सिमकोट । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको सभापतिमा लक्ष्मण ऐडी निर्विरोध निर्वाचित भएका छन् ।
सुक्रबार राती भएको निर्वाचनमा ऐडी पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित भएको रास्वपा हुम्लाले जनाएको छ । पार्टी केन्द्रीय निर्णय अनुसार सुक्रबार जिल्ला समन्वय समितिको सभाकक्षमा जिल्ला अधिवेशन उद्घाटन गरेको रास्वपाले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व छनोट गरेको बताइएको छ ।
नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित सचिव मनोज बोहराले जानकारी दिए ।
नयाँ नेतृत्वका लागि चार जनाको नाम चर्चामा रहेपनि अन्तमा सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्ने काम भएको नवनिर्वाचित सभापति ऐडीले जानकारी दिए ।
‘नेतृत्वका लागि स्वभाविक रुपमा जिल्लाका धेरै साथीहरु योग्य र उत्तम हुनुहुन्थ्यो’ ऐडीले नेपालवोटसँग भने, ‘संगठनको विधि र पद्धती, साथीहरुले म माथि देखाएको सदासयताका कारणले पनि म नेतृत्वमा निर्वाचित हुन सफल भएँ । यसमा जिल्ला पार्टीका साथीहरुको भूमिकाप्रति अनुग्रहित छु ।’
अघिल्लो कार्यकाल जिल्ला उपसभापतिका रुपमा काम गरेका ऐडीलाई यो पटक भेलामा सहभागि धेरैले नेतृत्वका लागि दवाव दिएपछि निर्विरोध निर्वाचित भएको रास्वपा हुम्ला स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जिल्ला सभापतिको नेतृत्वका लागि सभापति ऐडि, उपसभापति रिञ्जिन दावा लामा, तिर्थ बुढा र गेविन्द शाहीले दावी गरेका थिए । लामा र बुढा निर्वाचनमै भएपनि जाने तयारीमा जुटेका थिए भने सामाजिक क्षेत्रमा कार्यरत शाही सर्वसम्मत भए नतृत्वका लागि तयार रहेको बताइएको थियो । यद्यपी नेकपा (एमाले) संगठनमा आवद्ध शाहीले आफू रास्वपा सभापतिका रुपमा दावी गरेको खबर गलत भएको बताएका छन् ।
पर्टीले देशभर शनिबार बाट जिल्ला अधिवेशन गर्ने जनाएपनि हुम्लाले भने सुक्रबार नैं जिल्ला अधिवेशन टुंग्याएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३ १०:१५