सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आए पनि बुधबार नीति तथा कार्यक्रम वाचन गर्न सभामा उपस्थित भएका प्रदेश प्रमुख यज्ञराज जोशीलाई असहज भएपछि मुख्यमन्त्री कँडेल आफैँले वाचन गरे ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका अधिकांश विषय विगतकै निरन्तरताका रूपमा आएका छन् । कतिपय विगतका अधुरा र अपुरा नीति तथा कार्यक्रमलाई नयाँ रूप दिएर राखिएका छन् भने पूरा गर्ने गरी प्रतिबद्धता पनि जाहेर गरिएका छन् । यद्यपि केही नीतिगत कुरामा कडाइ गरिएको छ ।
बजेट कार्यान्वयन सुधार, आयोजनाको छनोट, आन्तरिक आम्दानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर लैजाने उल्लेख छ । नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति लिइएको छ । यो कर्णालीका लागि चुनौतीको विषय हो । कर्णाली सरकार अन्तर्गत हालसम्म ४ अर्ब ७० करोडभन्दा धेरै बेरुजु छ ।
‘प्रशासनिक खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्दै शून्य बेरुजु अभियानमार्फत वित्तीय सुशासन प्रवर्द्धन गरिने छ,’ नयाँ नीति तथा कार्यक्रममा भनिएको छ ।
मुख्यमन्त्री कँडेलले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने बताए । यद्यपि विगतमा यो कार्यक्रम उनकै दल एमालेले रोकेको थियो ।
तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माको पालामा प्रतिष्ठान बनाउन सामाजिक विकास मन्त्रालयले ऐनको ड्राफ््ट बनाइसक्दा एमालेले त्यसमा असहयोग गरेको थियो ।
एमालेकै टेकराज पछाई सामाजिक विकासमन्त्री हुँदा प्रतिष्ठान आवश्यक नरहेको जिकिर गरेका थिए । किनकि जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदाहुँदै प्रदेशमा अर्को बनाउँदा आर्थिक दायित्व बढ्ने उनको भनाइ थियो ।
कँडेल मुख्यमन्त्री बनेपछि गत वर्ष डा।भगवान कोइरालाको नेतृत्वमा अध्ययन समिति बनाएर अध्ययन गरिएको थियो, जसमा ५ वटा विकल्पमध्ये एउटा प्रतिष्ठान बनाइने उल्लेख छ ।
यद्यपि गत वर्ष नै ऐन बनाएर प्रतिष्ठानको गृहकार्य सुरु गर्ने भने पनि अहिलेसम्म अघि बढेको छैन । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यसैलाई समेटेको छ ।
सुर्खेत, दैलेखमा कृत्रिम गर्भाधान, गोठ सुधार, घाँस सुधार जस्ता कृषि सम्बन्धी कार्यक्रम ल्याइएको छ । सार्वजनिक जमिनको संरक्षण, बाँझो जमिनको खोजी गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
कर्णाली प्रदेश सरकारले शिक्षातर्फ १० वर्षे शिक्षा सुधार नीति ल्याएको छ । यस्तै ‘एक घर, एक धारा’ नीतिका साथै जगदुल्ला लगायतका जलविद्युत् आयोजनामा लगानी गरिने विषय पनि समेटिएको छ । यो कार्यक्रम विगतकै निरन्तरता हो ।
‘दिगो वन, समृद्ध जीवन’ कार्यक्रम अन्तर्गत वन संरक्षणलाई ध्यान दिँदै आन्तरिक आम्दानी बढावा दिने, डिजिटल ट्र्याकिङ कार्यक्रमदेखि, उच्च मूल्यका जडीबुटीको प्रशोधन जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन् । जडीबुटी प्रशोधन कार्यक्रम प्रदेश स्थापना कालदेखिनै समेटिने तर कार्यान्वयन नहुने कार्यक्रम हो । जनता आवास, एकीकृत बस्ती विकास, घर बीमाजस्ता कार्यक्रम पुरानै हुन् ।
प्रदेशका नाकामा वन चेक पोष्ट स्थापना गर्ने नीति प्रदेश सरकारले अघि सारेको छ । रारा, शे–फोक्सुण्डो, सुर्खेतको बुलबुले जस्ता पर्यटकीय स्थलको संरक्षण गर्ने योजना बनाइएको छ ।
‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ भन्ने नारासहित पर्यटकीय कार्यक्रम ल्याइएको छ । सुर्खेत विमानस्थल विस्तार र उक्त विमानस्थलबाट कर्णालीमा आन्तरिक उडानको कार्यक्रम पुनः ल्याइएको छ । त्यसमा केन्द्रको समन्वय आवश्यक पर्छ । यो कार्यक्रम ०७६ सालदेखि निरन्तर बजेट, नीति तथा कार्यक्रममा ल्याइने गरे पनि कहिल्यै कार्यान्वयन हुन सकेको छैन ।
मुख्यमन्त्री कँडेलले रणनीति सडक, आर्थिक करिडोर कृषि सडक, पर्यटकीय पहुँच मार्ग सडक तथा निर्माणाधीन सडक भरपर्दो र दिगो बनाइने बताए । सडकको पहुँच नपुगेका ठाउँमा सडक पहुँच विस्तार गर्न तीन तहकै सरकारसँग समन्वय, सहकार्य गरिने जस्ता विगतकै कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ ।
मुख्यमन्त्री कँडेलले यसअघि आफूले ल्याएको प्रदेश सरकारको पुनर्संरचना गर्ने कार्यक्रमलाई नीति तथा कार्यक्रममै ल्याएका छन् । यसअघि कानुन मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा मर्ज गर्न बाहेक अन्य कुनै पनि काम हुन सकेका छैनन् ।
यस्तै, डिजिटल कन्टेन्टमार्फत युवा परिलक्षित कार्यक्रम अन्तर्गत भ्रामक सूचनालाई निरुत्साहित गर्ने कार्यक्रम कँडेलले ल्याएका छन् । नीति तथा कार्यक्रम ‘समृद्ध कर्णालीः सुखारी कर्णालीबासी’ को दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न दोस्रो पञ्चवर्षीय गुरुयोजनामा केन्द्रित रहेर ल्याइएको कँडेलले बताए।
यस्तो छ, नीति तथा कार्यक्रमको पूर्णपाठ
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३ १७:५५