काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो वरीयताका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताले वामपन्थी शक्तिसँग गरेको अपार आशा पूरा गर्न नसक्नु नै फागुन २१ को निर्वाचनमा पराजयको कारण ठहर गरेका छन् ।
पार्टीको जारी बैठकमा निर्वाचन समीक्षाको अलग्गै दस्तावेज पेश गर्दै उनले त्यस्तो ठहर गरेका हुन् ।
खनालले लेखेका छन्, ‘२०७४ को निर्वाचनपछि बनेका करिब दुईतिहाइ बहुमत भएको शक्तिशाली वामपन्थी सरकारका काँधमा रहेका दायित्वहरू थिए ।
सरकार बनेपछि जनआन्दोलन र सशस्त्र संघर्ष दुवै क्रममा पीडित भएका जनताको आशा अपेक्षा चुल्लिएको थियो । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा यी– सात कुरा प्राप्त हुने जनताको अपार आशा थियो ।’
उनले भदौ २३ र २४ को जेन जी आन्दोलनको महाविध्वंसको रापताप अनि देशी विदेशी शक्तिहरूको आड, भरथेग र उच्च प्रविधिको प्रयोगसमेतका कारण रास्वपाले विजय प्राप्त गरेको निष्कर्ष निकालेका छन् ।
दस्तावेजमा उनले लेखेका छन्, ‘आखिर नेपालमा एउटा छोटो अवधिमा आम जनताको मन र मत किन यसरी पर्लक्क पल्टिन पुग्यो ? आजभन्दा ८ वर्षअघि २०७४ मा भएको निर्वाचनमा अहिलेकै जसरी वामपन्थी शक्तिहरूले १७७ सीट प्राप्त गरेको थियो । सबै प्रदेशहरू र पालिकामा समेत ठूलो विजय प्राप्त गर्न सकेको थियो । यो आठै वर्षको छोटो अवधिमा त्यत्रो जनमत कसरी परिवर्तित भयो ? त्यसका आधारभूत र तत्कालिक कारणहरू के छन् ? त्यसका आन्तरिक र बाह्य कारणहरू के छन् ? आज हामी सबै कम्युनिष्टहरूले यो कुराको गहन र तथ्यसम्मत विश्लेषण गर्नु जरुरी छ । हाम्रो पार्टीले झनै जिम्मेवारीको भावनाका साथ यो निर्वाचनको सामग्रीक समीक्षा गर्नुपर्छ । त्यसरी गरिने समीक्षाबाट पार्टी र आन्दोलनले ठूलो शिक्षा प्राप्त गर्न सक्छ ।
हेर्नुहोस् खनालको दस्तावेजको पूर्णपाठ
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ १३:४४