्न ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्नेमा जोड दिएका हुन्। ‘समानुपातिक छान्दा मापदण्ड बनाऔं, योग्यता, क्षमता, क्रियाशीलता मानक राखौं,’ उनीहरूले भने।
एमालेको ११औँ महाधिवेशनपछि आइतबार पहिलो पटक सचिवालय बैठक बसेको हो। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२ २२:०३