काठमाडौं । एमालेले आसन्न निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ । संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाएको एमाले अरु दलभन्दा अघि बढेर घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएर निर्वाचनमा होमिएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले औपचारिक रुपमा निर्वाचनमा जाने निर्णय गरेको हो ।
सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु ईश्वर पाखेरल, प्रदीप ज्ञवाली र सदस्यसचिव विष्णु रिमाल रहेको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ ।
त्यस्तै, निर्वाचनमा परिचालन कमिटीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा र सदस्यहरुमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी छन् ।
एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इन्चार्ज तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इन्चार्ज तोकिएको छ । बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ ।
त्यस्तै, ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । ‘बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेको छ,’ उपमहासचिव लेखराज भट्टले भने, ‘निर्वाचनमा खेलेको भूमिकाका आधारमा आगामी जिम्मेवारी निर्धारण गरिनेछ ।’
सचिव राजन भट्टराईले शान्ति सुरक्षा नाजुक रहेको उल्लेख गर्दै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । तर एमाले निर्वाचन कार्याक्रमअनुसार अघि बढेकाले चुनावको तयारीमा लागेको उनको भनाइ छ । ‘हामी चुनावमा जाने नै हो । अब चुनावी तयारीमा जुट्यौं । तर पनि अहिलेको राजनीतिलाई सही ट्र्याकमा ल्याउन संसद् पुननर्स्थापनाको मुद्दा कायम राखेका छौं,’ उनले भने, ‘वीरगन्जनलगायत क्षेत्रमा सुरक्षा चुनौती देखिएको छ । सरकारले वातावरण बनाउन सकेको छैन । निर्वाचन वातावरण बनाउनैपर्छ ।’
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२ १९:०२