काठमाडौं । प्रदेशको सत्ता समिरणमा हलचल आएपछि दलहरुबीच नयाँ समिकरण बारेमा बहस शुरु भएको छ ।
अहिलेसम्म समिकरणमा रहेका कांग्रेस र एमालेबिच केहि प्रदेशहरुका समस्या आएपछि नयाँ समीकरणको गृहकार्यमा दलहरु अघि बढेका छन् । कांग्रेस र एमाले दुवैले प्रदेशमा निर्णायक मानिएको अर्को दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग छलफल जारी राखेको स्रोतले जनाएको छ ।
खासगरी सत्ता समिकरण खलबलिएको कर्णाली प्रदेशबाट सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा मिलेर नयाँ समिकरणको प्रयास थालेका छन् । उनिहरुले एमालेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।
तर, अन्य प्रदेशको विषयमा भने नयाँ समीकरण बनिसकेको छैन । एमाले र नेकपाबिच प्रदेशमा सत्तासमीकरण गर्दै कार्यगत एकताको विषयमा छलफल अघि बढेको छ । एमाले अध्यक्ष केपी ओलीसँग नेकपाका नेताहरू वर्षमान पुन र प्रमेश हमालले गत शुक्रबार छलफल गरेका थिए । छलफलमा एमाले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल पनि उपस्थित थिए । बागमती र मधेशबाहेक अन्य प्रदेशमा एमाले र नेकपा मिल्दा नयाँ सरकार बनाउने संख्या पुग्छ ।
एमाले र नेकपा दुवै दलले कांग्रेस, एमाले र नेकपा सहकार्य गरेर जानुपर्ने बताएका छन् । तीन दल मिल्न नसक्ने स्थितिमा दुई दल मिलेर भए पनि प्रदेश सभालाई भंग हुनबाट बचाउनुपर्ने दुवै दलका नेता छन् । नेकपा नेताहरूसँगको छलफलमा ओलीले लोकतन्त्र र राष्ट्रियता संकटमा परेको भन्दै लोकतन्त्रका लागि लडेका दलहरू एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘अहिले लोकतन्त्र र राष्ट्रियता संकटमा छ । अझै संकट आउन सक्छ । त्यसकारण लोकतन्त्रका लागि लडेका शक्तिहरू एक हुनुपर्ने आवश्यकता छ । मिलेर अगाडि बढौँ,’ ओलीले भनेका थिए ।
एमालेसँग प्रारम्भिक कुराकानी भएको नेकपाका नेता हमालले बताए । ‘हाम्रो चाहना होइन, आवश्यकता भयो भने स्थिरताका लागि हामी निर्णयमा पुग्छौँ,’ हमालले भने, ‘देशको अवस्था राम्रो छैन । लोकतन्त्र, संविधान र राष्ट्रियता खतरामा छ । मिलेर जानुपर्ने स्थिति छ भन्ने विषयमा छलफल भयो ।’
हमालले कांग्रेस–एमाले सत्तासमीकरणमा देखिएको समस्याबारे दुवै दलसँग बुझेर आवश्यक निर्णयमा पुग्ने बताए । ‘हामी प्रदेश सरकारमा सहभागी हुने पक्षमा होइनौँ । कांग्रेस–एमाले सत्तासमीकरणमा हामी जोडिन चाहेका पनि होइनौँ । तर, कांग्रेस र एमालेबिच गठबन्धनमा समस्या आएपछि किन समस्या आयो भनेर हामीले बुझ्न खोजेका हौँ । एमालेसँग प्रारम्भिक छलफल भयो । कांग्रेससँग पनि छलफल हुन्छ । के कारणले कांग्रेस–एमालेबिच दरार आयो भन्ने कुरा बुझ्दै छौँ,’ हमालले थपे ।
प्रदेशमा अस्थिरता नआओस् भन्नेमा नेकपा छ । त्यसका साथसाथै बिचैमा प्रदेश सभा भंग नहोस् भन्नेमा पनि नेकपा सचेत देखिएको छ, उनले भने, ‘कांग्रेस र एमाले नै मिलेर प्रदेश सरकार चलाऊन् भन्ने हाम्रो भनाइ हो । दुई दलमा समस्या भयो भने हामीले निकास दिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा तीनवटै दल मिलेर जान पनि सकिन्छ । छलफल भइरहेको छ । छिट्टै निष्कर्ष आउँछ ।’
एमाले केन्द्रीय सदस्य निरु पालले छलफल जारी रहेको र छिट्टै एउटा निष्कर्र्षमा पुग्ने बताइन् । ‘विभिन्न चरणमा छलफलहरू भइरहेका छन् । नेकपाका संयोजक प्रचण्ड पनि स्वदेश फर्किनुभएको छ । शीर्ष तहमा भोलि छलफल हुन सक्छ । छिट्टै एउटा निष्कर्ष आउँछ,’ उनले भनिन् ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओली र नेकपाका सहसंयोजक माधवकुमार नेपालबिच आइतबार छलफलको तयारी भए पनि नेपाल बिरामी भएका कारण रोकिएको छ । बानेश्वरस्थित एकीकृत समाजवादीका एक नेताको घरमा छलफलको तयारी थियो । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आइतबार श्रीलंकाबाट स्वदेश फर्किएकाले अब ओली, प्रचण्ड र नेपालबिच छलफल गराउने तयारी दोस्रो तहका नेताहरूको रहेको एक नेताले बताए ।
नेकपाका एक शीर्ष नेताका अनुसार प्रचण्डले कांग्रेस र एमाले दुवै दलका शीर्ष नेताहरूसँग संवाद गरेर निष्कर्षमा पुग्ने तयारी गरेका छन् । प्रचण्ड फर्किएपछि नेकपाका नेताहरू निवासमै पुगेर छलफल गरेका छन् । एमालेसँग वार्तामा बसेका पुन र हमालले वार्ताको प्रगतिबारे प्रचण्डलाई ब्रिफिङ गरिसकेका छन् ।
नेकपाभित्र एमालेसँग प्रदेशमा सहकार्य गर्ने र कम्युनिस्टबिच कार्यगत एकता गर्दै जानुपर्ने मत बलियो छ । वरिष्ठ नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेतलगायतले कांग्रेससँग नभई एमालेसँग प्रदेश सकरारमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले कर्णाली प्रदेशमा भएको कांग्रेससँगको सहकार्य तोड्नुपर्नेसमेत बताएका छन् । स्रोतका अनुसार नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कर्णालीका मुख्यमन्त्री कँडेललाई टेलिफोन गरी राजीनामा नदिन सुझाएका थिए ।
खनालले विज्ञप्ति नै जारी गरेर दक्षिणपन्थी शक्तिसँगको अपवित्र साँठगाँठबाट टाढा रहन आग्रह गरेका छन् । मुलुकमा विदेशी हस्तक्षेप र आन्तरिक अव्यवस्था बढिरहेको उल्लेख गर्दै खनालले त्यसविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरूबिच व्यापक एकताको आवश्यकता औँल्याएका छन् ।
‘यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन् । यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्तव्यस्ताविरुद्ध यो देशका आमजनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको देख्न चाहन्छन् । यस्तो एकतालाई सम्पूर्ण वामपन्थीहरूको एकताबद्ध पहलबाट भएको हेर्न चाहन्छन्,’ खनालले भनेका छन् ।
एमाले र नेकपाले प्रदेशमा तीन दलीय सहकार्यको विषय अघि सार्दा कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार चलाउन नहुने बताएको छ । एमाले र नेकपा मिले प्रतिपक्षमा बस्ने कांग्रेसले बताएको छ । ‘हामी तीन दलीय गठबन्धनको पक्षमा छैनौँ । एमालेसँग समस्या भएकै कारण नयाँ समीकरण बन्ने स्थिति आएको हो । हाम्रो कारण गठबन्धन भत्किने अवस्था आएको होइन । एमालेका कारण यो स्थिति आएकाले फेरि एमालेसँगै गठबन्धनको कुरा हुँदैन । एमाले र नेकपा मिले हामी प्रतिपक्षमा बस्न तयार छौँ,’ कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले भने ।
प्रदेश प्रतिपक्षविहीन बनाउन हुँदैनः कांग्रेस सभापति थापा
कांग्रेस सभापति गगन थापाले प्रदेशहरूमा मुख्य तीन दल मिलेर सरकार बनाउन नसकिने स्पष्ट पारेका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा थापाले तीन पार्टी मिलेर सरकार बनाउने प्रस्ताव स्वीकार्य नभएको बताएका हुन् । ०७२ देखि ०८२ सम्म गठबन्धन गरेर गलत अभ्यास गरिएको भन्दै थापाले अब बदलिएको कांग्रेसले विगत दोहोरिन नदिने जिकिर गरे । ‘तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव आइरहेको छ । हामीले भन्यौँ, यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ । प्रदेशमा तीनवटा पार्टी मिलेर सरकार बनाउनु भनेको प्रदेश सभा प्रतिपक्षविहीन बनाउनु हो । हामी यसको पक्षमा छैनौँ,’ उनले भने । कांग्रेस सत्ताका लागि जस्तो पनि सम्झौता नगर्ने थापाले बताए ।
बागमती सरकारबाट बाहिरिँदै एमाले
केन्द्रमा कांग्रेस–एमालेबीचको सत्ता साझेदारी अन्त्य भएसँगै बागमती प्रदेश सरकारमा पनि राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ । एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई औपचारिक जानकारी गराइसकेको छ । सरकारमा रहेका एमाले मन्त्रीहरू सोमबारसम्म राजीनामा दिएर सरकारबाट बाहिरिने तयारीमा छन् ।
एमाले बागमती प्रदेश दलका नेता जगन्नाथ थपलियाले पार्टीको निर्णयअनुसार सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए । शनिबार मुख्यमन्त्री बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइएको उनको भनाइ छ । झण्डै दुई वर्षदेखि चलेको कांग्रेस–एमाले सहकार्य केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि अन्त्यतर्फ पुगेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्छ । एमाले सरकारबाट बाहिरिएपछि प्रदेशमा अब तीनवटा सम्भावित विकल्प देखिएका छन् । पहिलो, कांग्रेस र एमालेबीचको सहकार्यलाई निरन्तरता दिने, दोस्रो, एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने र तेस्रो, कांग्रेस र नेकपाबीच सहकार्य । यी सबै विकल्प खुला रहेको एमाले र कांग्रेस दुबै दलका नेताहरूको भनाइ छ ।
सुदूरपश्चिममा सरकार पुनर्गठनका लागि केन्द्रको निर्णय पर्खंदै नेताहरू
एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा छ । सत्तासाझेदार दुई दलबिच चर्किएको बजेट विवादका कारण मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । लगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो ।
एमालेका मन्त्री हटाएर तीनवटै मन्त्रालयको नेतृत्व आफू सँगै राखेका मुख्यमन्त्री शाहले अल्पमतको सरकार चलाइरहेका छन् । सरकार अल्पमतमा परेसँगै नयाँ सरकार कसको नेतृत्वमा बन्छ भन्ने चासो बढेको छ । नयाँ सरकार गठनका लागि नेकपा–एमाले तथा नेकपा–कांग्रेसका नेताहरूबिच प्रदेश तहमा छलफल भइरहेको छ । नेताहरू केन्द्रमा हुने निर्णयको पर्खाइमा छन् । केन्द्रमा प्रमुख दलबिच हुने सहमतिका आधारमा प्रदेशमा सरकार गठन हुने भएकाले प्रदेश तहमा छलफल भए पनि निर्णय हुन नसकेको हो । प्रदेश सभामा सबैभन्दा ठुलो नेकपा संसदीय दलले नयाँ समीकरणबारे छलफल गर्न दलका नेता खगराज भट्टको नेतृत्वमा समिति गठन गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३ १२:१९