सिमकोट । वर्षायामसँग हुने संभावित विपतका घटनाको क्षतीबाट बच्न पुर्व तयारीका साथ बस्न जिल्लावासीलाई विपत व्यवस्थापन समितिले आग्रह गरेको छ ।
बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको जिल्ला विपद व्यवस्थापन समिति हुम्लाले जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा बैठकले यस अघिका बैठकबाट भएका निर्णयहरुको कार्यान्वयन अवस्थाको समिक्षा तथा विष्लेषण गरेको समितिका सदस्य सचिव सहायक प्रम्ख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिए ।
प्रीमनसुनको समयमा कर्णाली करिडोरमा हुने आवागमनलाई निर्वाध रुपमा सुचारु गर्ने, त्यसका लागि आवश्यक पर्ने स्रोत साधानको व्यवस्थापन गर्न बैठकले हिल्सा सिमकोट सडक आयोजनालाई अनुरोध समेत गरेको छ । यो वर्षको पुर्वमनसुन शुरु भएसँगै अविरल वर्षा, बाढी, पहिरो, चट्याङ आउन सक्ने र यसबाट हुनसक्ने संभावित जनधनको क्षतिलाई कमगर्न सरोकारवाला निकायलाई उच्च सर्तकताका साथ बस्न आग्रह गरेको छ ।
संभावित प्रकोपका घटनामा पर्ने प्रभावितहरुको खोज, उद्धार तथा राहतका लगाएतका विपद् जन्य व्यवस्थापकिय कार्यलाई प्रभावकारी बनाउन, सचेतना जगाउनका लागी सरोकारवालाहरुसँगको समन्वय तथा सहकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल रेडक्रस सोसाइटी हुम्लाले बाढी र पहिरोका घटनामा आधारित कृतिम अभ्यासको कार्य सञ्चालन गर्ने लगायतका ९ वटा निर्णय ब्रैठकले गरेको बारेमा जानकारी दिदैं हायक प्रमुख जिल्ला अधिकारी चन्दले जानकारी दिए ।
उनका अनुसार जिल्लामा मानसरोवर कैलास जाने तिर्थयात्रुहरुको आवागमनको समय समेत शुरु भएकाले नाम्खा गाउँपालिकामा रहेको लाप्चा उपत्यकामा जाने बाटो न्यालु लेकमा जमेको हिउ पन्छ्याउन आवश्यक पर्ने स्रोत साधानको व्यवस्थापन गर्न नाम्खा गाउँपालिका र पुर्वाधार विकास कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा समितिका सदस्यका रुपमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड र ताजाँकोटका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटि, सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, सुरक्षाकर्मी, राजनितिक दलका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३ २०:२४