सिमकोट । जिल्लाका वाल विवाहको दर अप्रत्यासित रुपमा बढेको तथ्य बाहिर आएपछि जिल्लाको सामाजिक विकास कार्यालय पहिलो पटक किशोर किशोरीहरुलाई जनचेतना फैलाउन विद्यालय प्रवेश गरेको छ ।
पछिल्लो पटक स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्ष मुनिका महिलाहरुको संख्या गत वर्षको भन्दा दोब्बर बढिले वृद्धि भएपछि कार्यालय वाल विवाह र छाउपडी प्रथा न्यूनिकरणका लागि विद्यालयमा अध्ययनरत वालवालिकालाई जागरुक बनाउन कार्यालयको रोजाईमा विद्यालय परेको हो ।
जिल्लामा अँझै वाल विवाहका घटनामा वृद्धि भएका तथ्यहरु सार्वजनिक भएपछि आफूहरुले चालु आर्थिक वर्षको बजेटमा अनावश्यक खर्च कटाएर वाल विवाह विरुद्धका सचेतना कक्षा कोठामार्फत जगाउने पहल शुरु गरेको सामाजिक विकास कार्यालयका प्रमुख इश्वर बहादुर सिंहले जानकारी दिए ।
‘आर्थिक वर्षका लागि आएको बजेटलाई विल भरपाई बनाएर सक्नु भन्दा, त्यसलाई त्यतिकै फ्रिज फाल्नु भन्दा विद्यार्थी भाई बहिनीहरुलाई सानो खाजा र खानाको व्यवस्था गरेरै भएपनि विद्यार्थीहरुको माध्यमबाट व्यक्ति, परिवार र समाज रुपान्तरणका लागि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं’, कार्यालय प्रमुख सिंहले भने, ‘जिल्लामा भएका सामाजिक विकृतीहरुको न्यूनिकरण गर्दै समाज रुपान्तरण गर्न विद्यालय तहका किशोर किशोरी सबैभन्द उत्तम माध्यम हुने भएकाले सामाजिक विकास कार्यालयले यो वर्षबाट यो कार्यक्रमको पहल थालेको हो ।’
प्रमुख सिंहका अनुसार पहिलो कार्यक्रमका रुपमा जिल्लाको सिमकोट स्थित बालमन्रि माध्यमिक विद्यालयका कक्षा ९ का छात्रछात्राहरुलाई समेटिएको छ । जिल्लाको सदरमुकाम भएको सिमकोट गाउँपालिकामै वाल विवाहका घटनाहरु निकै धेरै देखिएपछि सामाजिक विकास कार्यालयसँगको सहकार्यमा कक्षा ९ का विद्यार्थी भाइबहिनीहरुलाई वाल विवाह र छाउपडी प्रथा सम्बन्धि सचेतिकरण कार्यक्रमको आयोजना गरिएको बालमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले जानकारी दिए ।

विद्यालयमा विभिन्न संघ संस्थाहरुले सचेतनामुलक कार्यक्रम ल्याएर आएपछि सरकारी कार्यालयनै नैं अभियानका रुपमा विद्यार्थी माझ कार्यक्रम सञ्चालन गरेको पहिलो पटक भएको विद्यालयका प्रधानाध्यापक कैलास रोकायाले जानकारी बताए ।
‘वास्तवमा वाल विवाह न्यूनिकरणका सबैभन्दा भरपर्दो माध्यम भनेकै किशोर किशोरी हुन्’, उनले थपे ‘तिनैलाई नैं यसका फाइदा र बेफाइदाका बारेमा सचेतिकरण गराउने हो भने जिल्लामा अहिले बढ्दै गएको वाल विवाहको दर घट्ने थियो ।’

कार्यक्रमले शिक्षक विद्यार्थी उत्साहित
वाल विवाह र छाउपडी प्रथा न्यनिकरणका लागि सामाजिक विकास कार्यालयले गरेको विद्यालय सचेतना कार्यक्रम प्रति जिल्लाका शिक्षक–शिक्षिका र विद्यार्थीहरु पनि उत्साहित भएका छन् ।
कक्षा कोठामा पाठ्यपुस्तकको ज्ञानमा मात्र सिमति आफूहरुलाई यो कार्यक्रमले फरक माध्यम बाट फरक विषयका बारेमा जानकारी दिने काम गरेकाले आफूलाई राम्रो लागेको वालमन्दिर माध्यमिक विदालयको कक्षा ९ का छात्रा स्मृती रावतले जानकारी दिइन् । शुरुमा पाठ्यपुस्तक नैं समयमा नपाई, विषय शिक्षक पनि नपाएरै कोर्ष पुरा गर्नुपर्ने हुम्लामा अहिले शिक्षाको गुणस्तर बढ्नुका साथै सरकारी कार्यालयले विभिन्न जीवनपयोगि कक्षाहरु सञ्चालन गर्दा आफूहरुलाई निकै प्रभावकारी ज्ञान लिन सहज भएको प्रतिक्रिया उनले दिइन् ।
अशिक्षाका कारण पढ्न नपाएका जिल्लाका किशोर किशोरीहरुलाई विद्यालय बाटै सचेतिकरण गर्ने काम राम्रो भएको प्रतिक्रिया दिएका ९ कक्षामा अध्ययनरत शुभ बोहराले खासमा वाल विवाह न्यूनिकरण गर्नका लागि १४ देखि १८ वर्ष उमेर समुहका किशोर किशोरी नैं भएको बताए ।
‘हामीहरुको उमेर समुहका किशोर किशोरीहरुलाई यसबारे सचेतिकरण गर्ने र विद्यमान कानूनका बारेमा समेत जानकारी दिने हो भने जिल्लामा बढ्दै गएका वाल विवाहका घटनामा न्यूनिकरण गर्न सकिने थियो’, बोहराले नेपालवोटसँग भने, ‘आजको कक्षाले म र मेरा साथीहरुलाई निकै राम्रो ज्ञान दिने काम गरेको छ ।’
कार्यक्रमको प्रशिक्षक समेत रहनु भएकी वाल मन्दिर माध्यमिक विदालयकी शिक्षिका मधु वस्नेत शाहीले पनि सामाजिक विकास कार्यालयले शुरु गरेको विद्यालय सचेतिकरण कार्यक्रम निकै राम्रो भएको बताइन् ।
‘जिल्लाका सबै सरकारी कार्यालय भन्दा प्रगतीका हिसाबले अग्र स्थानमा रहेको सामाजिक विकास कार्यालयको किशोरी स्वास्थ्य र वालवालिका क्षेत्रमा सक्रियता प्रशंसनीय छ’, शिक्षिका बस्नेतले भनिन्, ‘यो कार्यक्रमले जिल्लामा बढ्दै गएको वाल विवाहको न्यूनिकरणमा योगदान मात्रै गर्ने छैन् किशोरीहरुको स्वास्थ्यमा यो कार्यक्रमले समेत सकरात्मक परिवर्तन ल्याउने छ ।’
कर्यक्रममा शिक्षिका बस्नेत सहित शिक्षक छतुप लामा र सामाजिक विकास कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले सहजिकरण गर्नु भएको सामाजिक विकास कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३ १५:३३