सुर्खेत । कर्णालीका यातायात व्यवसायी तथा सरोकारवालाले पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएपछि सडक अनुगमन, डिजिटल प्रणालीको विस्तार र प्रभावकारी चेकजाँच गर्न सुरक्षालाई सुझाव दिएका छन्।
मध्यपश्चिम यातायात प्रालिका कर्मचारी पवन श्रेष्ठले समितिको रातो नम्बर प्लेट भएका सवारीको नियमित अनुगमन गर्नुपर्ने बताए। यसले अनधिकृत रूपमा सञ्चालन हुने सवारी नियन्त्रणमा आउनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने उनको भनाइ थियो। अनुमति नलिई सञ्चालन हुने सवारीसाधन, इन्सुरेन्स नभएका गाडी तथा गाडीको मेकानिकल कन्डिसनमा यातायात समिति तथा गाडी सञ्चालकले ध्यान दिनुपर्ने समेत कुरा उठयो ।
त्यसैगरी, बुलबुले यातायात समितिका सोनाम लामाले जिल्लाका सीमा नाकामा सवारीसाधनको चेकजाँच थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले प्रशासन, सुरक्षा निकाय र यातायात व्यवसायीबीच समन्वय बढाएर नियम कार्यान्वयनमा कडाइ गर्नुपर्ने धारणा राखे।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख मुकुन्दप्रसाद रिजालले सुरक्षित यातायातका लागि सवारी व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्ने बताए। उनका अनुसार सिसी क्यामराको प्रयोग, अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउने, साना–ठूला सबै सवारीसाधनमा समान रूपमा कानुन लागू गर्ने तथा सवारीसाधनको नियमित मर्मतसम्भारको अवस्थाको निगरानी गर्न आवश्यक छ।
रिजालले दुर्घटनापछि हुने मिलापत्र या कानुनी प्रक्रियालाई छिटोछरितो बनाउनुपर्ने र सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सके कर्णाली राजमार्गलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सुर्खेतमा रहेका एक दर्जन बढी यातायात व्यवसायीहरूको सल्लाह सुझाव सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले बताए।
व्यवसायी र ट्राफिक प्रशासनले दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी, कडा अनुगमन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।
प्रकाशित मिति: शनिबार, असार २७, २०८३ २१:१४