काठमाडौं । यसअघिका प्रधानमन्त्रीले सचिवालयमा आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई भर्ती गरेको भन्दै विरोध गर्दै आएको दल रास्वपाबाट निर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहले पनि त्यही प्रवृत्तिलाई पछ्याएका छन् । उनले मेयरकालीन सचिवालयको टिम र चुनावी अभियानका कार्यकर्तालाई नै नियुक्त गरेका छन् ।
अयसअघिको शासन सञ्चालनमा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख साल्लाहकार विष्णु रिमाल नेतृत्वको टोलीको हालिमुहाली थियो तर अहिले प्रधानमन्त्री बालेन शाहीका सल्लाहकार कुमार व्यञ्जनकार (बेन) नेतृत्वको टोलीकै हालिमुहाली छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो ‘किचन क्याबिनेट’ मा सल्लाहकारको ठूलो समूहलाई जागिर दिएका छन् । असल शासनको दुहाई दिने प्रधानमन्त्री शाहले राज्यकोषबाट तलब लिने गरी आफ्ना निकट र आसेपासेलाई नियुक्त गरेर कसरी सुशासन कायम गर्लान् ? भन्ने प्रश्न अहिले सबैले गर्न थालिसकेका छन् ।
प्रधानमन्त्री शाहले चैत १३ गते शुक्रबार रामनवमीका दिन पद तथा गोपनीयताको शपथ लिए । र, सोही दिन आफ्नो सचिवालय सदस्यहरूको नाम सार्वजनिक गरे । प्रधानमन्त्री शाह शपथ लिएकै दिन पूजापाठ गरीवरी प्रधानमन्त्री निवास बालुवाटार सरिसकेका छन् । सुशासनको दुहाई दिएर कहिल्यै नथाक्ने प्रधानमन्त्रीले राज्यकोषको फुर्मासी गरेको देखिन्छ । प्रधानमन्त्रीले राज्य सञ्चालन गर्दा सरसल्लाह गर्ने भनेको सम्बन्धित मन्त्रीसित होइन र ? सचिवालय बनाउनै परे विषयविज्ञ कर्मचारीबाट बनाउन सकिँदैन ? यसमा दुईवटा समस्या छन्— राज्यकोष दोहन र कार्यकर्ता भर्ती ।
कार्यकर्ता भर्तीले एकातिर प्रधानमन्त्री कार्यालयमा विज्ञताको कमी हुने र अर्कातिर बिचौलिया प्रवृत्तिले प्रश्रय पाउने खतरा रहन्छ । राष्ट्रको कार्यकारीको सचिवालयमा को(को पुग्छन् ? धेरैलाई चासो थियो । जनतासँग प्रत्यक्ष जोडिने भनेकै सचिवालयमा बस्नेहरू हुन् । देशको बागडोर सम्हाल्ने सचिवालयमा को-को छन् ? तिनका पृष्ठभूमिबारे सर्वसाधारणलाई चासो हुनु स्वाभाविक हो।
अघिल्ला प्रधानमन्त्रीहरूले सचिवालयमा आफ्ना नातागोता र कार्यकर्ता नियुक्ति गर्ने प्रवृत्तिलाई बढावा दिएकाले तिनको निकै आलोचना हुने गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघिका सरकारका त्यही प्रवृत्तिमाथि विरोध गर्दै आइरहेकोले यसपालि उसले के गर्छ भन्ने सर्वत्र चासो थियो । प्रधानमन्त्री शाहले आफ्ना नातागोतालाई त जागिर खुवाएका छैनन् । तर, आफू काठमाडौँ महानगरपालिकामा मेयर हुँदा सचिवालयमा रहेका ६ जनालाई सिधै प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी दिएका छन् । दुईजना रास्वपामा आबद्ध र केही भने उनको चुनावी घरदैलो अभियानमा खटेका अर्थात् कार्यकर्ता छन् । ती को हुन् ?
को हुन् प्रमुख सल्लाहकार बेन ?
प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (बेन) हुन् । उनको चर्चा प्रधानमन्त्री शाहलाई राजनीतिमा ल्याउने रणनीतिकारको रूपमा हुन्छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव उठ्दा उनी शाहको चुनावी रणनीतिकार थिए । मेयर जितेपछि उनी व्यवस्थापन सल्लाहकार भए । भदौ २३–२४ को विकसित घटनाक्रमपछि जेनजी समूह, रास्वपा, शाह समूह, कुलमान समूह र अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई एकजुट गराउने काममा बेन नै सक्रिय थिए । सुरुमा असिम र आसिफ शाहको स्टुडियोमा छलफल भयो । त्यसपछि कुपण्डोल, ज्वागलस्थित बेनको घरमा वार्ता चल्यो । यस एकतापछि माघ ५ गते मेयरबाट राजीनामा दिएका शाहलाई देशव्यापी चुनावी अभियानमा दौडाउने रणनीति बेनकै थियो।
यसअघि सामाजिक सञ्जाल फेसबुकमा ट्रोल नेपाल र नेपाली स्पोर्ट्स फ्यान क्लब सञ्चालन गर्दै आएका बेन प्रत्यक्ष राजनीतिमा लागेका थिएनन् । तर उनी ललितपुर महानगरपालिकाको वडा नं. १० मा १०औँ पटक वडाध्यक्ष जित्ने नरसिंह व्यञ्जनकारका छोरा हुन् । २०२९ सालदेखि ५० वर्षसम्म स्वतन्त्र उम्मेदवारबाट वडाध्यक्षमा निर्वाचित हुँदै आएका नरसिंहलाई प्रधानमन्त्री शाहले राजनीतिक गुरु मान्दै आएका छन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा ८१ वर्षको उमेरमा ११औँ पटक उम्मेदवारी दिएका नरसिंह आफ्नै भतिज रविनमानसँग २८२ मतले पराजित भएका थिए । नरसिंह पञ्चायतकालदेखि नै ओमकार परिवार नामक धार्मिक संस्थासँग आबद्ध रही काम गर्दै आइरहेका दरबारका विश्वासिला व्यक्ति मानिन्छन् । नरसिंह खुलेर सामाजिक कार्यमा संलग्न रहँदै आएका व्यक्ति हुन् भने उनका छोरा बेन पर्दापछाडि बसेर काम गर्न रुचाउँछन् । बेनले यसपालिको निर्वाचनमा भारतीय संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचारकहरूसँग भेटेका थिए।
प्रमुख स्वकीय सचिव सुवास शर्माको चर्चाः चियादानीदेखि किचन क्याबिनेटसम्म
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका स्याङ्जा, आँधीखोला गाउँपालिका–५ स्थायी घर भएका सुवास शर्मा आजभन्दा ६ वर्षअघि पोखराबाट चियादानी नामक चियापसल सुरु गर्ने व्यवसायी हुन् ।
चियादानीका काठमाडौं, पोखरा, चितवन गरी चार ठाउँमा शाखा खोलिएका छन् । कान्तिपुरको एक समाचारअनुसार, उनले काठमाडौँमा सरसफाइ अभियन्ता भनेर चिनिने अछामका केपी खनालसँग मिलेर चियादानी सञ्चालन गरिरहेका छन् । भर्खरै सम्पन्न चुनावमा केपी कैलाली–३ बाट रास्वपाका प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
मंसिर १२ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रहरीको पोशाकमै चियादानीमा चिया पिउन पुगेका थिए, जुन फोटोमा केपी र सुवास दुवैजना सँगै देखिन्छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साउन ३० गते चियादानीमै पुगेर युवासँग ‘विशेष वार्ता’ गरेकी थिइन् । प्रधानमन्त्री शाहसँग घनिष्ठ सम्बन्ध रहेका सुवास चुनाव अवधिभर उनीसँगै देशव्यापी अभियानमा सक्रिय थिए ।
सुवासको परिचय त्यति मात्र होइन । सन् २०११ मा खुलेको फेसबुक पेज मेन्स रुम रिलोडेड (एमआरआर) का सुरुआतकर्ता पनि हुन् । पुरुष मात्रै समावेश हुने यस पेजको लोगोमा पुरुषको आकृति, चन्द्र र सूर्य राखिएको छ । यसमा १८ वर्षमाथिका युवा आबद्ध हुन्छन् । यसको फेसबुक पेजमा ७७ हजार फलोअर छन् । सुरुमा सूचना र सामाजिक गतिविधि गर्ने भनिए पनि यो अहिले भजन गाउने समूहमा परिणत भएको छ । एमआरआरले काठमाडौँ, पोखरा, बुटवल, चितवन, सुर्खेत, कोशी प्रदेशलगायत विभिन्न सहरमा साँझ भजनकीर्तन आयोजना गर्ने गरेको छ, जहाँ युवा भेला हुन्छन् ।
एमआरआर पुरुषसम्बन्धी विषयमा छलफल गर्ने तथा हास्यव्यङ्ग्य र अन्य सामग्री पोस्ट गर्ने उद्देश्यले खोलेको भनिन्छ । यो पेजमार्फत सुरुमा भाइचारा र परोपकारी काम गर्ने भनिए पनि पछिल्लो समय एमआरआर रास्वपालाई बलियो बनाउने कामका निम्ति प्रयोग गर्न थालिएको छ । २०७९ को स्थानीय निर्वाचन ताका वर्तमान प्रधानमन्त्री ९जो २०८२ माघ ४ गतेअघि काठमाडौँ महानगरका मेयर थिए० शाहलाई चुनाव जिताउन यस समूहले सहयोग गरेको थियो । त्यो बेला निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभामा प्रभाव पार्न सक्ने भन्दै आयोग र फेसबुक कम्पनी मेटाबीच छलफल भएर एमआरआरको पेजलाई निष्क्रियसमेत पारिएको थियो । यसलाई घृणात्मक र मिथ्या सूचना फैलाएको आरोप लागेको थियो । सन् २०२० मा पनि यस पेजलाई निष्क्रिय पारिएको थियो।
स्वकीय सचिव नविन भण्डारीः महानगरदेखिका स्वकीय
प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाका मेयर भएका बेला नवीन भण्डारी उनको सहायक स्वकीय सचिव थिए । त्यो बेला प्रमुख स्वकीय सचिव अछामका भूपदेव शाह थिए, जो यसपालिको निर्वाचनमा अछाम–२ बाट पराजित भए ।
नवीन प्रतिनिधिसभा निर्वाचनको बेला शाहको प्रचारप्रसारमा सक्रिय थिए । उनी त्यसबेला प्रस्तावित प्रधानमन्त्री शाहसँग सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको यात्रामा सँगै थिए । नवीन झापा–५ मा शाहका निर्वाचन प्रतिनिधिको भूमिकामा पनि देखिए । निर्वाचनमा बुझाउनुपर्ने चुनावी खर्चको विवरण शाहका तर्फबाट उनैले निर्वाचन कार्यालयमा पेस गरेका थिए । उनी ‘रुटिन अफ नेपाल बन्द’ मा पनि आबद्ध थिए।
राजनीतिक सल्लाहकार असिम शाहः शाह र लामिछाने जोड्ने सेतु
असिम शाह रास्वपाको संविधान संशोधनको बहसपत्र कार्यदलको संयोजक तोकिएका छन् । राजनीतिक सल्लाहकारमा चयन भएका उनी प्रधानमन्त्री बालेन्द्र शाहका मित्र तथा रास्वपाका केन्द्रीय सदस्य हुन् ।
रास्वपाको वाचापत्रको १० नम्बर बुँदामा सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावबारे बहसपत्र तयार गर्ने उल्लेख गरिएको छ । संविधान संशोधनजस्तो गम्भीर विषयमा कलाकार पृष्ठभूमिका व्यक्तिलाई संयोजक तोकिएको भन्दै आलोचना भइरहेको छ ।
२०७९ सालको प्रतिनिधिसभामा मुस्लिम क्लस्टरबाट समानुपातिक सांसद बनेका असिमले उनका दाजु आसिफसँग मिलेर रवि लामिछाने जेलबाट छुटेपछि रास्वपासँग शाह समूहको एकता गराउन भूमिका खेलेका थिए । यी दाजुभाइले लामिछाने र शाहलाई गौरीघाटस्थित आफ्नै स्टुडियोमा भेटवार्ता गराएका थिए । मध्यरातसम्म चलेको छलफलपछि लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको थियो । त्यही सहमतिमा शाहलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएको थियो ।
असिमलाई यस निर्वाचनमा काठमाडौँ–५ बाट उठाउने तयारी भए पनि अन्तिम समयमा उनी पछि हटेका थिए । उनी नउठ्ने भएपछि काठमाडौँ महानगरपालिका मेयर रहँदा शाहको शिक्षा सल्लाहकार भएर काम गरेका सस्मित पोखरेललाई उम्मेदवार बनाइयो, जो चुनाव जितेर शिक्षामन्त्री भइसकेका छन् ।
असिम ‘कर्कश’ र ‘दुई रुपैयाँ’ फिल्मका निर्देशक हुन् । उनी विज्ञापन र म्युजिक भिडियो पनि निर्देशन गर्छन् । असिम र आसिफ दाजुभाइको ‘जी २१’ कम्पनी छ । असिमका दाइ आसिफको नाम समानुपातिकको बन्दसूचीका लागि सिफारिस गरिएको थियो । तर, समानुपातिक सिट हुनेखानेलाई दिइएको भन्दै मिडियामा विरोध हुन थालेपछि उनले नाम फिर्ता लिए ।
स्वकीय उपसचिव विशाल अधिकारीः पहिले पराजित अहिले स्वकीय
प्रधानमन्त्री बालेन्द्र शाहले जागिर दिएका अर्का व्यक्ति हुन्—स्वकीय उपसचिव विशाल अधिकारी । उनी रास्वपाको विकास योजना तथा नीति तर्जुमा विभागका सचिव पनि हुन् ।
दाङ स्थायी घर भएका उनी इन्जिनियर हुन् । २०७९ सालमा रास्वपाबाट दाङ–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनलाई तत्कालीन माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी थिइन् । अधिकारी १५ हजार ८६१ मतसहित तेस्रो भएका थिए । २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले उम्मेदवारी दिन चाहे पनि रास्वपाकै सहमहामन्त्री विपिनकुमार आचार्यलाई पार्टीले उम्मेदवार बनायो ।
सचिवालय टिमः टिकट नपाएका कार्यकर्ताको व्यवस्थापन
प्रकृति ढकालले चितवन–३ बाट चुनाव उठ्ने इच्छा गरे पनि टिकट पाइनन् । त्यहाँ सोविता गौतमले टिकट पाइन्, जितिन् र कानूनमन्त्रीसमेत बनिन् । चितवनकी प्रकृति ‘देश परिवर्तनका लागि संवाद यात्रा’ अभियान सञ्चालन गरिरहेकी युवा हुन् ।
प्रकृतिले यस संस्थामार्फत ‘नाताभन्दा क्षमता, परम्पराभन्दा पारदर्शिता र अहिले नै जवाफदेहिता’ भन्ने मूल मन्त्र बोकेर पूर्व–पश्चिम यात्रा गरेकी थिइन् । उनी महिलावादी आन्दोलनमा पनि सक्रिय छिन् । ढकालले बेलायत सरकारको पूर्ण छात्रवृत्ति कार्यक्रममा चेभनिङ स्कलरका रूपमा लन्डन स्कुल अफ इकोनोमिक्सबाट ग्लोबल हेल्थ पोलिसीमा एमएससी गरेकी छन् ।
विवेकशीलको अभियानमा जोडिएकी प्रकृति रञ्जु दर्शनाको चुनावी अभियानमा हिँडेकी थिइन् । साथै रास्वपामा वर्तमान प्रधानमन्त्री शाहको समूहबाट उम्मेदवार चयनमा पनि आबद्ध भइन् तर आफैँले टिकट पाइनन्।
मेयर कालदेखिका प्रेस सहजकर्ताः सुरेन्द्र बजगाईँ
सुरेन्द्र बजगाईं शाखा अधिकृतसरहको सेवा सुविधा लिने गरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएका छन् ।
ललितपुरको महांकालका स्थायी बासिन्दा पत्रकार बजगाईं प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा प्रेस संयोजकको भूमिकामा थिए । उनी पछिल्लो निर्वाचनमा पनि सक्रिय थिए । बजगाईंलाई ललितपुर–२ मा प्रधानमन्त्री शाहको समूहबाट उम्मेदवारीका लागि अगाडि सारिएको थियो । तर, अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेल उठ्ने भएपछि उनले टिकट पाएनन् । विवेकशील अभियानमा आबद्ध बजगाईंले केही समय ‘उकेरा डटकम’, ‘नेपाल लाइभ’ र ‘रुटिन अफ नेपाल बन्द’ मा काम गरेका थिए।
प्यारो प्रशासकः प्रदीप परियार,
प्रधानमन्त्री शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन् । परियार केही दिनदेखि शाहका लागि प्रधानमन्त्री कार्यालय, अतिथि कक्ष, मन्त्रिपरिषद् हलको वास्तु मिलाउन सक्रिय थिए ।
परियार २०८० माघ ५ गते काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । उनलाई २०८१ भदौ २७ गते तत्कालीन केपी शर्मा ओली सरकारले सरुवा गरेपछि प्रधानमन्त्री कार्यालय र नगरपालिकाबीच द्वन्द्व चर्किएको थियो । त्यो बेला परियारको कामबाट मेयर शाह निकै प्रभावित थिए, त्यसैले उनको सरुवाबाट बालेन्द्र प्रधानमन्त्री ओलीसँग रुष्ट बने । उनी प्रधानमन्त्री बन्नासाथ परियारलाई काजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरी ल्याइएको छ ।
सुदिप ढकालः समावेशीबाट ‘आउट’, किचन क्याबिनेटमा ‘इन’
काठमाडौँ महानगरपालिकामा मेयर शाहको सचिवालयमा रही योजना तथा प्रविधि हेर्ने सुदीप ढकालले प्रधानमन्त्री कार्यालयमा नीति प्रशासन तथा सुशासन हेर्ने जिम्मेवारी पाएका छन् । उनी शाहको चुनावी अभियानमा सँगसँगै थिए ।
पाल्पाका सुदीपको नाम समानुपातिक बन्दसूचीमा खसआर्य क्लस्टरको दुई नम्बरमा थियो तर रास्वपाको खसआर्य पुरुषबाट एकजनाले मात्र स्थान पाएकोले उनी सांसद भएनन् । रमेश प्रसाईंले त्यो सिट प्राप्त गरे। सांसद पद नपाए पनि प्रधानमन्त्री शाहका विश्वासपात्र सुदीपलाई किचन क्याबिनेटमा ल्याइएको छ।
‘रुटिन अफ नेपाल बन्द’ का विवेकः सूचना तथा सञ्चार प्रविधि विज्ञ
बालेन्द्रलाई काठमाडौँको मेयर र सांसद बनाउन फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बाट खुलेर ‘मिडिया क्याम्पेन’ गर्ने भिक्टर पौडेलसँग काम गरेका विवेक मिश्रलाई सूचना, सञ्चार तथा प्रविधि संयोजकको रूपमा ल्याइएको छ। युवामाझ चर्चित यो पेज भिक्टरले २०६८ सालमा नेपाल बन्द र लोडसेडिङको तालिकासम्बन्धी जानकारी दिन खोलेका थिए ।
प्रधानमन्त्री शाहका नजिकको साथी भिक्टरले सञ्चालन गर्ने ‘रुटिन अफ नेपाल बन्द’ मा हाल बनेको मन्त्रिपरिषद्बाट भएका निर्णय नेपाली आम सञ्चारमा भन्दा पहिले चुहाउने गरिएको छ । एकातिर सरकारी मिडिया छ भने अर्कोतिर प्रधानमन्त्री शाहको आफ्नै मिडिया पनि छ । त्यसैले होला, सरकारले निजी पत्रपत्रिकालाई दिने विज्ञापन रोक्ने निर्णय गरेको छ । र, त्यस्तो विज्ञापन अब सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराइने छ ।
फोटोग्राफरमा पुरानै ‘लेन्स’; विनय शाक्य,
काठमाडौँका विनय शाक्य बालेन्द्र शाह मेयर छँदा पनि उनको फोटोग्राफर थिए ।
मेयरको सचिवालय हुँदै उनी फोटोग्राफरकै रूपमा प्रधानमन्त्री सचिवालयमा पुगेका छन्। उनले शाखा अधिकृतसरहको सेवा सुविधा पाउनेछन्। २०७९ को स्थानीय निर्वाचनमा शाहको चुनावी अभियानको फोटो खिच्ने काम उनैले गर्थे।
दीपा दाहालः खोज पत्रकारितादेखि प्रधानमन्त्रीका विज्ञ
पत्रकार दीपा दाहाललाई चैत २० गते प्रधानमन्त्रीको प्रेस एवं अनुसन्धान विज्ञमा नियुक्त गरिएको छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय उनी ‘उकालो डटकम’ मा खोज पत्रकारिता गरिरहेकी थिइन् । बालमन्दिर जग्गा काण्ड, बाँसबारी जग्गा काण्ड, कालिञ्चोक केवलकारदेखि टिकापुर क्याम्पस जग्गा काण्डमा भएका भ्रष्टाचार, बेथिति र अनियमिततामाथि खोजपूर्ण रिपोर्टिङ गरेकी थिइन् ।
पत्रकारिता विधामा विभिन्न अवार्डसमेत जितेकी दीपा प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि–२०७४ बमोजिम नियुक्त भएकी हुन् । बारबरा फाउन्डेसनले सामाजिक क्षेत्रका लागि छुट्याइएको कोषमार्फत उनले ‘कोभिड, नसोचेको–नभोगेको संकट’ पुस्तक लेखेकी छन् । त्यसबापत उनले उक्त फाउन्डेशनबाट बारबरा एडम्स पुरस्कारसमेत पाइन् । यसबाहेक पनि उनले खोज–पत्रकारिता गरेबापत धेरै पुरस्कार पाएकी छन् ।
को हुन् सञ्जीव ?
प्रधानमन्त्री शाहको स्वकीय सहसचिवमा नियुक्त सञ्जीव पाण्डे को हुन् र उनको विज्ञता के हो भन्ने कहीँ कतै खुल्दैन ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ १२:१५