ऐजेन्सी । चीनको युट्युब मानिने बिलिबिली ले विश्वव्यापी विस्तारको योजना अघि बढाउँदै अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्ने प्रयास थालेको छ।
कम्पनीले यसै साता पहिले बन्द गरिएको अन्तर्राष्ट्रिय एप पुनः सञ्चालनमा ल्याएको छ भने छिट्टै अंग्रेजी भाषाको वेबसाइट पनि सुरु गर्ने तयारी गरेको जनाएको छ। साथै जापान, अमेरिका र युरोपका प्रमुख बजारमा कर्मचारी भर्ती गर्ने योजना पनि सार्वजनिक गरेको छ।
बिलिबिलीले यसअघि नै विश्वका चर्चित पश्चिमी सेलिब्रिटी तथा कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो मुख्य चिनियाँ प्लेटफर्ममा भिडियो पोस्ट गर्न प्रोत्साहन गर्दै आएको छ। विशेषगरी विश्वप्रसिद्ध युट्युबर मिस्टरबिस्टलाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न कम्पनीले विशेष प्रयास गरेको छ। विश्वभरबाट प्रयोग गर्न सकिने चिनियाँ भाषाको यसको मुख्य प्लेटफर्ममा हाल मासिक ३७ करोड ६० लाख सक्रिय प्रयोगकर्ता छन्।
विश्वव्यापी विस्तारलाई थप आक्रामक बनाउने हो भने बिलिबिली युट्युबको विश्वव्यापी प्रभुत्वका लागि चुनौती बन्न सक्छ। तर, यससँगै कम्पनीले सामग्री सेन्सरशिप, कन्टेन्ट मोडरेसन र डाटा सुरक्षासम्बन्धी जटिल प्रश्नहरूको सामना पनि गर्नुपर्ने हुन सक्छ। यस्ता विषयहरू अमेरिकामा टिकटकले वर्षौंसम्म सामना गरेका विवादसँग मिल्दोजुल्दो छन्।
पुनः सञ्चालनमा ल्याइएको नयाँ अन्तर्राष्ट्रिय एपमा अब पहिचान प्रमाणीकरण अनिवार्य छैन। अर्थात् प्रयोगकर्ताले पासपोर्ट वा परिचयपत्र उपलब्ध नगराई पनि खाता खोल्न सक्नेछन्। यसअघि विदेशमा रहेका प्रयोगकर्ताले कम्पनीको मुख्य चिनियाँ प्लेटफर्म प्रयोग गर्न यस्तो परिचयपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था थियो।
विश्वभरका कन्टेन्ट क्रिएटरलाई लक्षित गरी हालै एक्समा खोलिएको बिलिबिलीसँग सम्बन्धित देखिने एउटा नयाँ अकाउन्टले, ‘हो, बिलिबिली अब विश्वव्यापी बन्दैछ’ भन्दै अमेरिकी र चिनियाँ संस्करणमा सामग्रीका हिसाबले समानता रहने जनाएको छ।
बिलिबिली क्रिएटरहरूको डिस्कोर्ड समूहमा हालै साझा गरिएको एउटा प्रस्तुतीकरणमा कम्पनीले आफूलाई इन्फ्लुएन्सरहरूले आम्दानी गर्न र ‘जेन(जी शैलीका, आर्थिक रूपमा सम्पन्न तथा उच्च शिक्षित’ प्रयोगकर्तासँग जोडिन सक्ने प्लेटफर्मका रूपमा प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई ब्रान्डसँग जोडेर प्रायोजित सामग्री बनाउन सहयोग गर्ने छुट्टै बजार प्रणाली पनि विकासको क्रममा रहेको बताइएको छ।
प्रस्तुतीकरणमा क्रिएटरलाई चिनियाँ वेबसाइटमा भिडियो पोस्ट गर्ने तरिकाबारे जानकारी दिँदै अंग्रेजी संस्करण छिट्टै आउँने बताएका छन्। ‘यसका लागि हामी तीव्र रूपमा काम गरिरहेका छौँ’ भिडियोमा भनिएको छ।
कम्पनीले लस एन्जलस, लन्डन, मेक्सिको सिटी, साओ पाउलो, इस्तानबुल र टोकियोमा कम्युनिटी म्यानेजरका लागि कर्मचारी खोजिरहेको छ। त्यस्तै, सिंगापुरस्थित एक रोजगारी विज्ञापनअनुसार बिलिबिलीले विश्वव्यापी स्तरमा एआईद्वारा सञ्चालित कन्टेन्ट मोडरेसन प्रणाली पनि विकास गरिरहेको छ।
संक्षेपमा, चीनमा बलियो उपस्थिति बनाइसकेको बिलिबिली अब अन्तर्राष्ट्रिय बजारमा युट्युबलाई चुनौती दिने महत्वाकांक्षी तयारीमा जुटेको देखिन्छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ ०८:०६