काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको आर्टेमिस(२ मिसनको टोली शुक्रबार सफलतापूर्वक पृथ्वीको कक्ष पार गरी चन्द्रमातर्फ प्रस्थान गरेको छ ।
यो मानव जातिको गहिरो अन्तरिक्ष अन्वेषणमा पुनरागमनको एक ऐतिहासिक कदम मानिएको छ । सन् १९७२ को अपोलो १७ अभियानपछि पहिलोपटक मानव जाति पृथ्वीको तल्लो कक्ष छोडेर बाहिर निस्किएको हो ।
नासाका अनुसार, ओरियन स्पेसक्राफ्टले ‘ट्रान्सलुनार इन्जेक्सन बर्न’ नामक महत्त्वपूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । यस प्रक्रियामा अन्तरिक्षयानको मुख्य इन्जिनलाई करिब ६ मिनेटसम्म प्रज्वलन गरी चालक दललाई पृथ्वीको गुरुत्वाकर्षण प्रभावबाट बाहिर धकेलेर चन्द्रमाको मार्गमा पठाइएको छ ।
उडान भरेको २५ घण्टापछि ओरियन स्पेसक्राफ्टको इन्जिन सफलतापूर्वक फायर गरिएको थियो, जसले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीको कक्षबाट बाहिर धकेलेर चन्द्रमातर्फको मार्गमा पठाएको थियो ।
इन्जिन प्रज्वलनले करिब ६ हजार पाउण्ड थ्रस्ट उत्पन्न गरेको थियो, जसले स्पेसक्राफ्टलाई सटिक मार्गमा डोर्याएको छ । ५ मिनेट ४९ सेकेन्ड लामो यो प्रक्रिया सफल भएसँगै, अपोलो १७ पछि पहिलोपटक अन्तरिक्षयात्रीहरू चन्द्रमाको यात्रामा निस्किएका हुन् । यो अभियानले सन् १९७० मा अपोलो १३ ले बनाएको ‘पृथ्वीबाट सबैभन्दा टाढा पुगेका मानव’को कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ ।
नासाले आर्टेमिस–२ अभियान योजनाअनुसार अघि बढिरहेको जनाएको छ । बिहीबार साँझ पृथ्वीको सतहबाट करिब ११५ माइल माथि उडिरहेको बेला उक्त इन्जिन करिब ५ मिनेट ५० सेकेन्डसम्म प्रज्वलन गरिएको थियो ।
नासाका प्रशासक जारेड आइस्याकम्यानले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “ट्रान्सलुनार इन्जेक्सन बर्न सफल भयो । आर्टेमिस–२ को टोली आधिकारिक रूपमा चन्द्रमातर्फको मार्गमा छ । अमेरिका फेरि चन्द्रमामा अन्तरिक्षयात्री पठाउने काममा फर्किएको छ । र, यस पटक पहिलेभन्दा अझ टाढा पुग्नेछ ।”
यस ऐतिहासिक टोलीमा नासाका अन्तरिक्षयात्रीहरू रीड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सेन रहेका छन् ।
यस अभियानका सहभागीहरूले उडानसँगै इतिहास रचेका छन् । भिक्टर ग्लोभर चन्द्रमातर्फ जाने पहिलो अश्वेत व्यक्ति हुन् भने क्रिस्टिना कोच चन्द्रमातर्फ जाने पहिलो महिला हुन् । जेरेमी ह्यान्सेन चन्द्रमाको यात्रा गर्ने पहिलो गैर–अमेरिकी क्यानेडियन नागरिक बनेका छन् ।
मिसन कमान्डर रीड वाइजम्यानले अन्तरिक्षबाट सन्देश दिँदै भने, “चार मानवलाई करिब दुई लाख ५० हजार माइल टाढा पठाउनु एक विशाल प्रयास हो र हामी अहिले यसको गम्भीरता महसुस गर्दैछौँ । हामी पूर्ण रूपमा चन्द्रमातर्फको मार्गमा छौँ ।”
पाइलट भिक्टर ग्लोभरले पृथ्वीको दृश्य हेर्दै भने, “यहाँबाट हेर्दा हामी सबै एउटै देखिन्छौँ( हामी सबै ‘होमो सेपियन्स’ हौँ ।”
अब यो क्याप्सुलले चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गर्दै ‘स्लिङसट’ गर्नेछ । यसले चन्द्रमाको पछाडिको भाग फन्को मारेर पुनः पृथ्वीतर्फ फर्किनेछ र करिब आठ दिनपछि सान डिएगो नजिकै प्रशान्त महासागरमा अवतरण गर्नेछ ।
यो परीक्षण उडान भएकाले केही साना प्राविधिक समस्या पनि देखिएका छन् । सुरुआतमै ओरियनको शौचालयमा समस्या देखिएपछि क्रिस्टिना कोचले मर्मत गरिन् । खानेपानी प्रणालीमा देखिएको भल्भ समस्याका कारण चालक दलले आपतकालीन रूपमा पानी भण्डारण गर्नुपरेको थियो ।
इन्जिन प्रज्वलनअघि क्याबिनमा हावा चुहावटको ‘फल्स अलार्म’ बज्दा केही समयका लागि चिन्ता उत्पन्न भए पनि ग्राउन्ड कन्ट्रोलले त्यसलाई प्राविधिक त्रुटि मात्र भएको पुष्टि गरेको थियो ।
नासाकी लोरी ग्लेजले यो परीक्षण उडान भएको र यस्ता साना समस्याबाट सिकेर भविष्यका मिसनहरू सुधार गरिने बताएकी छन् । केनेडी स्पेस सेन्टरबाट स्पेस लन्च सिस्टममार्फत प्रक्षेपण गरिएको यो मिसन करिब १० दिनको हुने बताइएको छ ।
चन्द्रमाको नजिक पुग्दा टोलीले करिब ६ हजार ४०० किलोमिटर दूरीसम्म नजिकबाट अवलोकन गर्दै तस्बिरहरू लिनेछ । साथै, उनीहरूले अन्तरिक्षबाट ‘पूर्ण सूर्य ग्रहण’को दुर्लभ दृश्य पनि अवलोकन गर्नेछन् ।
ओरियन स्पेसक्राफ्टले चन्द्रमालाई फन्को मार्दै भविष्यमा मानव अवतरणका लागि आवश्यक प्रणालीहरूको परीक्षण पनि गर्नेछ । यो क्याप्सुल पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षणमा आधारित ‘अंक ८’ आकारको मार्ग हुँदै पुनः अप्रिल १० मा पृथ्वीमा फर्किनेछ ।
यो परीक्षण सफल भएमा नासाले सन् २०२८ सम्ममा चन्द्रमाको सतहमा पुनः मानव अवतरण गराउने र स्थायी आधार शिविर स्थापना गर्ने योजना अघि बढाउने जनाएको छ ।
एजेन्सीहरूबाट
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२ १७:३७