काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बालेन साह नेतृत्वको सरकार डेढ महिना पूरा नगर्दै पुरै असफल बनेको ठोकुवा गरेका छन् ।
सांसद साम्पाङले २३ वटा कारण उल्लेख गर्दै बालेन सरकार असफल बनेको जनाउनु भएको हो । साम्पाङले २३ कारण लेख्दै भनेका छन्, ‘सरकार असफलताको बाटोमा जानुका कारण निम्नानुसार छन् । नैतिकता भए राजिनामा दिएर जनताको सेवामा लाग्न आग्रह छ । ’
सरकार असफलताको बाटोमा ! कारण निम्नानुसार !
१. लिपुलेक बचाउन नसक्नु सिमा रक्षामा चासो नहुनु ! सेनालाई सिमानामा पठाउन नसक्नु !
२. सेनाको दुरुपयोग ! फोन कल र SMS को भरमा सेनालाई जथाभावी निकाल्नु, सुकुमबासी बस्ती बल प्रयोग गरी हटाउन थप सुरक्षा बलमा सेनालाई खटाउनु बाहिर निकाल्नु !
३. सामान्य परिस्थितिमा पनि संसद नबोलाउनु ! संसद छलेर अध्यादेश जारी गर्न राष्ट्रप्रमुखलाई अनावश्यक दवाव दिनु ! संसदलाई छलेर सार्बभौम संसदको मानहानी गर्नु ! जनमतलाई अपमान र अपहेलना गर्नु ! लोकतन्त्रको मर्म लाई नमान्नु !
४. संवैधानिक नियुक्तिहरुमा आफ्नो मान्छे भर्ना गर्ने उद्देश्यले संवैधानिक परिषद सम्बन्धित अध्यादेश ल्याउनु !
५. राज्यको ढुकुटीबाट सहकारी पिडितहरुको बचत फिर्ता गर्न सहकारी सम्बन्धि निर्णय गर्नु ! सहकारी ठगहरुको पक्षमा उभिनु उनेरुलाई कारवाहीको दायरामा नल्याउनु ! ठगहरुको जायजेथाबाट असुल गरेर पिडितलाई पैसा फिर्ता नगरेर राज्यको ढुकुटीबाट फिर्ता गर्ने निर्णय गर्नु ! बाटो, पुल, कुलो, खानेपानी, बिजुली बत्ति जस्ता सेवासुबिधामा लाउनु पर्ने पैसा त्यता खर्च गर्नु !
६. विदेशी ऋण digital nepalको नाममा अरबौँ रुपैयाँ ऋण लिनु ! ऋणको खर्च गर्ने योजना पुष्टी नगर्नु ! विदेशी ऋणको खर्च शिर्षकबारे एकलौटी निर्णय गर्नु ! औचित्य पुष्टी गर्न नसक्नु !
७. के कस्ता योजना प्राथामिकताका योजना हुन् सो छुट्याउन नसक्नु !
८. भूमिहीन सुकुमबासी अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन नगरी बिना कुनै योजना राज्य आतंक फैलाएर बस्तीहरुमा डोजर चलाउनु ! बेघर र बेहाल बनाएर गरीब जनतालाई रुवाउनु, आत्महत्या गर्ने सम्मको परिस्थिति सृजना गर्नु ! देशै भरिका जनतालाई आतंकीत, आक्रोशित र आन्दोलित बनाउनु !
९. विभिन्न वहानामा राज्यका अंगका रुपमा रहेका संघसंस्था, संगठन र निकायहरुलाई खारेज गर्ने, भत्काउने जस्ता कृत्य गरी सबैलाई आक्रोशित र आन्दोलित बनाउँदा राज्यमा शान्ति सुव्यवस्था र सदभावमा खलल् पुराउनु ! राज्य संयन्त्रहरुलाई ठिक सङ्ग परिचालन गर्न नसक्नु !
१०. विद्यार्थीहरुलाई राजनीतिक चेतना राख्न पाउने र राजनीतिक सहभागिता जनाउन पाउने विद्यार्थीको अधिकार खोस्नु !
११. विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटिरहँदा समेत नेपालमा मूल्य बृद्धि गरी जनतालाई आर्थिक शोषण गर्नु ! महँगी नियन्त्रण र जनताको जीविकामा चासो नदिनु !
१२. आर्थिक बिकासका कार्य, बिकास योजनाका कार्यहरुमा कुनै ठोस् नीति तथा कार्यक्रम बनाउन नसक्नु ! उल्टै व्यवसायीहरुको सामान जफत गर्ने, दोकान भत्काइदिने, गरीब दुस्खीका घरटहरा भत्काइदिनु र गरीबलाई अझै गरीब बनाई सडकमै सुत्न बाध्य बनाउने गरी आर्थिक स्थितिलाई बिगारिदिनु !
१३. बजेट बनाउने प्रकृयामा एक्लौटी निर्णय गर्नु ! सबै क्षेत्र तिर जनताको आवश्यकता के छन् भन्ने कुरामा ध्यान नदिनु ! आफ्नै घरको र गोजीको पैसा हो जस्तो ठानेर मनोमानी गर्न खोज्नु ! प्रतिपक्ष दलहरु सङ्ग यो विषयमा सम्वाद र सहकार्य नगर्नु !
१४. सरकारको नीति के हो थाहा नहुनु र कार्यक्रम कस्ता छन् र ती कार्यक्रमहरुका औचित्य के हुन् थाहा नदिनु ! पत्रकारहरुलाई सूचना नदिनु ! पत्रकारको प्रश्न देखि भाग्नु !जवाफदेहिताविहिन देखिनु !
१५. विदेशी सरकारी दुत तथा अधिकारीहरु नेपाल किन आए र के सरसल्लाह भए गरिए र ती सल्लाह के का लागि कुन योजना का लागि थिए भनेर सार्बजनिक नगर्नु गुप्चुपमा राष्ट्रघात हुँदैछ कि हीत हुँदैछ थाहा नदिनु जानकारी नदिनु !
१६. उत्पादनको नीति केही ल्याउन नसक्नु ! बजार व्यवस्थापन गर्न नसक्नु !
१७. मन्त्री परिषद गठन र बिस्तार गर्न नसक्नु ! मन्त्रालयको नाम परिवर्तन गर्नु जस्ता अनावश्यक कार्यमा लाग्नु !
१८. सम्पत्ति विवरण खुलाउँदा देखिएका सम्पत्तिका स्रो खोलाउनु नसक्नु ! नैतिक हिसाबले कम्जोर देखिनु !
१९. सूचनाको हक देखि बन्चित गर्नु ! पत्रकारहरुलाई सूचना संकलनमा स्वतन्त्र र निर्भय वातावरण बनाउन नसक्नु !
२०. जनताको सूरक्षामा खटाउनु पर्ने प्रहरीलाई राज्य आतंक फैलाउने मनसायले दुरुपयोग गर्नु !
२१. कर्मचारी तथा आमजनतामा उत्साह नभएर नसियत, सजाय, कारावाही र जरिवानाको भयको वातावरण बनाउनु !
२२. दमनको नीति लिनु ! स्वतन्त्रता कमजोर बनाएर लोकतन्त्रलाई कमजोर बनाउनु !
२३. आफ्नोलाई नरम र अरुलाई कडा कानूनी कारवाहीको विभेदपूर्ण अभ्यास गर्नु गराउनु ! जनतामा सुशासन प्रति उदासिनता पैदा गराउनु !
प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३ १४:२२