कालीकोट । पलाता गाउँपालिका–३ सल्लीमा खाना पकाउन पेट्रोल हालेर दाउरा बाल्ने क्रममा शरीरमा आगो लाग्दा दुई जना जलेर घाइते भएका छन् ।
शुक्रबार बेलुकी ९ बजेतिर चुलोमा दाउरा सल्काउन पेट्रोल हाल्ने क्रममा शरीरमा आगलागी हुँदा पलाता–३ सल्लीकी ४५ वर्षीया जिमीसरा रोकाया जलेर सख्त घाइते भएकी छन् भने आगो निभाउने क्रममा उनका श्रीमान् धर्म रोकाया पनि घाइते छन् ।
जिमीसराको अनुहार मुख, हात खुट्टा, छाती जलेको छ भने धर्मका दुवै हात पोलिएको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । राति खाना पकाउन आगो बाल्ने क्रममा पेट्रोल सल्किएर आगलागी भएको उनले बताए । ‘श्रीमतीको शरीरमा आगो लागेपछि निभाउन खोज्दा श्रीमान्का पनि दुवै हात जलेका छन्,’ डीएसपी खत्रीले भने ।
उनका अनुसार घटनास्थलबाट राति पलाता–४ स्थित कहरदेव प्रहरी चौकीबाट वरिष्ठ प्रहरी हवलदार गगन रावतको नेतृत्वमा गएको प्रहरी टोलीसहितका स्थानीयले घाइतेलाई कहरदेव आधारभूत स्वास्थ्य उपचार केन्द्रले ल्याएका थिए । जिमीसराको अवस्था गम्भीर भएकाले कहरदेव आधारभूत स्वास्थ्य उपचार केन्द्रले निःशुल्क हेलिकोप्टर उद्धारका लागि जिल्ला प्रशासन कालीकोटलाई शनिबार बिहान पत्राचार गरिएको थियो ।
जिल्ला प्रशासनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको सहायक प्रजिअ जनक शर्माले बताए । जिल्लाबाट सिफारिससहित अनुरोध पठाइसकेको र सुर्खेतसम्म हेलिकोप्टरमा लैजाने कुरा भएको उनले बताए ।
घाइते धर्मका भाई कर्णबहादुरले बोकेर कर्णाली राजमार्गसम्म पुर्याउन पनि पैदल एक दिन पैदल लाग्ने भएकाले हेलिकोप्टर भए सहज हुने बताए । घाइतेको आर्थिक अवस्थाले नभ्याउने हुँदा निःशुल्क हेलिकोप्टर र उपचारका लागि गाउँपालिकाले पनि प्रदेश सर संघ सरकारलाई अनुरोध गरेको बताए ।
घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २३ कोष पश्चिम उत्तर बाजुरा र मुगुको सीमाना नजिक पर्छ । त्यहाँबाट हिँडेर सदरमुकाम मान्म पुग्न एक दिन थिर्पू झरेपछि कर्णाली करिडोर हुँदै ६ घण्टा लाग्छ ।
सेनाको हेलिकप्टरबाट उद्धार
खाना पकाउने क्रममा पेट्रोल प्रयोग गरी आगो बाल्दा गम्भीर घाइते भएका पलाता गाउँपालिका–३ का दम्पतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार सुर्खेत ल्याइएको छ।
शरीरका विभिन्न भागमा गम्भीर रूपमा जलेकी ४५ वर्षीया जिमीसरा रोकायाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । आगो निभाउने क्रममा उनका श्रीमान् धर्म रोकाया सामान्य घाइते भएको अस्पतालले ल्याइएको छ ।
खाना पकाउने क्रममा पेट्रोल प्रयोग गरेर आगो बाल्ने प्रयास गर्दा अचानक आगो सल्किएपछि जिमीसराको शरीरका विभिन्न भाग जलेको छ। उनलाई बचाउने प्रयासमा आगो निभाउन गएका श्रीमान् धर्मको दुवै हात पोलिएको छ । दुवै जनालाई सेनाको हेलिकप्टरले उद्धार गरी शनिबार दिउँसो प्रदेश अस्पताल ल्याइएको हो।
प्रदेश अस्पतालका अनुसार जिमीसराको अवस्था गम्भीर छ। कर्णालीका दुर्गम जिल्लामा सडक पहुँच र विशेषज्ञ स्वास्थ्य सेवा अभावका कारण गम्भीर बिरामी तथा दुर्घटनामा घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ ०६:२३