काठमाडौं । बाढीमा परी मृत्यु भएका ६७५ जनाको शव विभिन्न स्थानमा भेटिइसक्दा सरकारी तथा निजी अस्पतालका शवगृह भरिन थालेका छन् । अन्य कारणले मृत्यु भएकाहरूको समेत पोस्टमार्टम गर्नुपर्ने भएकाले शवगृहमा शव थुपारेर राख्न नसकिने अस्पतालहरूले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका सरकारी अस्पतालमा ६ सय शव राख्न सकिन्छ । १५० शव अट्ने त्रिवि शिक्षण अस्पतालमा मात्रै सयवटा शव ल्याइसकिएको छ । ती शव नुवाकोट, धादिङ, रसुवा र गोरखालगायत जिल्लाबाट ल्याइएका हुन् । सहप्रवक्ता अधिकारीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ वटा शव राखिएका छन्। नवलपुरस्थित मध्यविन्दु अस्पताल तथा अन्य निजी अस्पतालमा गरी ३० भन्दा बढी शव छन् भने चितवनस्थित मेडिकल कलेजमा २५० भन्दा बढी शव राखिएका छन् ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार हाल रसुवा, काठमाडौं, नुवाकोट, धादिङ, चितवन, गोरखा, पोखरा, नवलपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लामा करिब चार सय शवगृह छन् । तीमध्ये अधिकांश शवगृह भरिएका छन् । चितवनमा पाँच सय शव राख्न मिल्ने गरी अस्थायी शवगृह निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।
उनका अनुसार चितवनको पुरानो मेडिकल कलेज, त्रिवि शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा सयभन्दा बढी शव राख्न मिल्ने शवगृह छन् । अन्य अस्पतालका शवगृहमा १०–१५ वटा मात्रै शव राख्न मिल्छ । बाढीमा परी उपचारका लागि अस्पताल पुर्याइएकामध्ये पाँचजनाको अस्पतालमै मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा एक–एकजना तथा त्रिशूली अस्पतालमा दुईजना र रसुवा अस्पतालमा एकजनाको मृत्यु भएको हो । अस्पतालहरूका अनुसार उनीहरू गम्भीर अवस्थामा उपचारका लागि ल्याइएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ ०८:१२