सिमकोट । आजदेखि देशभर दोस्रो आर्थिक गणना कार्य शुरु भएको ।
गणनाका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित पालिकामा पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । आगामी असार ७ गतेसम्म सम्पन्न हुने यो गणनाका लागि हुम्ला जिल्लामा समेत १३ जना कर्मचारी परिचालन गरिएको छ ।
सात वटा गाउँपालिका र ४४ वटा वडा रहेको हुम्ला जिल्लामा भर भएका व्यवापार व्यावसाय, पसलहरुको गणना गर्ने कार्यका लागि ११ जना आर्थिक गणक र २ जना सुपरिवेक्षक खटिएको आर्थिक गणना कार्यालय हुम्लाका प्रमुख सुरेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार जिल्लाको नाम्खा, सर्केगाड र ताँजकोटमा १ जना गणकका दरले र अन्य ४ वटा पालिका अदानचुली, चंखेली, खार्पुनाथ र सिमकोटमा २ जना गणकहरु खटाइएको छ ।
२०७५ सालमा सम्पन्न आर्थिक गणना कार्यक्रमको तत्थ्यांककका आधारमा यो पटक उक्त गणक परिचालन गरिएको पन्तले जानकारी दिए । प्रत्येक घरमा गणक जानु भन्दा पालिकामा भएको पसल, उद्योग र व्यवसायहरुको तत्थ्यांक लिने भएकाले यो गणना कार्य आगामी असार ७ गतेसम्म जारी रहने छ ।
आर्थिक गणनाका लागि जिल्लाभर २ जना सुपरिवेक्षण पनि परिचालन गरिएको पन्तले बताए । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ ।
गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ । जिल्लाभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना यस पटक गरिने आर्थिक गणना कार्यालय हुम्लाले जनाएको छ ।
यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ २२:११