काठमाडौं । एमालेले रास्वपा नेता वालेन्द्र शाह नेतृत्वको सरकारको विकल्प खोज्न माग गरेको छ।
बुधबार एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकार चौतर्फी रुपमा असफल भएकाले विकल्प खोज्न रास्वपा सभापति रवि लामिछानेसँग आग्रह गरेका हुन्।
बादलले मुलुकको निकाशका लागि तीन वटा विकल्पन रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गरे। तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारैदिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी थापाले दिए।
सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको दाबी उनले गरे।
‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीति नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको अविलम्ब पुनर्गठन गर्न पहल गर्नुपर्दछ। अन्तिम विकल्प बाँकी छ, उनले अगाडि भने, ‘अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्र्थापना गर्न छिट्टै चारैदिशाबाट २००७, २०४७, २०६५ सालको भन्दा विशाल, अल्कपनीय जनसुनामी आउनेछ । किनभने इतिहासले भन्छ संकटको गर्भबाट खसमाधान जन्मिन्छ । प्रश्नको मर्मबाट उत्तर जन्मिन्छ ।’
दलका नेता थापाले साह नेतृत्वको सरकारका कारण छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको बताए।
सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा समेत विचलन देखिएको थापाको भनाइ छ। सरकारले तिब्बतीयन आध्यात्मिक संगठन (टीओबी) तथा पश्चिमी कुटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सवका नाममा राजनीतिक गतिविधि गर्न अनुमति दिएको दाबी गरे।
थापाले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको दाबीसमेत भइरहेको उल्लेख गर्दै गत भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको हुनसक्ने आशंका व्यक्त गरे।
२४ भदौदेखिको ध्वंसात्मक गतिविधि वस्तुगत रुपमा हालसम्म पनि जारी रहेको, सत्तारुढ दल रास्वपाको आन्तरिक शक्ति संघर्षले मुलुक बहुआयामिक चुनौतीको सामाना गर्ने खतरातर्फ धकेलिने उनको भनाइ छ।
‘बालेन्द्र सरकारको छोटो शासन कालमा नै राष्ट्रियता, लोकतन्त्र र जनजिविकामाथि गम्भीर संकट र प्रश्न खडा भएका छन्, थापाले अगाडि भने, ‘भाद्रको विध्वंसमा टिओबीहरुले ताण्डव नृत्य प्रदर्शन गरेका थिए । उक्त घटनाप्रति चीन सरकारको गम्भीर चासो र चेतावनी भएको थियो । कतिपय सोधकर्ताहरुले तिब्बती गुम्बाहरुमा ठूलो मात्रामा शक्ति संग्रह भइरहेको दाबी गरिरहेका छन् । कतिपयले त गत भाद्रमा लुटिएका हतियार त्यहाँ लुकाइएको समेत टिप्पणी गरिरहेका छन्।’
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३ १८:१४