सिमकोट । आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै भन्दा बढि मतदाता सर्केगाड गाउँपालिका वडा नम्बर १ बाट मतदान गर्ने भएका छन् ।
४४ वटा वडा भएको हुम्लामा सबैभन्दा बढि एक हजार ३ सय ६३ मतदाताले मतदान गर्ने भएका छन् । देवल प्राथमिक विद्यालय तुम्च र सरस्वत्ति माध्यमिक विद्यालय जैर गरेर दुई वटा मतदान केन्द्र भएको सर्केगाड १ बाट ७ सय २६ पुरुष र ६ सय ३७ महिला मतदाताले मतदान गर्ने भएका छन् । यसैगरी जिल्लाका सबै वडा मध्ये सबै भन्दा कम २ सय ४२ मतदाताले चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्काबाट मतदान गर्ने भएका छन् । डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट १ सय २२ पुरुष र १ सय २० महिला मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा हुम्लाका ४४ वडामा सबै भन्दा बढि सर्केगाड गाउँपालिका १ र सबैभन्दा कम चंखेली गाउँपालिका ५ बाट मतदाताले मतदानमा सहभागि हुने भएका छन् ।
जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडामार्फत मतदान गर्ने कूल मतदाताको संख्या ३४ हजार ३ सय ७२ रहेको जानकारी दिनु भएका निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले जिल्लाका ६ वटा वडामा एक हजार भन्दा माथिको संख्यामा मतदाताले मतदान गर्ने जानकारी दिए । उनका अनुसार सिमकोट गाउँपालिका २ को रामदेव माध्यमिक विद्यालयबाट एक हजार ८८, सिमकोट ७ को कर्णाली माध्यमिक विद्यालय चौगनफया र कैलास माध्यमिक विद्यालय डाँडाफयाबाट एक हजार २ सय ८३ र सिमकोट ८ सैपाल माध्यमिक विद्यालय स्याँडाबाट एक हजार ९७ मतदाताले मतदानगर्न पाउने भएका छन् ।
यसैगरी खार्पुनाथ गाउँपालिका १ को मालिका माध्यमिक विद्यालय र मान्धारा माध्यमिक विद्यालयबाटएक हजार भन्दा बढि मतदाताले मतदान गर्न पाउने भएका छन् । मालिका माविबाट एक हजार ६३ जना र मान्धारा माविबाट एक हजार ९५ जना मतदाताले मतदान गर्ने भएका हुन् ।
एक हजार बाढि मतदाता भएको अर्को वडा ताँजकोट गाउँपालिका ३ हो । र्कलास आधारभबुत विद्यालय थापागाउँ, वानादेव आधारभुत विद्यालय मासपुर र रामदेव आधारभूत विद्यालय रामागाउँ गरी ३ मतदान केन्द्र भएको ताँजकोट ३ बाट एक हजार एक सय ४३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।
आगामी निर्वाचनमा अदानचुलीबाट ४ हजार ८ सय ८९, खार्पुनाथबाट ४ हजार १ सय ६९, चंखेलीबाट ३ हजार ६ सय ८०, ताँजकोटबाट ३ हजार ८ सय ६९, नाम्खाबाट ३ हजार ५ सय २५, सर्केगाडबाट ६ हजार ९ सय ८१ र सिमकोटबाट ७ हजार २ सय ५९ गरेर ३४ हजार ३ सय ७२ जना मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी जगदिश शाहीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२ १७:५७