काठमाडौं । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ ।
निर्वाचनको माहोल बढेसँगै राजनीतिक दलहरूबीच ध्रुवीकरण तीव्र बनेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच सोमबार एकतासम्बन्धी सात बुँदे सहमति भएको छ ।
परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुवै दल एकतामा सहमत भएका हुन् । सहमति-पत्रमा पछिल्ला राजनीतिक घटनाक्रम, विशेष गरी भदौ २३ र २४ मा भएको ‘जेन-जी’ आन्दोलनसहित विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको मर्म आत्मसात् गर्ने उल्लेख छ ।
घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ । सहमतिअनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यता प्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ । गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक-सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ ।
एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साबिककै नीलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र नीलो रङको घण्टीको आकृति रहनेछ भने चुनाव चिन्ह पनि घण्टी नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति गरिएको छ ।
सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनुहुने छ । उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ । यससँगै कुलमान घिसिङ औपचारिक रूपमा रास्वपाको नेतृत्व तहमा समेटिनु हुनेछ । उज्यालो नेपालको अभियानलाई अपनत्व दिँदै रास्वपाका कार्यक्रमसँग जोड्ने र एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाइने सहमति भएको छ । उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर पार्टीमा समुचित जिम्मेवारीसहित समायोजन गरिने उल्लेख छ ।
यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । साथै, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने सहमति पनि भएको छ ।
सहमति-पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह साक्षीका रूपमा रहनुभएको छ । यसअघि बालेन पनि रास्वपामा समाहित हुनुभएको थियो । आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन साहबीचको सात बुँदे सहमतिले राजनीति तरंगित भएसँगै दलहरूबीच ध्रुवीकरण सुरु भएको हो । २०७९ सालको निर्वाचनपछि निरन्तर चर्चामा रहेका लामिछाने र बालेनको मिलनले मुख्य गरी नयाँ राजनीतिक दल र मधेसकेन्द्रित राजनीतिक दलहरूमा एकताको क्रम बढी देखिएको छ ।
नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता
नेपाली कम्युनिष्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणसम्बन्धी सहमति(पत्रमा हस्ताक्षर भएको छ । सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता गर्ने सहमति भएको हो । एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र चुनाव चिन्ह तारा हुने सहमति भएको छ ।
सहमति-पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै विविधतामा एकतालाई राष्ट्रिय विशेषता भनिएको छ । सहमतिअनुसार दुवै पार्टीले विगतका कमजोरी सच्याउँदै संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् । साथै, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समितिलगायत सम्पूर्ण संरचना आपसी सहमतिमा नेकपामा समायोजन गरिने छ । उक्त सहमतिमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
एकताका नाममा फुट्यो अशोक राईको जसपा
पार्टी एकताका नाममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० विभाजित भएको छ । जसपाकी सह(अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँगको एकीकरणमा जोडिएका छन् । अर्थात् अब पुरानै पार्टीमा फर्किएका छन् । जसपाकी सह(अध्यक्ष यादव र जसपा नेपालका अध्यक्ष यादवबीच सोमबार पार्टी एकीककरणका लागि सम्झौतामा हस्ताक्षर भएको छ । दुवैले गरेको सम्झौता पत्रमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह(अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूसहित जसपा नेपाल पार्टीसँग एकीकरण गरियो ।’ अध्यक्ष राई नेकपा एमालेसँग एकता गर्न लागेपछि नेताहरू बिच्किएका थिए । राई एमालेमा फर्किने संवादतिर लागेपछि मधेसवादी नेताहरूले यादवसँग वार्ता गरेर पुरानै घर फर्किएका हुन् । मधेसवादी दलसँग एकता गर्ने कि कम्युनिष्ट पार्टीसँग एकता गर्ने विषयमा नेताहरू दुई धारमा विभाजित थिए । यही कारण अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको हो ।
गत वैशाखमा अशोक राई र उपेन्द्र यादवबीच टकराव हुँदा जसपा नेपालबाट फुटेर अशोक राईले जसपा गठन गर्नुभएको थियो । दुई पार्टीको एकतापछि जसपामा फर्किएका नेताहरूमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतोसहित छन् । अहिले राई भने एमालेसँग निरन्तर संवादमा रहनुभएको छ ।
जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानसँग पनि राई सम्पर्कमा रहनुभएको छ । राई एमालेमा फर्किने करिब निश्चित भएको नेताहरूले दाबी गरेका छन् । आइतबार साँझ उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादीबीच पार्टी एकीकरणको घोषणा भइसकेको छ । निर्वाचन नजिकिएसँगै तराई मधेसका मुख्य दलहरू एकता प्रक्रियामा जोडिएका छन् । यसअघि राजेन्द्र श्रेष्ठ सहितका नेता जसपाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए ।
मधेसमा फेरि उपेन्द्र यादवको उदय
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा मधेसका विभिन्न पार्टी र समूहहरू एकीकृत हुने क्रम बढ्दै गएको छ । गएको पाँच दिनमा मात्रै अध्यक्ष यादव नेतृत्वको पार्टीमा मधेसका तीनवटा पार्टी र समूहहरू एकीकृत भइसकेका छन् । यसले मधेसमा फेरि उपेन्द्र यादव शक्तिमा आउने सम्भावना बढेको छ ।
पुस ९ गते यादव नेतृत्वको जसपा नेपाल र स्वाधीन मधेस जनअभियानबीच कार्यगत एकताको सहमति भएको थियो । आइतबार लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको सहमति गर्नुभएका यादवले सोमबार मात्रै अशोक राई नेतृत्वको जसपाका केही प्रभावशाली नेतालाई आफ्नो दलमा भित्र्याउनुभएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग पनि एकताको लागि छलफल चलिरहेको जसपा नेपालका सञ्चार विभागका सचिव महेश चौरसियाले जानकारी दिनुभएको छ ।
२०७९ सालको निर्वाचनमा सप्तरी-२ बाट सांसदमा पराजित भएपछि यादवलाई राजनीतिमा ठूलो धक्का लागेको थियो । तर, सप्तरीबाट पराजित भए पनि यादवले उपनिर्वाचनमा चुनाव जित्नुभएको थियो । उपनिर्वाचनमा विजयी बनेपछि भने यादवको लागि फेरि सत्ताको ढोका खुलेको थियो ।
अशोक राई र राजेन्द्र महतो जाँतो चिन्हबाट चुनाव लड्ने
जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय मुक्ति पार्टी (रामुपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले एउटै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने भएका छन् । तीनै दलले नाउपा नेपालको जाँतो चिन्हबाट चुनाव लड्ने सहमति भएको हो । एउटा समूह नेपाली कम्युनिष्ट पार्टी र अर्को समूह जसपा नेपालमा फर्किएपछि जसपामा अध्यक्ष अशोक राईको समूह मात्र बाँकी रहेको थियो । राईले राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरीको नाउपा नेपालसँगै मिलेर चुनाव लड्ने सहमति गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२ ०६:२६