काठमाडौं । शनिबारदेखि भइरहेको ठुलो वर्षा सोमबारदेखि क्रमशः घट्दै जाने आकलन गरिएको छ । तर, देशभर नै साँझबिहान र राति मध्यमसम्मको वर्षाको सम्भावना भने कायमै छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार ठुलो वर्षा कम हुँदै जाने भएकाले रेडअलर्ट हटाइएको छ ।
विभागले शनिबार र आइतबारका लागि कोशी, बागमती, गण्डकी र लुम्बिनीका २३ जिल्लामा रेडअलर्ट ९जोखिम० जारी गरेको थियो । विभागले रेडअलर्ट हटाए पनि सोमबारका लागि कोशी, बागमती, गण्डकी प्रदेश तथा लुम्बिनीका पूर्वी भूभाग र सुदूरपश्चिममा कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडीमा सुन्तला रंगको संकेत दिएको छ । त्यहाँ ठुलो वर्षा हुन सक्ने र बाढीपहिरोको जोखिम भएकाले सतर्क रहनुपर्ने जनाउँछ । यसबाहेक बाँकी क्षेत्रमा भने पहेँलो रंगको संकेत दिइएको छ, यसको अर्थ अद्यावधिक हुनुपर्छ ।
सोमबार र मंगलबारको मौसम प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थानमा र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा ठुलो वर्षाको सम्भावना छ । मंगलबार पनि पहाडी भूभागका धेरै ठाउँमा पानी पर्ने देखिन्छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेशका थोरै स्थानमा मेघगर्जन,
चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा ठुलो वर्षाको आकलन छ ।
रोजन लामिछाने, मौसमविद्
रेडअलर्ट हटे पनि लगातार पानी परिरहेकाले बाढीपहिरोको जोखिम हुन्छ । माटो गलेको, नदीखोला भरिएकाले जोखिम हुने नै भयो । बिहान र साँझ पानी पर्ने देखिन्छ । अझ राति केही ठाउँमा ठुलो पानी पनि पर्ने आकलन छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३ ११:३०