काठमाडौं । भोटेकोसी बाढीबाट तीन जिल्लाका झण्डै ३३ हजार मानिस प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, शुक्रबार साँझसम्म बाढीमा परेर एक हजार ३८६ जनाको मृत्यु भएको छ। जसमध्ये १०४ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ।
त्यस्तै, बाढीपछि पाँच हजार १३० जना सम्पर्कविहीन छन्। उनीहरूको खोज तथा उद्धार जारी रहेको छ।
प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार, भोटेकोसी बाढीबाट तीन जिल्लाका आठ हजार ३१७ परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका ३२ हजार ९३६ जना प्रभावित भएको प्राधिकरणले जनाएको छ। बाढीबाट सात हजार ५७० निजी भवनमा क्षति पुगेको छ।
सबैभन्दा बढी चार स्थानीय तह प्रभावित भएका छन्। जसमध्ये नुवाकोटको विदुर नगरपालिकाका तीन हजार ४५१, रसुवाको गोसाइँकुण्डका एक हजार १५६, धादिङको बेनीघाट रोराङका एक हजार १४९ र नुवाकोटको किस्याङका ७२१ परिवार रहेका छन्।
बाढीबाट १३ जलविद्युत् आयोजना, ६८ झोलुंगे पुल, ३७ मोटरेबल पुल, ६९ किलोमिटर सडक र ४४३ किलोमिटर खानेपानीको पाइपलाइनमा क्षति पुगेको प्राधिकरणको तथ्यांक छ।
यसैगरी, चार हजार आठ सय व्यवसायीक प्रतिष्ठान, १७ बैंक शाखा, एक हजार ८०६ हेक्टरमा लगाएको बाली र ६९७ हेक्टर सिञ्चित कृषि नोक्सान भएको छ।
यससँगै ४८ वटा सार्वजनिक भवन, ३० वटा सम्पदा स्थल, १९ वटा विद्यालय र सात वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा ९७.२२ प्रतिशत जीविकोपार्जनमा प्रभाव परेको प्रारम्भिक आकलन रहेको छ।
भोटेकोसी बाढीले सबै क्षेत्रमा गरेर चार खर्ब आठ अर्ब बराबरको क्षति पुगेको छ। अहिले प्रभावित क्षेत्रमा तत्कालका लागि आठ अर्ब ७३ करोड रुपैयाँ लाग्ने आकलन छ। दीर्घकालीन रुपमा पुनर्स्थापनाका लागि सात खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको आकलन प्रारम्भिक छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३ २३:१८