सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा गत आइतबार दुई समूहबिचको झडपमा एक युवकको मृत्यु भएको घटनाले मधेशलाई पनि अशान्त पार्न थालेको छ ।
बिहीबार सिराहाको गोलबजार नगरपालिका– ४, क्याम्पस चोकमा कर्फ्युकै बिचमा भएको झडपमा प्रहरीको गोली लागेर औरही गाउँपालिका– २, तुलसीपुरका १७ वर्षीय गणेश यादवको मृत्यु भएपछि प्रदर्शन झन् हिंसात्मक बनेको छ । कप्तानगन्ज घटनाको बाछिटा मोरङको विराटनगर हुँदै सप्तरी, सिराहा, धनुषा र पर्सासम्म पुगेको छ ।
मृतक गणेश गोलबजारमा डेरा गरी १२ कक्षामा अध्ययन गर्थे । प्रदर्शनकारीले शव सडकमै राखेर प्रदर्शन गरेका थिए । तर, प्रहरीले साँझ शव सडकबाट हटाएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीय प्रशासनले दिउँसो २ बजेबाट कर्फ्यु जारी गरे पनि क्याम्पस चोकमा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो । गणेशको घाँटीमा गोली लागेको थियो ।
सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार गोलबजारमा भएको झडपमा एकजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जना सुरक्षाकर्मी रहेका छन् । उनका अनुसार दायाँ खुट्टामा गोली लागेका प्रहरी हवल्दार नारद परियारलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।
त्यस्तै, गोली लागेर घाइते भएका धनुषाधाम नगरपालिका– ७ का १८ वर्षीय सुवास ठाकुरलाई थप उपचारका लागि हेलिकोप्टरबाट धरान पठाइएको स्थानीय प्रहरीले जनाएको छ । गोलबजारका ५७ वर्षीय कलाम खान कुटपिटबाट घाइते भएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । किशोरको मृत्यु भएपछि गोलबजारको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले गोलबजारमा सिराहा सुपर मार्केटले सञ्चालन गर्दै आएको एबी मलसहित दर्जनौँ व्यक्तिका निजी घर, पसल, मोटरसाइकलमा आगजनी गरेका छन् ।
गोलबजारमा क्षेत्रका करिब एक दर्जन घर, पसलमा आगजनी भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी उपरीक्षक पाठकले बताए । ‘त्यसको आर्थिक क्षतिको आर्थिक मूल्यांकन स्थलगत मुचुल्का उठाएपछि मात्र यकिन हुन सक्छ,’ उनले भने । त्यस्तै, गोलबजारमा क्षेत्रमा २० वटा मोटरसाइकल, एउटा विद्युतीय टेम्पोमा पनि आगजनी भएको उनले बताए ।
सुनसरी घटनापछि सिराहाको लहान, धनगढीमाई, कसहा, गोलबजार, मिर्चैया र बन्दीपुर क्षेत्रमा हरेक दिन प्रदर्शन हुँदै आएको थियो । गोलबजारमा पनि घटना भएपछि सिराहा प्रशासनले बिहीबार साँझ ४ बजेबाट लहानमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । गोलबजारमा घटनाअघि दिउँसो २ बजेबाट लागेको कर्फ्यु कायमै छ ।
देवानगन्जका अर्का घाइतेको पनि मृत्यु
आइतबारको झडपमा सुनसरी देवानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । उक्त घटनामा २४ जना घाइते भएका थिए । तीमध्येका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरमा ज्यान गएको छ ।
मधेश सरकारले भन्यो– सामाजिक सद्भाव र भाइचारा कायम राखौँ
मधेश प्रदेश सरकारले संयमता अपनाउदै सहिष्णुता र आपसी सद्भावलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । मधेशमा पनि प्रदर्शन बढ्न थालेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले घटना अत्यन्त दुःखद र खेदजनक रहेको बताउँदै सबैले सामाजिक सद्भाव र भाइचारालाई कायम राख्न अनुरोध गरेका हुन् ।
‘घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम सजाय त हुन्छ नै । अहिलेको मुख्य दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु हो । त्यसका लागि सबै जुटौँ,’ नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने । घाइतेको उपचारका लागि प्रदेश सरकारले पहल र सहयोग गर्ने बताउँदै उनले मृतकका परिवारलाई राहतका निर्णय हुने बताए ।
त्यस्तै, उद्योग वाणिज्य संघ सिराहाले पनि संवेदनशील अवस्थामा संयमता अपनाई समाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचाराको वातावरण बनाउन आग्रह गरेको छ । संघका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ता र महासचिव रवीन्द्रकुमार श्रेष्ठले विज्ञप्तिमार्फत सुनसरी र सिराहा घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडित परिवारलाई शीघ्र न्याय दिलाउन आग्रह गरेका छन् ।
मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पछिल्ला घटनापछि प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी भाइचारा कायम राख्न सबैसँग हार्दिक अपिल गरेका छन् । अपिल जारी गर्दै कर्णले मधेश प्रदेश विभिन्न आस्था, संस्कृति र परम्पराको साझा थलो भएकाले क्षणिक तनाव वा गलत बुझाइका कारण वर्षौँदेखि कायम रहेको आपसी विश्वास र सहअस्तित्वमा आँच आउन नदिन आग्रह गरेका हुन् ।
धनुषा र वीरगन्जमा पनि निरन्तर प्रदर्शन
धनुषाको जनकपुरधाम र पर्साको वीरगन्जमा पनि बिहीबार विरोध प्रदर्शन गर्दै बजार बन्द गराएका छन् । प्रदर्शन बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेबाट जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
वीरगन्जमा भने निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार साँझ जुलुस प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ । तर, प्रदर्शनकारीले निषेधाज्ञाकै बिच नगर परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले संवेदनशील अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको बताए । धार्मिक वा सामाजिक द्वेष फैलाउने, भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, सेयर वा प्रचारप्रसार नगर्न पनि उनले अनुरोध गरे ।
जनकपुरधाम बजारमा दिनभर प्रदर्शन रह्यो । बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड भएको छ । रामानन्द चोकमा सडक अवरुद्ध गर्दै चक्काजाम गरिएको थियो । प्रदर्शनका क्रममा जनकपुरधाम– ८ मा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा जनकपुरधाम उपमहानगरपालिका–७ का १२ वर्षीय बालक आनन्द दास घाइते भएका छन् । गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । कर्फ्यु जारी गरिए पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले सेना पनि परिचालन गरेको छ ।
मृतकका परिवारलाई १० लाख राहत दिने देवानगन्ज गाउँपालिकाको निर्णय
सहिद घोषणाका लागि सरकारलाई सिफारिस देवानगन्ज गाउँपालिकाले गत आइतबार कप्तानगन्जमा भएको घटनामा ज्यान गुमाएका दुई युवाका परिवारलाई राहत दिने निर्णय गरेको छ । त्यस्तै, सहिद घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।
दुई समूहबिच भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहतालाई सहिद घोषणाको सिफारिस गर्दै परिवालाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताए । ओमप्रकाशको गत आइतबार नै र जयप्रकाशको उपचारका क्रममा बिहीबार विराटनगरमा ज्यान गएको हो ।
उनका अनुसार कार्यपालिका बैठकले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ, गोली लागेर पूर्ण अशक्त तथा अतिअशक्त अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र मध्यम तथा सामान्य अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले बुधबार घटनामा ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ तथा घर, पसल साथै अन्य आगजनीपीडित परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिइने निर्णय गरेको थियो ।
त्यस्तै, घटनापछि उत्पन्न परिस्थितिबारे स्थानीय जनगुनासोलाई सम्बोधन गर्न वडा नम्बर ३ का ज्येष्ठ वडासदस्य रामबहादुर महतोलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३ १०:१८