काठमाडौं । नेकपा एमाले पुर्नगठनको पक्षमा सचिवालय भित्र बहुमत देखिएको छ ।
आज (शनिबार)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका छन् । अहिलेसम्म बोलेका नेतामध्ये ओलीको बचाउमा उपाध्यक्ष बादल र सचिव महेश बस्नेतमात्र खुलेका छन् ।
आज बोलेका पदाधिकारीमध्ये बस्नेतबाहेक सबैले पार्टी यथास्थितिबाट नचल्ने भन्दै निकासका लागि मार्ग प्रशस्त गरेरै अघि बढ्नुपर्ने ओलीलाई सुझाएका छन् ।
महासचिव शंकर पोखरेलले पनि यसरी नै पार्टी अघि बढाउन नसकिने भन्दै समीक्षा गरेर कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिने गरी अध्यक्षलाई निकास दिनुस् भनेर आग्रह गरेको एक पदाधिकारीले बताए ।
अब भोलि बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले कुरा राख्ने ती पदाधिकारीले बताए ।
ती पदाधिकारीले नेपाल प्रेससँग भने, ‘अधिकांशको लाइन अध्यक्षज्यूले मार्ग प्रशस्त गरेरै अघि बढ्नुपर्छ भन्ने छ । अहिलेसम्म बादल र महेश कमरेडमात्र उहाँसँग दरिलोसाथ उभिनुभयो । बोल्नेहरूले प्रस्तुति फरक होला तर पार्टी यसरी नचल्ने बताएका छन् । अब बोल्न बाँकी ४ जनाको पनि करिबकरिब लाइन त्यस्तै बुझिन्छ ।’
हिजो पहिलो दिन कुरा राखेका ५ उपाध्यक्षमध्ये ४ जनाले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने सुझाएका थिए । आज बैठक सुरू हुनुअघि महासचिव शंकर पोखरेलले आफूनिकटका पदाधिकारीसँग छलफल गरेर आफ्नो लाइन दिएको स्रोतको भनाइ छ ।
१९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने पक्षमै एकमत देखिएका छन् ।
गत मंसिरमा आफूले अघि सारेका पदाधिकारीहरू नै अहिले ‘सरप्राइज’ दिने गरी बहिर्गमन दिएपछि ओली केन्द्रीय कमिटीमा बहुमत पुर्याउने रणनीतिमा देखिएका छन् । उनले हिजोको बैठकमा केन्द्रीय कमिटीमा छलफल गर्न सकिने बताएका थिए ।
अध्यक्ष ओलीले भनेः म भोलि बोल्छु
सचिवालयमा एकपछि अर्का पदाधिकारी आफूविरुद्ध खुलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको दोहोर्याएका छन् ।
हिजो आफ्नै भनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीले आज विरोधीसँग मिलेर पार्टी सक्न खोजिएको बताए । उनले आफ्ना कुरा भोलि सम्बोधनमा राख्ने बताएका छन् ।
एक नेताले भने, “उहाँले बीचबीचमा बोल्नुभयो । कडै छ कुरा । तपाईँहरूको कुरा सुनिरहेको छु । भोलि म बोल्छु भन्नुभएको छ ।’
हिजोदेखि चलेको बैठकमा बहुमत पदाधिकारीले एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मेवारीसहित राजीनामा दिएर नेतृत्व हस्तान्तरणको बाटोमा जान सुझाएका छन् । हिजो बैठकमा चर्काचर्कीसमेत भएको थियो ।
नेताहरूको कार्यविभाजन प्रस्तावको मूल एजेण्डा राखिएको सचिवालय बैठक पार्टी पुनर्गठनमा केन्द्रित भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३ १९:५९