काठमाडौं । विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ ।
पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्दै कार्यालयमार्फत पार्टी गतिविधि अगाडि बढाउने निर्णय लिएको छ । सामान्यतः राजनीतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन् ।
पार्टी एकताको अवस्था, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहित संस्थापन पक्षका नेताहरूको पछिल्लो धारणा तथा महाधिवेशन तयारीका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार गोल्फुटारस्थित आफ्नै निवासमा निकट नेताहरूको बैठक बोलाएका थिए । उक्त बैठकले एकताको पक्षमा सभापतिसहित संस्थापन पक्षका नेताहरू गम्भीर नदेखिएको समीक्षा गर्दै १५औँ महाधिवेशन तयारीसम्बन्धी गतिविधि तीव्र बनाउने निर्णय लिएको हो । यसले कांग्रेस विवाद थप जटिल बनाएको छ ।
१५औँ महाधिवेशन तयारीसम्बन्धी गतिविधिका लागि भन्दै २२ असारमा महाराजगन्ज चुनदेवीमा पार्टीको १५औँ महाधिवेशन तयारी समितिको केन्द्रीय सम्पर्क कार्यालय औपचारिक रूपमा शुभारम्भ गर्ने र लगत्तै राष्ट्रिय भेलाको मिति तोक्ने निष्कर्ष निकालेको नेता एनपी साउदले बताए । ‘२२ असारमा केन्द्रीय सम्पर्क कार्यालय उद्घाटन गर्ने निर्णय भएको छ । कार्यालय उद्घाटनपछि त्यहीँ बैठक बसेर राष्ट्रिय भेलाको मिति पनि घोषणा गरिनेछ,’ उनले भने । देउवा पक्षले सातवटै प्रदेशको अगुवा भेला सम्पन्न गरिसकेको छ ।
अर्का नेता मीन विश्वकर्माले सम्पर्क कार्यालयबाटै महाधिवेशन तयारीका सम्पूर्ण काम अघि बढाइने बताए । ‘चुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएपछि १५औँ महाधिवेशनका सम्पूर्ण तयारी, छलफल र बैठक त्यहीँबाट हुन्छन् । सम्पर्क, सम्बन्ध र संगठन विस्तारका काम पनि सम्पर्क कार्यालयबाटै गरिनेछन्,’ उनले भने ।
बैठकमा नेता खड्काले संस्थापन पक्षले पार्टी एकताका लागि गम्भीरता नदेखाएकाले अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गरेका थिए । ‘हाम्रोतर्फबाट जे प्रस्ताव पठाइएको थियो, त्यो पोजिसनमा तलमाथि छैन । हामी निरन्तर त्यही प्रस्तावमै अडिग छौँ, तर उताबाट कुनै रेस्पोन्स आएन,’ खड्काको भनाइ उद्धृत गर्दै नेता साउदले भने ।
खड्कामार्फत इतर पक्षले यसअघि नै संस्थापन पक्षलाई विभिन्न माग राखेर लिखित प्रस्ताव पठाएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमिति मर्ज गर्ने विषयमा कुरा मिलेको छैन । तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेकामध्ये ११४ जना हाल केन्द्रीय कार्यसमितिमा नभएकाले ती सबैको समायोजन हुनुपर्ने खड्कको माग छ ।
बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा। शशांक कोइराला, रमेश लेखक, एनपी साउद, डा। प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे, मोहनबहादुर बस्नेतलगायत सहभागी थिए । बैठकमा डा। शेखर कोइराला भने सहभागी थिएनन् ।
संस्थापन कांग्रेसले विशेष महाधिवेशनअघिका कुनै पनि कमिटी मर्ज नगर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई १५औँ महाधिवेशनमा सहभागी नगर्ने बताएको छ । इतर पक्षका नेता तथा कार्यकर्ताले सदस्यता अद्यावधिक नगरेको सन्दर्भमा संस्थापन पक्षले कडा रणनीति लिएको हो ।
हाल कांग्रेसले नयाँ क्रियाशील सदस्यता व्यवस्थित गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । २० असारसम्मको समय दिएर सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । पार्टी सदस्यता १० लाख पुर्याउने कांग्रेसको लक्ष्य छ ।
बैठकपछि नेता एनपी साउदले भने–एकताको हाम्रो प्रस्तावमा संस्थापनले रेस्पोन्स नै नगरेको बैठकमा ब्रिफिङ भयो । बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टी एकताका लागि हाम्रोतर्फबाट पठाइएको प्रस्तावमा संस्थापन पक्षले गम्भीरता नदेखाएको ब्रिफिङ गर्नुभयो । हामी निरन्तर त्यही प्रस्तावमै अडिग छौँ, तर उताबाट कुनै रेस्पोन्स नआएको उहाँले भन्नुभयो । १५औँ महाधिवेशन तयारीसम्बन्धी गतिविधिका लागि २२ असारमा केन्द्रीय सम्पर्क कार्यालय उद्घाटन गर्ने निर्णय बैठकले गरेको छ । कार्यालय उद्घाटनपछि त्यहीँ बैठक बसेर राष्ट्रिय भेलाको मिति पनि घोषणा गरिनेछ ।
महामन्त्री गुरुराज घिमिरे भन्छन्– कुरा एकताको, तर व्यवहारमा समानान्तर गतिविधि कायमै राख्ने हो भने हामी पनि आफ्नो बाटो तय गर्न बाध्य हुनेछौँ ।
उहाँहरू हाम्रो पनि अग्रज हुनुहुन्छ । वर्तमान राष्ट्रिय परिस्थितिबारे उहाँहरू पूर्ण रूपमा जानकार हुनुहुन्छ । उहाँहरूले नै आधिकारिकतासम्बन्धी विवाद टुंगिएको स्वीकार गर्दै महाधिवेशनलाई वैधता दिइसक्नुभएको छ । त्यसैले अब कति टाढासम्म जाने, कुन हदसम्म लचकता अपनाउने वा अडान लिने भन्ने मूल्यांकन पनि उहाँहरूले नै गर्नुपर्ने हुन्छ ।
एकातिर सहमति र एकताको कुरा गर्ने, अर्कोतिर अतिवादी तथा समानान्तर गतिविधि निरन्तर अघि बढाउने हो भने त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी कसले लिने रु हामी पार्टी विधानको परिधिभित्र रहेर आवश्यक लचकता अपनाउँदै सहमतिका लागि तयार छौँ । तर, विधानको संरक्षण र कार्यान्वयन गर्ने दायित्व सक्रिय सदस्यदेखि पार्टी सभापतिसम्म सबैको हो भन्ने यथार्थ बिर्सन मिल्दैन ।
सानातिना कमजोरीलाई अनावश्यक रूपमा ठुलो विवादका रूपमा प्रस्तुत गरिरहने हो भने भविष्यले पनि कसैलाई उन्मुक्ति दिनेछैन । यदि एकताको कुरा गर्ने, तर व्यवहारमा समानान्तर गतिविधि कायमै राख्ने हो भने हामी पनि एउटा स्पष्ट निर्णयमा पुगेर आफ्नो बाटो तय गर्न बाध्य हुनेछौँ । तर, यदि विवादलाई क्रमशः साँघुरो बनाउँदै साझा समझदारीमा पुग्ने इमानदार प्रयास हुन्छ भने उपसभापतिसहितका नेताहरूबिच भइरहेको संवाद सकारात्मक निष्कर्षमा पुर्याउन सकिन्छ । कांग्रेसको हित एकतामै निहित छ भन्ने सत्य कसैले पनि बिर्सनुहुँदैन ।
प्रकाशित मिति: शनिबार, असार २०, २०८३ ०८:३४