रोयटर्स । सामाजिक सञ्जाल कम्पनी ‘मेटा’ले बालबालिकालाई आफ्ना प्लाटफर्ममा लत लगाएर मानसिक स्वास्थ्यमा हानि पुर्याएको आरोपसम्बन्धी मुद्दा सुल्झाउन ठूलो रकम तिर्ने सहमति गरेको छ ।
द न्युयोर्क टाइम्सका अनुसार फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लाटफर्मको प्यारेन्ट कम्पनीले अमेरिकी राज्यहरूसँग १७।१ अर्ब डलरसम्म जरिवाना तिर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौतामा ४७ राज्य, डिस्ट्रिक्ट अफ कोलोम्बिया र अन्य अमेरिका नियन्त्रित क्षेत्र सहभागी छन् । बालबालिका तथा किशोर–किशोरीलाई जसरी पनि आफ्ना प्लाटफर्ममा अड्याइराख्ने, निरन्तर स्क्रिन खोल्न मन लाग्ने वा सोसल मिडिया नहेरे केही छुटेजस्तो अनुभूति दिलाउने गरी मेटालगायत कम्पनीले सोसल मिडिया प्लाटफर्म डिजाइन गरेको अमेरिकी राज्यहरूको आरोप छ । उनीहरूका अनुसार मेटाले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा पुगेको क्षतिको बेवास्ता गरेको थियो । अदालतका न्यायाधीश भोन गोन्जालेज रोजर्सले यस सम्झौतालाई स्वीकृत गर्ने अपेक्षा गरिएको छ । सम्झौता गरे पनि मेटाले आफ्नो गल्ती भने स्विकारेको छैन ।
बीबीसीको रिपोर्टअनुसार सम्झौताअन्तर्गत मेटाले जरिवाना तिर्ने मात्र नभई किशोर प्रयोगकर्ताका लागि नयाँ नियम लागू गर्नुपर्नेछ । यसमा दैनिक समयसीमा लागू गर्नेदेखि रात्रिकालीन प्रतिबन्धसमेत छन् । विद्यालय समयमा फेसबुक, इस्टाग्रामजस्ता एपमा पहुँच सीमित गर्ने र अभिभावकको नियन्त्रण बलियो बनाउनेजस्ता सुरक्षा उपाय थप्नुपर्नेछ । मुख्य गरी, उमेर प्रमाणीकरण प्रणाली (एज भेरिफिकेसन सिस्टम) लाई पनि कडा बनाउनुपर्ने सर्त प्रस्तावित सम्झौतामा उल्लेख छ ।
मेटाले यो रकम एकै पटक नभई आगामी १० वर्षको अवधिमा किस्ताबन्दीमा बुझाउने र त्यसलाई बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी पहलमा खर्च गरिने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसका लागि मेटाले प्रारम्भिक रूपमा १२ अर्ब अमेरिकी डलर तिर्ने र स्न्याप, टिकटक, युट्युबजस्ता कम्पनी तयार भएमा थप ५।१ अर्ब डलर तिर्ने सहमति भएको छ ।
कम्पनीका प्रमुख कानुन अधिकृत सिजी महोनीले लेखेको ब्लग पोस्टमा युवा प्रयोगकर्ताका लागि सुरक्षित र उत्पादनमूलक वातावरण तयार गर्न मेटा लागिपर्ने र यसका लागि न्यायाधिवक्तासँग मिलेर काम गर्ने उल्लेख छ । ‘यो सम्झौताले अरू कम्पनीहरू पनि सहमतिमा सामेल भए मात्र अपेक्षित काम गर्न सकिनेछ,’ उनले भनेका छन्, ‘किनभने अहिलेका युवाहरू कम समयमै छिटो–छिटो दर्जनौं एपमा समय बिताउने हुनाले कुनै एक कम्पनी मात्र नभई सम्पूर्ण क्षेत्रले नै यसबारे समाधान निकाल्नु उपयुक्त हुन्छ ।’ पछिल्लो तीन महिनामा मेटाले आफ्ना यस्तै खाले कानुनी समस्याको सम्बोधनमा मात्र २ अर्ब अमेरिकी डलर खर्च गरिसकेको न्युयोर्क टाइम्सले जनाएको छ । डीसीका न्यायाधिवक्ता ब्रायन स्वलभले मेटा यस्तो प्रकृतिको कानुनी सम्झौता गर्ने पहिलो कम्पनी भएको तर अन्तिम नहुने बताए । ‘यो डीसी र अमेरिकाभरिका युवाको जनस्वास्थ्यसम्बन्धी विषयमा ऐतिहासिक विजय हो,’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ ११:३३