विराटनगर । सुनसरीको घटना थप जटिल बन्दै गएको छ ।
देवानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
आइतबार राति भएको उक्त झडपमा परी प्रदर्शनकारी र प्रहरी गरी १६ जना घाइते भएका छन् । बोलबम यात्राका लागि डिजे बजाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि कप्तानगन्ज बजारमा तोडफोड र आगजनी भएको छ ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।
झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
२१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ ।
प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् ।
प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी छ । घटनाको थप विवरण आउन बाँकी छ ।
सुरक्षा अधिकारीलाई फिर्ता बोलाइयो
गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक ९डीएसपी० नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ २२:४७