काठमाडौं । ‘प्रचण्ड अब प्रचण्ड रहेन’, सात महिनाअघि भदौ १४ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीकारको कुरा हो यो।
दलित मुक्ति मोर्चाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पहिलेको जस्तो प्रचण्ड अहिले नरहेको भन्दै फेरि देशमा २०६४ सालको जस्तो प्रचण्ड फर्काउने सपना देखेका थिए। र, भनेका थिए– ‘अब माओवादीलाई पहिलो शक्ति बनाउनुपर्छ।’
जतिबेला प्रचण्डले नेकपा (माओवादी केन्द्र)को नेतृत्व गरिरहेका थिए। तर संयोग यस्तो भइदियो माओवादीलाई पहिलो शक्ति बनाउने सपना देखेको हप्ता दिन (भदौ २३ र २४ गते)मै देशमा जेनजी आन्दोलन भयो।
त्यसपछि देशमा उछाल आयो। प्रचण्डले अन्य पार्टीसँग एकता गर्दै माओवादीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा रुपान्तरण गरे। चुनावमा गए।
तर उनी न त २०६४ सालको जस्तो प्रचण्ड बने। न त पार्टीलाई पहिलो शक्ति बनाएर देशलाई हाँक दिन सक्षम भए। बरु उनी फागुन २१ गते भएको चुनावबाट इतिहासकै कमजोर बनेर संसद छिरेका छन्।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनबाट करिब दुई तिहाई सिटसहित उनी संसद पुगेका थिए। गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए।
माओवादी नामले सत्तायात्रा थालेको २० वर्षमा गठन भएका १४ सरकारमध्ये ११ वटामा सहभागी बन्यो यो दल। तर माओवादी २० वर्षमा कमजोर बन्दै जाँदा विघटनको डिलमा पुगेको छ।
अहिले उनी चौथो दल बनेर संसदमा पुगेका छन्। २०६४ मा २२६ जना सांसदको दलबलसहित संसद पुगेर सत्ता सम्हालेका उनले दुई दशकपछिको संसदमा उनको उपस्थिति मात्र १७ जनामा खुम्चिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामू (१८२ सिट) यसअघि पहिलो, दोस्रो र तस्रो बनेका दलहरू पछाडि ढकेलिएका छन्। जसरी यसपटक कांग्रेस मात्र ३८ सिटसहित दोस्रो, एमाले २५ सिटसहित तेस्रो बन्यो, त्यसैगरी माओवादीको लिगेसी बोकेको प्रचण्ड नेतृत्वको नेकपा चौथो बनेको छ।
२० वर्षमा १४ सरकार, माओवादी तीन पटकमात्र सत्ता बाहिर
माओवादीले सत्तायात्रा सुरु गरेको दुई दशक पुगेको छ। २०५२ फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्ध सुरु गरेर दश वर्षपछि २०६३ मंसिर ५ गते शान्ति सम्झौता (१२ बुँदे) गरेर माओवादी संसदीय राजनीतिमा लागेको थियो।
२०६४ चैत्रमा पहिलोसंविधानसभाको निर्वाचन हुनुअघि नै प्रचण्ड नेतृत्वको माओवादी संसदीय राजनीति र सत्तायात्रा पनि सँगसँगै गरेको थियो। यसपछि २० वर्षमा १४ वटा सरकार बने।
ती १४ सरकारमध्ये तीनवटाबाहेकमा माओवादी सबै सरकारमा सहभागी भएको छ। १२ बुँदे सम्झौता गरेर आएलगत्तै २०६३ चैत्रमा गिरिजाप्रसाद कोइरा नेतृत्वको अन्तरिम सरकारमा माओवादी सहभागी भएको थियो।
त्यसबेला कृष्णबहादुर महराको नेतृत्वमा माओवादीले सरकारमा मन्त्री पठाएको थियो। यो नै दश वर्षे सशस्त्र युद्ध रोकेर माओवादी पहिलोपटक सत्ता र संसदीय राजनीतिमा लागेको समय हो।
त्यसपछि माओवादीको सत्तायात्रा झाँगिएको थियो।
२०६५ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले दुई तिहाइ नजिकको बहुमत ल्याएपछि पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने। तर उनको नेतृत्वको सरकार नौ महिनामा ढल्यो।
प्रचण्ड २०६५ भदौ २ गतेदेखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री बनेका थिए।
त्यसपछि एमालेका तत्कालीन महासचिव माधव नेपाल प्रधानमन्त्री बने। उनको आठ महिने सरकारमा माओवादी सरकारमा सहभागी भएन। प्रतपक्षीमा बनेको माओवादी २०६७ माघ २३ गते तत्कालीन एमाले नेता झलनाथ खनालको सरकारमा फेरि सहभागी भयो।
खनाल नेतृत्व सरकार सात महिना मात्र टिक्यो। उनको सरकार ढालेर माओवादीले तत्काली माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा २०६८ भदौमा अर्को सरकार बनायो।
प्रचण्डदेखि बाबुराम प्रधानमन्त्री बन्दा पनि संविधान बनाउन नसकेपछि दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षमा सरकार बनायो। उनको सरकारमा पनि माओवादीले मन्त्री पठाएको थियो।
रेग्मीले दोस्रो संविधानसभा निर्वाचन बनाए। २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादी एकैपटक पहिलोबाट तेस्रो बनेको थियो। यसबेला नेकपा माओवादी नेकपा एकीकृत माओवादी बनेको थियो।
माओवादीको संसदीय राजनीतिको ओरालो यात्रा यहीँबाट सुरु भएको हो। माओवादी मात्र ८० सिट ल्याउँदै तेस्रो बन्यो। त्यसपछि तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने। माओवादी दोस्रोपटक सत्ता बाहिर रह्यो।
दुई वर्षजति सत्ता बाहिर बसेको माओवादी त्यसपछि २०७२ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनायो र सत्तामा पुग्यो। ओलीकै नेतृत्वमा संविधान निर्माण भयो। देशले भारतीय नाकाबन्दी खेप्यो। भूकम्पको सामाना पनि गर्यो।
तर आम निर्वाचन केपी ओलीको नेतृत्वमा हुन पाएन। उनको सरकार वर्षदिन (२०७२ असोजदेखि ०७३ साउनसम्म) चल्यो। त्यसपछि प्रचण्ड ओली सरकार ढाल्दै कांग्रेसको समर्थमा आफै प्रधानमन्त्री बने।
उनी २०७३ साउनदेखि २०७४ जेठसम्म १० महिना प्रधानमन्त्री भएर ओलोपालोको सहमति अनुसार उनले प्रधानमन्त्री छाडे। त्यसपछि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्यो।
देउवाकै नेतृत्वमा आम निर्वाचन भयो।
तर २०७४ मा भएको आम निर्वाचनमा बाम गठबन्धन भन्दै माओवादी र एमाले एक ठाउँ भए। उनीहरूले चुनावी गठनबन्धन गरे। त्यतिबेला सत्तामा भएको माओवादीले प्रतिपक्षीसँग गठबन्धन गरेको भनेर प्रचण्डको आलोचना भएको थियो।
निर्वाचनपछि २०७४ फागुनमा माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री बने। एमाले र माओवादीबीच २०७५ जेठमा एकता भयो र नेकपा बनाइयो।
तर उनीहरूको एकता आन्तरिक पार्टी विवादका कारण धेरै जान सकेन। यहीबीचमा ओलीले दुई पटक (२०७७ पुस ५ र २०७८ जेठ ७ गते) संसद विघटन गरे। तर दुई पटक अदालतले उनको विघटन उल्ट्याइदियो।
पार्टीभित्र विवाद हुँदा एमाले फुट्यो। माधव नेपालहरू एकिकृत सामाजवादी बनाएर छुट्टै पार्टी बनाए। अहिले उनीहरू प्रचण्ड नेतृत्वको नेकपामा छन्।
ओलीको दुई पटक संसद विघटन अदालतले उल्ट्याएपछि २०७८ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बने। उनको सरकारमा पनि प्रचण्ड सहभागी भए।
देउवाकै नेतृत्वमा २०७९ मा दोस्रो आम निर्वाचन भयो। कांग्रेस पहिलो दल बन्दा एमाले दोस्रो र माओवादी तेस्रो दल बन्यो। तेस्रो दल भए पनि प्रचण्ड २०७९ पुसमा तेस्रोपटक प्रधामन्त्री बने।
तर उनको नेतृत्व सरकार पूरा कार्यकाल जान सकेन। २०८१ असारमा प्रचण्डको सरकार ढाल्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने। सरकार ढाल्नुअघि प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेलाई सरकारमा सहभागी बनाएका थिए।
यसरी २० वर्षमा १४ सरकारमा सहभागी भएको माओवादी अहिले चौथो शक्तिकारुपमा संसदपुगेको छ। त्यो पनि माओवादी नाम छाडेर। यसरी भन्दा अहिले माओवादी संसदमा छैन।
तर बिहीबार सांसदको सपथ लिँदै प्रचण्डले आफूहरूले हारे पनि आफैले जितेसरह रहेको प्रतिक्रिया दिएका छन्। सिंहदरबारमा शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्ड भने– ‘गणतन्त्र अन्तर्गत जसले जिते पनि प्रचण्डले जितेको हुन्छ।’
माओवादी छाड्दै नेकपामा पुगेपछि उनीसँग अब माओवादीको लिगेसीसमेत सकिएको छ। माओवादी नाम जोडेर अनेक पार्टीहरू छन्। तर ती पार्टीहरू खोज्दा पनि नभेटिने अवस्थामा छन्।
२०६५ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए।
२०६६ मा माधव नेपाल प्रधानमन्त्री भए। माओवादी प्रतिपक्षीमा रह्यो।
२०६७ मा झलनाथ खनाल प्रधानमन्त्री भए माओवादी पनि सत्तामा सहभागी भयो।
२०६८ मा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भए।
२०६९ मा खिलराज रेग्मी मन्त्रीपरिषद् अध्यक्ष भएर निर्वाचन गराए। रेग्मीको नेतृत्वमा पनि माओवादीले मन्त्री पठायो।
२०७० मा सुशील कोइराला प्रधानमन्त्री भए। माओवादी प्रतिपक्षीमा रह्यो।
२०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री भए। माओवादी सत्तामा सहभागी भयो।
२०७३ मा प्रचण्ड आफै प्रधानमन्त्री भए। कांग्रेसले साथ दियो।
२०७४ मा शेरबहादुर देउवा प्रधानमन्त्री भए। माओवादीले साथ दियो।
२०७४ मा केपी ओली प्रधानमन्त्री भए। माओवादीले साथ दियो।
२०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भए। प्रचण्डले साथ दिए।
२०७९ मा प्रचण्ड प्रधानमन्त्री भए। कांग्रेसले साथ दियो।
२०८१ मा केपी ओली प्रधानमन्त्री भए। प्रचण्ड प्रतिपक्षीमा रहे।
मृग गतिमा माओवादीको ओरालो यात्रा
मृग दौडिएपछि सामान्यतया अन्य जनावरले भेटाउन सकिँदैन भन्ने गरिन्छ। गएको २० वर्षमा माओवादी अर्थात नेकपाको ओरोला यात्रा पनि मृगकै गतिमा भइरहेको छ।
२०६४ चैत्रमा भएको पहिलो संविधान सभा निर्वाचनमा २२६ सिट ल्याउँदै संसदमा ठूलो मात्र होइन, शक्तिशाली बनेर माओवादी पुगेको थियो। त्यसैलाई सम्झिँदै प्रचण्ड भन्ने गर्छन्– प्रचण्ड अब प्रचण्ड रहेन।
२२६ सिट अर्थात बहुमत त माओवादीका लागि सम्झनामा मात्र भइदिएको छ। त्यसपछिका कुनै पनि निर्वाचनमा ओवादी पहिलो दल पनि बन्न सकेन।
२०६४ मा माओवादी पहिलो दल बन्दा कांग्रेस १०९ सिटसहित दोस्रो भएको थियो। एमाले १०३ सिटसहित तस्रो बन्यो। त्यसपछि कांग्रेस र एमाले प्रतिष्पर्धामा रहे।
तर माओवादी प्रतिष्पर्धी दलसमेत बन्न सकेन। २०७० मा माओवादी ८० सिट ल्याउँदै तस्रो बन्यो। यससमयमा कांग्रेस २०४ सिट ल्याउँदै आफूलाई पुनः संसदीय राजनीतिमा बढिलो बनायो। एमालेले १७५ सिट ल्याएको थियो।
२०७४ मा दुई कम्युनिष्ट एमाले र माओवादीबीच गठबन्धन हुँदा दुई पार्टीलाई फाइदा भएको थियो। मतदाताले उनीहरूलाई करिब दुईतिहाइ बहुमत दिएका थिए।
एमालेले १२१ सिट जित्दै पहिलो बन्यो। कांग्रेस ६३ सिट ल्याउँदै दोस्रो भयो र माओवादी तेस्रो बनेको भए पनि ५१ सिट प्राप्त गरेको थियो।
२०७९ मा कांग्रेस ७९ सिटसहित फेरि पहिलो दल बन्यो। एमाले ७८ सिटमा खुम्चदा माओवादी ३२ सिटमा झरेको थियो।
२० वर्षमा कांग्रेस र एमालेले आफूलाई संसदमा पुन शक्तिका रुपमा उदाउन सक्ने सम्भावनालाई यथावत राखे पनि माओवादीको त्यो सम्भावना देखिदैन।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२ १९:००